बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजा मिदासको कथा : वरदान बन्यो श्राप !

शनिबार, १५ कात्तिक २०७७, ११ : २६
शनिबार, १५ कात्तिक २०७७

ग्रीस भन्ने देशमा एकजना राजा थिए । उनको नाम थियो– मिदास । उनी अत्यन्तै लोभी थिए ।

एक दिनको कुरा हो, उनले कुनै राम्रो काम गरेबापत देवता खुसी भए । उनको दरबारमा ग्रीस देवता डाइनसिस प्रकट भए । उनले राजा मिदासलाई  मन लागेको वर माग्न भने ।

मिदास लोभी थिए । उनको मनमा लोभ पलायो । देउताले नै आएर वरदान दिने भनेपछि के लरतरो वर माग्ने ? उनले यसो सोचे र भने, भगवान्, मलाई यस्तो वरदान दिनुहोस्, मैले जे चिज छोए पनि त्यो सुन बनिहालोस् !

डायनिसस देउताले उनको लोभ थाहा पाइहाले । उनी मुसक्क हाँसे र भने, तिम्रो इच्छा पूरा होस् । अबदेखि तिमीले जे चिज छोए पनि त्यो तुरुन्तै सुन बनिहाल्छ ।’

देवताबाट वरदान पाएपछि राजा मिदास फुरुङ्ग बने । वरले काम गर्छ कि गर्दैन भनी उनले नजिकैको ढुङ्गाको मूर्ति छोए । त्यो मूर्ति तुरुन्तै सुनको मूर्तिमा बदलियो ।

अब राजा मिदासले जताततै छुन थाले । उनी जेजे छुन्थे, त्यो सुनमा परिणत भइहाल्थ्यो ।

खुसीले पागल बनेका राजा मिदासले आफू वरिपरिका सबै चिज छुँदै सुनको बनाउन थाले ।

यसबीचमा उनलाई भोक लाग्यो । उनले खानेकुरा मगाए । तर उनले त्यो खानेकुरा खान भने सकेनन् । उनले जसै खानेकुरा छोए, त्यो सुनको बनिहाल्थ्यो । भोकले रन्थनिएका उनी रुन थाले ।

राजा मिदासका छोरी थिइन् । बाबु रोएको देखेर उनले मिदासलाई अँगालो हालिन् । दुःखको कुरा, ती राजकुमारी पनि सुनको मूर्तिमा परिणत भइन् । केहीबेर अघिसम्म राजा मिदासको नजिक पर्न चाहने सबै डराउन थाले । उनीहरु राजा मिदासलाई छोइएला कि परपर भाग्न थाले ।

अब राजा मिदासलाई पछुतो भयो । उनी नितान्त एक्लो भए । आफूले अत्यधिक लोभ गर्दाको नतिजा उनले देखे । उनी भोक र छोरी मूर्तिमा परिणत भएको पीडाले चिच्याइचिच्याई रुन थाले । उनले भने– यो वरदान होइन, श्राप हो ।

जे छोए पनि सुन हुने ! यसो हेर्दा त यो गज्जबको वरदान थियो । तर त्यही वरदान राजा मिदासको लागि श्राप बन्यो । उनले केही खानेकुरा पनि खान सकेनन् । उनलाई सबैले छोडे । आखिर उनी एक्लै भए ।

भनिन्छ, राजा मिदास खानेकुरा खान नपाएपछि आखिरमा भोकले मरे ।

Title Photo: https://i.pinimg.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप