बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२५ सयको बिलमा विवाद : ११ देखि १७ वर्षका किशोरहरूले लिए ६३ वर्षीय होटल सञ्चालकको ज्यान

मङ्गलबार, १८ कात्तिक २०७७, ११ : ३३
मङ्गलबार, १८ कात्तिक २०७७

११ देखि १७ वर्षका किशोरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् । जिल्ला रोल्पा रुन्टीगढी–२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको २५ सयको बिलको बिषयमा विवाद हुँदा किशोरहरूले होटल सञ्चालकको हत्या गरि फरार भएका थिए ।

हत्या भएको १२ घण्टापछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट परिचालित प्रहरी टोलीले  हत्या अभियोगमा चार जना किशोरलाई पक्राउ गरेको छ ।  पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै  १२ घण्टापछि स्थानीयहरूको सहयोगमा ती किशोरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

प्रहरी निरीक्षक खड्काले भने, ‘कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए , मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि ढुङ्गामुडा गर्दै कुटपिट गरेर उनीहरु फरार भएको र अनुसन्धान गर्दै जाँदा घरगोठमा फेला पारेका छौँ ।’

थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए । पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसुर अनुसार मुद्दा दर्ता  गरेको छ । पछिल्लो समय रोल्पामा अपराधीक गतिविधिमा बालबालिकाहरूको संलग्नता बढ्दै गईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप