बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतारोहीको उद्दार र उपचारको जिम्मा विदेशी कम्पनीलाई दिइँदै !

‘फेक रेस्क्यु’को साइड इफेक्ट २ वर्षपछि देखियो
बुधबार, १९ कात्तिक २०७७, ११ : ०२
बुधबार, १९ कात्तिक २०७७

काठमाडौँ । नेपाल आउने विदेशी पर्यटकको बीमा, उद्दार र उपचारको जिम्मा एउटै विदेशी कम्पनीलाई दिनेगरी नेपाल पर्यटन बोर्डले प्रक्रिया थालेको छ । दुई वर्ष अघि ‘फेक रेस्क्यु’सम्बन्धी घटना बाहिरिएसँगै नेपालको पर्यटन क्षेत्रमाथि लागेको दाग मेट्न भन्दै बोर्डले नेपाल आउने सबै पर्यटकको बीमा, उद्दार, उपचार र हेरचाहसम्बन्धी एकीकृत व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको हो । ‘ग्लोबल रेस्क्यु’ नामक अमेरिकी कम्पनीलाई त्यसको जिम्मा दिनेगरी बोर्डले छलफल समेत थालेको छ ।

शनिबार बोर्डले पर्वतारोहण, पदयात्रा र साहसिक पर्यटनसँग सम्बन्धित पर्यटन व्यवसायी संस्थालाई ग्लोबल रेस्क्युलाई यस्तो जिम्मेवारी दिने सम्बन्धमा छलफल गर्न भर्चुअल बैठकको आयोजना गरेको थियो । त्यसका लागि शुक्रबार त्यस्तो व्यवस्थापनका लागि सो कम्पनीले बोर्डसँग गरेको ११ वटा प्रस्ताव पठाउँदै बैठकमा यसबारे आफ्ना धारणा र सुझाव राख्न भनिएको थियो ।

सो कम्पनीले गरेको प्रस्तावमा नेपाल आउने विदेशी पर्यटक सोही कम्पनी मार्फत् कम्तीमा ३० दिन ट्राभल इन्स्योरेन्स अनिवार्य गर्नुपर्ने, उनीहरुको उद्दार, उपचार लगायतका सबै जिम्मा आफूले लिने, सेवाप्रदायक कम्पनीले दिएको सेवाबारे आफूले निगरानी गर्न पाउनुपर्ने लगायत प्रस्ताव गरेको थियो ।

नेपालमा आएका विदेशी पर्यटकमाथि हुँदै आएको ‘फेक रेस्क्यु’को सम्बन्धमा दुई वर्षअघि सनसनीपूर्ण खुलासा भएको थियो । हिमाल चढ्न नेपाल आउने विदेशी पर्यटकलाई पर्वतारोहणकै क्रममा कृतिम रुपमा बिरामी बनाइदिने र अनावश्यक डर देखाएर उद्दार, उपचार लगायतको नाममा बीमा कम्पनीबाट चर्को शुल्क दाबी गर्ने गरिएको खुलासासँगै त्यतिबेला पर्यटन क्षेत्रमा नयाँ तरङ्ग निम्तियो ।

तर, बोर्डले एक्कासी यस्तो प्रस्ताव ल्याएपछि पर्यटन व्यवसायी सशंकित भए ।  नेपालको पर्यटन क्षेत्रलाई एउटै व्यक्तिको नाममा सुम्पने प्रपञ्च रचिएको उनीहरुको आशंका थियो । पर्यटन व्यवसायीबीच आन्तरिक छलफल नगरी यसबारे धारणा राख्न नसक्ने भन्दै बोर्डले बोलाएको छलफलमा धेरैजसो संस्थामा प्रतिनिधिहरु सहभागी नै भएनन् ।

ग्लोबल रेस्क्युले पठाएको सो प्रस्ताव बोर्डले मन्त्रालयमा समेत पठाएको छ । तर, व्यवसायी संस्थासँग आवश्यक छलफलबिनै प्रस्ताव मन्त्रालय पठाएको भन्दै व्यवसायीहरु बोर्डदेखि थप असन्तुष्ट बनेका छन् ।

त्यसो त सो प्रस्तावको अन्तरवस्तुप्रति व्यवसायीहरु सन्तुष्ट छैनन् । खुला बजार अर्थतन्त्र र बजार प्रतिस्पर्धाको वातावरणलाई अन्त्य गर्नेगरी व्यक्तिगत लाभका लागि बोर्ड नेतृत्वले विदेशी संस्थासँग साँठगाँठ गरेको आरोप समेत लगाएका छन् । यो निर्णय व्यक्तिगत लाभ लिने दूरासयबाट प्रेरित भएको र यसले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा असर पार्ने उनीहरुको भनाइ छ । 

‘हाम्रो माग भनेको बजार प्रतिस्पर्धात्मक हिसाबले चल्नुपर्छ । नेपालको नियम कानूनलाई आत्मसात गर्नुपर्छ भन्ने हो । तर, यहाँ फेक रेस्क्युको नाममा एउटा कम्पनीलाई नेपालको पर्यटन क्षेत्र सुम्पिने प्रपञ्च रचिएको छ, हामीसँग छलफल नै नगरी मन्त्रालयमा प्रस्ताव पठाउने काम गरियो,’ पर्यटन क्षेत्रसम्बद्ध व्यवसायिक संस्थाका एक अध्यक्षले भने, ‘बोर्डको नियत हामीलाई भुलाउँदै गर्ने, प्रक्रिया पनि अघि बढाउँदै गर्ने जस्तो देखियो । सिन्डिकेट लाद्ने र नेपालको नियमकानून नमान्ने निर्णय हामीलाई मान्य हुँदैन ।’

ग्लोबल रेस्क्युले गरेको प्रस्तावमा रहेको ३० दिने बीमाको प्रावधानप्रति असन्तुष्ट जनाउँदै उनले भने, ‘नेपालमा धेरैजसो पर्यटक १०÷१५ दिनको लागि आउँछन्, तर १० दिन घुम्ने पर्यटकसँग पनि १ महिनाको बीमाशुल्क लिने भनिएको छ । यसले पर्यटकमा अनावश्यक व्ययभार थोपर्छ । नेपालभित्रको बीमालाई नियमन गर्ने जिम्मेवारी बीमा समितिको हो । तर यसमा समितिसँग समन्वय समेत गरिएको छैन । यस्ता समस्या त कति छन् कति !’

तर, समितिले सिफारिस गरेका कुनै पनि कम्पनीलाई कारबाही भएन । फेक रेस्क्युमा संलग्न व्यवसायी प्रधानमन्त्रीसँग निकट सम्बन्ध भएका व्यक्ति भएको पाइएपछि मन्त्रालय उनीहरुलाई कारबाही गर्ने अडानबाट पछि अटेको आरोप पर्यटन व्यवसायीले त्यतिबेला लगाएका थिए । सोही घटनाको प्रभाव अहिलेसम्म पनि परिरहेकै छ ।

फेक रेस्क्युको ‘साइड इफेक्ट’ देखियो

नेपालमा आएका विदेशी पर्यटकमाथि हुँदै आएको ‘फेक रेस्क्यु’को सम्बन्धमा दुई वर्षअघि सनसनीपूर्ण खुलासा भएको थियो । हिमाल चढ्न नेपाल आउने विदेशी पर्यटकलाई पर्वतारोहणकै क्रममा कृतिम रुपमा बिरामी बनाइदिने र अनावश्यक डर देखाएर उद्दार, उपचार लगायतको नाममा बीमा कम्पनीबाट चर्को शुल्क दाबी गर्ने गरिएको खुलासासँगै त्यतिबेला पर्यटन क्षेत्रमा नयाँ तरङ्ग निम्तियो ।

यो खुलासापछि धेरैजसो विदेशी बीमा कम्पनीले नेपालको पर्वतारोहणका लागि आउने पर्यटकको बीमा गर्न छाडेका छन् । कतिपय बीमा कम्पनीले नेपाललाई कालोसूचीमै राखेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुको समेत राम्रो कभरेजमा परेको यो घटनाले नेपाली पर्यटन क्षेत्रको छवि झनै धमिल्यायो । २ वर्ष अघिको यो घटनाले नेपालको पर्यटन क्षेत्रमा लागेको कालो दाग अझै मेटिएको छैन ।

फर्जी उद्दारको यो घटना सार्वजनिक भएपछि पर्यटन मन्त्रालयले त्यसबारे छानविन गर्न कार्यदल गठन समेत गरेको थियो । उक्त कार्यदलले विभिन्न ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनी, अस्पताल कारोबार गर्ने कम्पनी समेतको मिलेमतोमा हुँदै आएको भन्दै १७ वटा कम्पनीलाई कारबाहीको सिफारिस गरेको थियो । जसमा ६ वटा अस्पताल, ८ वटा ट्रेकिङ एजेन्सी र ३ वटा हेलिकोप्टर कम्पनी थिए ।

तर, समितिले सिफारिस गरेका कुनै पनि कम्पनीलाई कारबाही भएन । फेक रेस्क्युमा संलग्न व्यवसायी प्रधानमन्त्रीसँग निकट सम्बन्ध भएका व्यक्ति भएको पाइएपछि मन्त्रालय उनीहरुलाई कारबाही गर्ने अडानबाट पछि अटेको आरोप पर्यटन व्यवसायीले त्यतिबेला लगाएका थिए । सोही घटनाको प्रभाव अहिलेसम्म पनि परिरहेकै छ ।

रेग्मीले अहिले बोर्डले ग्लोबल रेस्क्युले पठाएको प्रस्तावबारे छलफल मात्रै थालेको भन्दै त्यसबारे परामर्श गरेर मात्रै अघि बढ्ने समेत बताए । ‘हामीले अन्तर्राष्ट्रिय कम्पनीसँग प्रस्ताव माग्दा उसले मात्रै पठायो । त्यो कम्पनीले गरेको प्रस्तावमा कसले कस्तो धारणा राख्छन्, सुझाव दिन्छन् भनेर छलफल थालेका हौँ । नत्र सीधै मन्त्रालयमा प्रस्ताव गरेर पठाउन पनि सकिन्थ्यो । सबैसँग छलफल अघि बढ्नखोज्दा झन् मेरै बदनाम गर्न खोजियो ।’

सो घटना र यसको प्रभावलाई आधार बनाएर अहिले पर्यटन बोर्डले नेपालमा आउने सबै पर्वतारोही र पदयात्रीहरुको एकीकृत व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरेको हो । यसका लागि ‘ग्लोबल रेस्क्यु’ नामक अमेरिकी कम्पनीले प्रस्ताव पठाएपछि त्यसबारे छलफल अघि बढाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताए । 

‘फेक रेस्क्युको घटनाले हाम्रो देशको छवि धमिलिएको छ । नेपाली कम्पनीहरु सबै ठग नै हुन् कि भन्ने सबैलाई परेको छ । यस्तो अवस्थामा हामी एउटा सोलुसन खोज्नैपर्ने अवस्थामा थियौं’ सीईओ रेग्मीले भने, ‘हामीमाथि लागेको दाग मेट्न र नेपालमा घुम्दा सुरक्षित छु भन्ने वातावरण बनाउन पनि हामीलाई एउटा विश्वासिलो अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्नुथियो, जसले इन्स्योरेन्स पनि गरोस्, केयर पनि गरोस् र आवश्यक पर्दा रेस्क्यु पनि गरोस् । त्यही अनुसार प्रक्रिया अघि बढाइएको हो ।’

रेग्मीले अहिले बोर्डले ग्लोबल रेस्क्युले पठाएको प्रस्तावबारे छलफल मात्रै थालेको भन्दै त्यसबारे परामर्श गरेर मात्रै अघि बढ्ने समेत बताए । ‘हामीले अन्तर्राष्ट्रिय कम्पनीसँग प्रस्ताव माग्दा उसले मात्रै पठायो । त्यो कम्पनीले गरेको प्रस्तावमा कसले कस्तो धारणा राख्छन्, सुझाव दिन्छन् भनेर छलफल थालेका हौँ । नत्र सीधै मन्त्रालयमा प्रस्ताव गरेर पठाउन पनि सकिन्थ्यो । सबैसँग छलफल अघि बढ्नखोज्दा झन् मेरै बदनाम गर्न खोजियो ।’

सीईओ रेग्मीले अहिले मन्त्रालयलाई समेत यो सम्बन्धमा जानकारी मात्रै गराएको भन्दै यो प्रस्तावको रुपमा नपठाएको दाबी गरे ।

राम्रो छैन ‘ग्लोबल रेस्क्यु’को ट्रयाक रेकर्ड ?

ग्लोबल रेस्क्यु विश्वभर कार्यक्षेत्र भएको अमेरिकी कम्पनी हो । यसले नेपालमा समेत विगत लामो समयदेखि सेवा दिँदै आएको छ । तर, नेपालमा भने यो कम्पनीको ट्रयाक रेकर्ड राम्रो छैन । सो कम्पनीसँग सहकार्य गरेर नेपाल आएका पर्यटकको बीमा कभरेज, उद्दार र उपचारमा संवेदनशील नभएको आरोप समेत लाग्दै आएको छ । यस्ता दर्जनौँ उदाहरण समेत छन् ।

२०७६ बैशाखमा एकजना मलेसियन नागरिकको उद्दारका लागि ग्लोबल रेस्क्युले देखाएको उदासिनताकै कारण उनको ज्यान गएको थियो । ती व्यक्ति हराएसँगै उनकी पत्नीले खोजीका लागि गुहार्दा सो कम्पनीले ती व्यक्ति बाँच्नसक्ने सम्भावना नै नभएको भन्दै उद्दार गर्न माजेको थिएन । पछि अर्को हेलिकोप्टर कम्पनीको सहयोगमा ती व्यक्तिको जीवितै उद्दार गरिएको थियो । तर, लामो समय लेक लागेको र उद्दारमा ढिलाइ भएकै कारण उनको मृत्यु भएको थियो । 

त्यसो त, ग्लोबल रेस्क्युले हिमाली क्षेत्रबाट उद्दार गरेर ल्याइएका व्यक्तिहरुको बिल बमोजिमको बीमा रकमको दाबी भुक्तानी नदिएका आरोपहरु पनि लाग्ने गरेका छन् । ३ वर्षअघि सगरमाथाको ८ हजार ७ सय मिटर उचाइबाट उद्दार गरिएका पाकिस्तानी नागरिकको ४३ हजार डलरको उद्दार र उपचार खर्च सो कम्पनीले व्यहोरेको थिएन ।

त्यस्तै, सगरमाथाको क्याम्प २ बाट रेस्क्यु गरिएका एकजना अमेरिकी नागरिकको १० हजार डलर बराबरको मागदाबी सो कम्पनीले भुक्तानी नगरेको समेत व्यवसायीहरुले आरोप लगाएका छन् । सो कम्पनीले भुक्तानी नदिँदा विभिन्न ट्रेकिङ र हेलिकोप्टर कम्पनीको करोडौँ रकम डुबेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप