शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किसान क्रेडिट कार्ड किसानले कहिले पाउँछन् ?

यस्तो छ तयारी
मङ्गलबार, १८ कात्तिक २०७७, १४ : ४९
मङ्गलबार, १८ कात्तिक २०७७

किसान क्रेडिट कार्ड कोरोनाको कारण किसानको हातमा पुग्न केही ढिला हुने भएको छ । दसैँअघि नै जारी गर्नेगरी काम थालिएको बताउने कृषि विकास बैङ्कले कोरोनाले समयमै काम नसकिदा किसानको हातमा पुग्न ढिला भएको जनाएको छ । बैङ्कले किसान कार्डको प्रयोगमा लैजान कार्यविधि बनाएर सञ्चालक समिति (बोर्ड) समक्ष पेश गरिसकेको छ ।

बैङ्कका सिइओ अनिलकुमार उपाध्याय तिहारअघि नै सो कार्यविधि बोर्डबाट पास गराएर नेपाल राष्ट्र बैङ्कमा पठाउने तयारी रहेको बताउँछन् । क्रेडिट कार्डमा रकमको सिमा राष्ट्र बैङ्कले तोक्नेछ र उसकै निर्देशन बमोजिम कृषि विकास बैङ्कले प्रयोगमा लैजानेछ । कार्डको प्राविधिक काम र परिक्षण सबै सकिएको सिइओ उपाध्यायले बताए । शुरुमा कार्ड किसानको परिक्षणका लागि ३÷४ सय पिस मात्र छाप्ने र उनीहरुको राम्रो प्रतिक्रिया र माग आएको खण्डमा छपाइको सँख्या बढाउँदैजाने पक्षमा बैङ्क छ ।

कार्ड प्राविधिक प्रयोग भएकाले यसको सुरक्षामा पनि निकै ध्यान दिइएको सिइओ उपाध्यायको भनाइ छ ।  उनी भन्छन्, ‘कोरोनाले हाम्रा कर्मचारी पनि प्रभावित बने जसका कारण कामलाई तिब्रता दिन सकिएन । अब चाडबाड सकिएपछि किसानको हातमा कार्ड पुग्ने गरी तयारी गरेका छौँ ।’

किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा आउनेछ । किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । एटीएम र भिसा कार्डमा जस्तो चिप्समा चल्दैन । बैङ्कले नगद भुक्तानी प्रदायकहरु (मर्चेन्ट) गाउँ गाउँमा खडा गर्छ र सोहीमार्फत किसानले कृषिका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमा हुनेछ ।

बैङ्कका अनुसार कार्डको सबै काम सकिएको र कार्यविधि मात्र पास हुन बाँकी रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष (२०७७/७८) को मौद्रिक नीतिमा किसान क्रेडिट कार्डको विषय उठान गरेको थियो । बिशेष गरी किसानले पाउने ऋण र अनुदानसँग सम्बन्धित यस कार्डको विषय बजेटमा भएपछि बजेट कार्यान्वयन गराउँन मौद्रिक नीतिमार्फत सम्बोधन भएको हो ।

यस्तो हुनेछ कार्डको प्रयोग र फाइदा

कृषि सामाग्री, मल खाद्य, मेसिनरी बिक्री गर्ने सप्लायर्स कृषि बिकास बैङ्कको मर्चेन्ट (एजेन्ट) हुन्छ । उनीहरुले कार्डमा क्युआर कोड राखिएको हुन्छ सो क्युआर कोड स्क्यान गरेर भुक्तानी लिनसक्छन् । यो मोबाइल सिस्टमबाट कार्डको क्युआर कोडमार्फत भुक्तानी हुनेछ । कार्डको पहुँच हुने मोवाइल एप्लिकेसन विकास कृषि विकास बैङ्कले गर्छ । सो एपमार्फत स्क्यान गरेर भुक्तानी हुन्छ ।

सो कार्ड लिनका लागि कृषि विकास बैङ्कमा खाता खोलेको हुनुपर्नेछ । किसानले सो खातामा राखेको रकम अनुसार त्यसको निश्चित सीमासम्म बैङ्कले ऋण प्रदान गर्नेछ । यदि राज्यले किसानलाई विभिन्न शीर्षकका सहुलियत दियो भने सो कार्डमा हालिदिन्छ ।

कृषि गर्नका लागि चाहिने पैसा लिन किसान चेक बोकेर बैङ्कको शाखासम्म धाउनु पर्ने अवस्था छ । किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैङ्कसम्म धाउनु पर्दैन । आफुले लिएको कार्ड मार्फत निकाल्न सक्नेछन् ।

कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता हो ।

निजी बैङ्कको पनि किसान लक्षित कार्ड

सिभिल बैङ्कले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्ड संचलनमा ल्याइसकेको छ । बैङ्कले दसैँअघि नै यो कार्ड सञ्चालनमा ल्याएको हो । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो कार्डबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको अवस्थामा बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध गराइने बैङ्कले जनाएको छ ।

यस्तै दसैँअघि नै मेगा बैङ्कले पनि ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप