बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पिसिआर परीक्षणमा सुस्ताए सरकारी प्रयोगशाला

निजी प्रयोगशालामा परीक्षण गराउनेहरुको संख्या बढ्दो
बुधबार, १९ कात्तिक २०७७, ०७ : ३१
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । पछिल्लो समय निजी प्रयोगशालामा पिसिआर परीक्षण गराउनेको संख्या बढ्न थालेको छ । कोरोना संक्रमणको आशंकामा पिसिआर परीक्षण गराउनेहरुले सरकारी प्रयोगशालामाको तुलनामा निजी प्रयोगशालालाई प्राथमिकता दिन थालेका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र देशका विभिन्न भागमा रहेका सरकारी प्रयोगशालामा पिसिआर परीक्षण दर घटेको जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. रुना झाले बताइन् ।   टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण दर स्वाट्टै घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पनि देखाउँछ ।

कार्तिक १२ देखि १७ गतेसम्मको तथ्याङ्क विश्लेषण गर्दा विगतको तुलनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण अत्यन्त न्यून देखिन्छ । सो प्रयोगशालामा १२ गते बुधबार ६ जनाको, बिहीबार १३१, शुक्रबार १८४ र शनिबार २५३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै, आइतबार ५५०, सोमबार १७८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

केही साता अघिसम्म राष्ट्रिय प्रयोगशालामा देशभरबाट परीक्षणका लागि स्वाबको नमूना आउने गर्दथ्यो भने परीक्षणका लागि पालो कुर्नुपर्ने अवस्था थियो । त्यतिबेला दैनिक करिब २ हजार जति पिसिआर परीक्षण गरेको डा. झाले बताइन् ।

विगतमा सरकारी प्रयोगशालाहरुले समयमै स्थानीय तहहरुलाई पिसिआर परीक्षणको नतिजा उपलब्ध गराउन नसक्दा हाल निजी प्रयोगशालामा पिसिआर परीक्षणको चाप बढेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

उनका अनुसार स्थानीय तहहरुले स्वाब संकलन गरेर पठाएको १०÷१२ दिनसम्म रिपोर्ट नपाएर क्वारेन्टिनमा बसेका मानिसहरु घर फर्किसकेपछि मात्र पोजेटिभ भएको जानकारी पाउँथे । १०÷१२ दिनको अवधिमा पोजेटिभ रिपोर्ट आएका मानिसबाट कतिलाई संक्रमण स¥यो, कति गम्भीर बिरामी भए भन्नेसमेत थाहा हुन नसक्ने अवस्था सिर्जना भएको थियो ।

‘कोरोना संंक्रमितको संख्या आज ह्वात्तै बढेको देखाउँछन्, भोलि स्वात्तै घटेको रिपोर्ट सार्वजनिक हुन्छ,’ उनले भने, ‘सामान्यतया त्यस्तो हुुँदैन, अस्वाभाविक किसिमको रिपोर्ट आउनुमा पनि सरकारी प्रयोगशालाको कहीँ न कहीँ कमजोरी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस परीक्षणसम्बधी प्रोटोकल परिवर्तन गरेर अशक्त, असहाय, विपन्न, एकल महिला, अति अपाङ्गता भएको नागरिक र ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई लक्षण देखिएमा निःशुल्क परीक्षण गर्ने नीति बनाएको छ । असोज २६ गतेदेखि सरकारले यस्तो नीति अघि सारेपछि पनि सरकारी प्रयोगशालामा स्वाब परीक्षण दर बढ्न सकेको छैन ।

कोरोनाभाइरस परीक्षणसम्बधी प्रोटोकल परिवर्तन गरेपछि प्रोटोकलमा आधारित भएर निःशुल्क रुपमा परीक्षण गर्न पठाइएको स्वाब रिपोर्ट ढिला आउने र शुल्क तिरेर पठाइएका स्वाबको नतिजा छिटो आउने गरेकाले पनि निजी प्रयोगशालामा स्वाब परीक्षण गराउनेको संख्या बढ्दै गएको हुनसक्ने डा. मरासिनी बताउँछन् ।

स्थानीय तहहरुले नै निजी प्रयोगशालाहरुमा परीक्षणका लागि स्वाब पठाउन थालेपछि सबै सरकारी प्रयोगशालामा परीक्षण दर कम हुँदै गएको हो ।

कोरोनाभाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेका बेला कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहहरुले पाएका छन् । त्यसैले सरकारी प्रयोगशालाको तुलनामा निजी प्रयोगशालाबाट छिटो रिपोर्ट आउने आशमा निजी प्रयोगशालामा पिसिआर परीक्षण गराउन थालिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।

जनस्वास्थ्य प्रयोगशाला लगायत अन्य सरकारी प्रयोगशालामा पूर्ववत् जनशक्ति र पिसिआर मेसिन तथा प्रविधि भएकाले समयमै परीक्षणको रिपोर्ट बुझाउन सकिने डा. झाको भनाइ छ । कोरोनाभाइरस परीक्षणसम्बन्धी प्रोटोकल अनुसार र त्यस बाहेककालाई शुल्क लिएर प्रयोगशालाले समयमै नतिजा दिन सक्ने उनले बताइन् ।

टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क पिसिआर परीक्षण गराउनेको भिड लाग्ने गरेको छ । टेकु अस्पतालमा १३ गते बिहीबार २२५ जनाको पिसिआर परीक्षण भएको थियो । यस्तै शुक्रबार २४६, आइतबार २२५ र सोमबार १५८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वाब परीक्षणका लागि प्रदेश नम्बर १ मा ७ वटा प्रयोगशाला छन् भने प्रदेश नम्बर २ मा ६ प्रयोगशाला छन् । यस्तै, बाग्मती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ८, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ वटा प्रयोगशालाबाट पिसीआर परीक्षण हुँदै आएको छ । नेपाल भर ६६ प्रयोगशालामा स्वाब परीक्षण हुँदै आएकोमा तीमध्ये सरकारी प्रयोगशाला ४२ वटा छन् भने २४ वटा निजी प्रयोगशाला छन् । सरकारी प्रयोगशालाको तुलनामा निजी प्रयोगशालाको संख्या कम भए पनि पिसिआर परीक्षणमा निजी अस्पतालतर्फ नै मानिसहरुको आकर्षण बढेको देखिन्छ ।

सरकारले ४२ वटा प्रयोगशालाका जनशक्ति, पिसिआर मेसिन पूर्ण रुपमा परिचालन गरेर सस्तो र सुलभ दरमा छिटो नतिजा उपलब्ध गराउन सकेमा सरकारी प्रयोगशालाप्रति आकर्षण बढ्न सक्ने जनस्वास्थ्यविद् डा. मरासिनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप