बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किवीले हराभरा हैबुङ : बाँदरले मकै खाने बारीमा किसानको यस्तो सफलता (भिडियो)

शुक्रबार, १४ कात्तिक २०७७, ०८ : ४७
शुक्रबार, १४ कात्तिक २०७७

७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पथ्र्यो । तर अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामुहिक रुपमा थालिएको कृषिकर्मबाट सफलता पाउन थालेका छन् ।

काठमाडौँबाट झन्डै ३० किलोमिटर उत्तर पश्चिम मेलम्ची नगरपालिका वडा ३ मा रहेको हैबुङका स्थानीय मिलेर सामुहिक रुपमा झन्डै २ सय ५० रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गरिएको छ । समुन्द्र सतहबाट १२ सय मिटर माथि शिवपुरी राष्ट्रिय निकुञ्जमूनी चिसो हावापानी रहेको हैबुङमा ४ हजार बोटमा यतिबेला लटरम्म किवी फलेको छ ।

२०७० सालदेखि साझेदारी रुपमा हैवुङ सिन्धु हिमालय एग्रिकल्चर अग्रानिक भिलेज प्रा.ली.स्थापना गरेर व्यवसायीक खेती थालिएको थियो । सुरुमा स्थानीय कृषकहरु मिलेर शेयरको रुपमा पैसा सङ्कलन गर्ने, एकीकृत रुपमा जग्गा व्यवस्थापन गर्ने काम गरिएको थियो । हालसम्म २ करोड लगानी भएको सो फार्मले उत्पादन राम्रो भएसँगै गत वर्षदेखि मुनाफा दिन थालेको छ । सुरुमा बिरुवा, जिआई पाइफ, सिमेन्टेड पिल्लर, फलामका तार जाली लगायतका सामग्री चाहिने भएकोले धेरै लगानी लाग्ने भएपनि हावापानी, माटो राम्रो भयो भने छिट्टै मुनाफा लिन सकिने हैवुङ सिन्धु हिमालय एग्रिकल्चर अग्रानिक भिलेज प्रा.ली.सचिव कुमार बञ्जराले रातोपाटीलाई जानकारी दिए ।

कलमी गरिएका बिरुवा लगाएर थालिएको किवी खेतीले दोश्रो वर्षदेखि नै उत्पादन दिन थालेको थियो । अहिले सो फार्ममा मुन्टे, रेड किवी लगायत ४ प्रजातीको किवी लगाइएको छ । सिन्धुपाल्चोककै भोटेचौरमा किवी खेती सुरु भएपछि उस्तै हावापानी र माटो भएको हैबुङमा पनि किन खेती गर्न नसकिएला भनेर किवी खेतीको सुरुवात गरिएको संस्थाका सचिव कुमार बञ्जाराले बताए ।

उनले भने–‘हामीले सुरु गर्नुभन्दा १ बर्षअगाडी भोटेचौरमा सुरु भयो । एउदै मौसम भएकोले त्यसपछि यहाँ पनि होला भनेर हामीले पनि सुरुवात गरेका थियौं । किवीका लागि यहाँको जमिन पनि एकदमै राम्रो छ ।’ खेतीका लागि प्रयोग भएको सम्पूर्ण जग्गा भाडामा लिइएको छ भने जग्गाधनी पनि शेयर होल्डरका रुपमा रहेका छन् ।

फलसँगै बिरुवा पनि बिक्री

किवी खेतीका लागि गोठको प्राङ्गारिक मल मात्र प्रयोग गरिने र अन्य रासायनीक मल तथा विषादी नहालिने भएका कारण यहाँ अग्रानिक किवी उत्पादन हुने गरेको छ । गएको बर्ष २५ हजार किलो किवी बिक्री गर्न सफल भएको यो फार्ममा यो वर्ष बिरुवा पनि विक्रिका लागि तयार पारिएको छ । यो वर्ष किवी टिप्ने बेला भइसकेको छ । अघिल्लो वर्ष जतिकै हाराहारी यो वर्षपनि किवी  फलेको हुनसक्ने सचिव बञ्जराले बताए ।

किवीको बजार व्यवस्थापनमा हालसम्म समस्या परेको छैन । सामुहिक खेतीमा आवद्धमध्ये केहीले बगानबाट टिपेर पठाउने र केहीले काठमाडौंमा बसेर बजार व्यवस्थापन गर्ने गरेका छन् । अहिलेसम्म किवी बिक्री नभएर फाल्नुपर्ने अवस्था नआएको बञ्जराले बताए । यसवर्ष ३० हजार बिरुवा बजारमा पठाउनका लागि तयार पारिएको छ ।

सरकारी अनुदान पाउन समस्या

गत असोजमा कृषिमन्त्री घनश्याम भुसाल समेत सो फार्म अवलोकन गर्न पुगेका थिए । उनले फार्म अवलोकन गर्दै यसप्रकारका व्यावसायिक कृषिकार्यलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर मन्त्रीले भनेजस्तो सरकारी तबरबाट कृषि अनुदान पाउन भने कठिन रहेको फार्मका सचिव बञ्जारा बताउँछन् ।

उनले भने–‘सरकारी अनुदान केही पनि पाइएको छैन । पाउन पनि समस्या छ । सुरुमा ८० हजार रुपैयाँ बराबरको सिंचाईका लागि पाइप पाइएको थियो । नगरपालिकाबाट सानो सहयोग भएपनि कृषिसम्बन्धी निकायबाट त्यस्तो अनुदान पाइएको छैन ।’

अनुदान लिने प्रक्रिया झन्झटिलो रहेको र भनेको जति अनुदान पाउन पनि निकै गाह्रो रहेको उनले बताए । यद्यपि, किसानको सामूहिक योजना, लगानी र प्रयासले सफलतातिर उन्मुख रहेको सो किवी फार्ममा अझै १ हजार बिरुवा थप गर्ने योजना लिइएको छ ।

किवी खेती गर्न एक–दुई जना मिलेर मात्र गाह्रो हुने तर सामुहिक रुपमा खेती गर्ने हो भने सफल हुन सकिने सचिव बञ्जराले बताए । हैवुङ सिन्धु हिमालय एग्रिकल्चर अग्रानिक भिलेजले यो वर्ष फलेको अग्रानिक किवी बजारमा लाने तयारी थालेको छ । सामुहिक रुपमा खेती गर्दा सफलता पाउन सकिने उदाहरण बन्न सफल भएको छ सिन्धुपाल्चोकस्थित हैबुङको यो किवी फार्म ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप