शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांघातिक आक्रमणका दुई आरोपित प्रहरीद्वारा सार्वजनिक

शुक्रबार, १४ कात्तिक २०७७, १५ : ५६
शुक्रबार, १४ कात्तिक २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ वर्षीय कुमार विकलाई आक्रमण गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ का २२ वर्षीय पवन चौधरी र वडा नम्वर १० पड्डा बस्ने २४ वर्षीय अमृत चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

उनीहरुले गत सोमबार राति पौने दश बजे विकमाथि आक्रमण गरेका थिए । धारिलो हतियारले आक्रमण गर्दा विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग काटिनुको साथै दुबै हातको हत्केला र ढाडमा गहिरो चोट लागेको प्रहरीले बताएको छ ।

तुलसीपुर–१० टरिगाउँस्थित आफ्नो भान्जाको विवाह भोज खाएर घरतर्फ फर्कदै गर्दा विकमाथि उनीहरुले गोलौरामा एक्कासी आक्रमण गरेका थिए ।

डिएसपी सिंहका अनुसार भान्जाको विवाह भोजमा सामान्य भनाभन गरेर फर्किने क्रममा गोलौरामा दुई पक्षबीच विवाद भइरहेको ठाउँमा विक पुगेपछि आरोपित दुवैजनाले उनलाई ‘झगडा गरेर आएको होस् ?’ भनेर सोध्दा विकले ‘हो’ भन्ने जवाफ दिएपछि उनीमाथि आक्रमण भएको आरोपितहरुको भनाइ छ ।

विक र आरोपितहरुबीच कुनै त्यसअघि झैगडा नभएको अवस्थामा उनी आउनुभन्दा अगाडि गोलौरामा भएको विवादलाई लिएर उनीहरुले गलत बुझाइका कारण आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ ।

घटनामा प्रयोग गरेको धारिलो हतियार खुर्पा, कपडा पनि प्रहरीले फेला पारेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको डिएसपी सिंहले बताए ।

घाइते विकलाई उपचारका लागि भारतको लखनउ लगिएको र उनको अवस्था सुधारोन्मुख रहेको डिएसपी सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप