शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५८ पर्वतारोहीले पाए हिमाल आरोहणको स्वीकृति, ३३ लाख रोयल्टी सङ्कलन

बिहीबार, २० कात्तिक २०७७, १८ : ३३
बिहीबार, २० कात्तिक २०७७

काठमाडौँ । लामो बन्दान्दीपछि खुला भएको पर्वतारोहणका लागि ५८ हिमाल आरोहीले आरोहणको स्वीकृति पाएका छन् । गत सेप्टेम्बर ४ देखि नेभेम्बर ४ सम्म २७ नेपालीसहित कुल ५८ विदेशी पर्यटकले हिमाल आरोहणको स्वीकृति पाएको पर्यटन विभागले जनाएको छ । 

माउन्ट वरुण, मनास्लु, ग्याल्जेन, हिमलुङ, आमादब्लम गरी ५ वटा हिमाल आरोहणका लागि विभिन्न ८ वटा समूहमा आएका नेपालीसहित कुल ५८ पर्वतारेहीलाई स्वीकृति दिइएको विभागले जनाएको छ ।
त्यसबाट विभागले गएको तीन महिनामा २७ हजार ८ सय ५० अमेरिकी डलर अर्थात् ३३ लाख ७ हजार ४ सय ८२ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । 

सेप्टेम्बर ४ मा माउन्ट वरुण (७,१२९ मि.) का लागि ६ जनाको एउटा नेपाली टिमले विभागबाट स्वीकृति लिएको थियो भने त्यसपछि सेप्टेम्बर २२ मा एक्कैचोटि मनास्लुका लागि २ टिमका १८ जनाले स्वीकृति लिएको विभागले जनाएको छ ।

त्यसपछि अक्टोबर १२ मा तीन जनाको नेपाली टिमले ग्याल्जेन (६,१५१ मि) का लागि विभागबाट स्वीकृति लिएको थियो ।
यसैगरी अक्टोबर २९, २०२० मा ६ जनाको एउटा टिमले माउन्ट आमादब्लम (६,८१४ मि) का लागि, नोभेम्बर १ मा अर्को ५ र ६ जनाको दुईवटा टिमले हिमलुङ (७,१२६ मि.) का लागि र नोभेम्बर ४ मा हिमलुङकै लागि २४ जनाको एउटा जम्बो टिमले स्वीकृति लिएको विभागले जनाएको छ । 

करिब ९ महिना लामो बन्दाबन्दीपछि पहिलो पटक विदेशी पर्यटकहरूका लागि समेत पदयात्रा तथा पर्वतारोहण खुला गरिएपछि हिमाल आरोहणमा विदेशीको आकर्षण बढेको पर्यटन विभागका महानिर्देशक रुद्र तामाङले रातोपाटीसँग बताए ।

यसको अतिरिक्त पदयात्रा तथा पर्वतारोहणमा स्वदेशी पर्यटकको सङ्ख्या समेत पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको महानिर्देशक तामाङको भनाइ छ ।
सरकारले गत कात्तिक १ गतेदेखि पदयात्रा तथा पर्वतारोहणका लागि विदेशी नागरिकलाई समेत खुला गर्ने निर्णय गर्दै अनअराइभल भिसा उपलब्ध गराउँदै आएको छ ।

पदयात्रामा ९० विदेशीलाई स्वीकृति
सरकारले गत कात्तिक १ गतेदेखि नै पदयात्रा तथा पर्वतारोहणका लागि स्वीकृति दिने निर्णय गरेसँगै नेपाल आउन चाहने विदेशीहरूको माग आउन थालेको ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदी बताउँछन् । 

हालसम्म टानमा आएका अनअराइभल भिसा स्वीकृतिको सयौँ मागबाट ९० वटा माग स्वीकृतिका लागि पर्यटन बोर्डमा पठाइसकिएको अध्यक्ष सुवेदीले रातोपाटीसँग बताए । जुन विदेशी पर्यटकहरूको तथ्याङ्क मात्र हो । 
यसको अलबा स्वदेशी पदयात्रीहरूको तथ्याङ्क टानसँग नभएको सुवेदीले बताए । 

‘पदयात्रा तथा पर्वतारोहणका लागि विदेशी आगन्तुकहरूका लागि कात्तिक १ गतेदेखि मात्र खुला भए पनि स्वदेशी पर्यटक योभन्दा अघिदेखि नै पदयात्रामा निक्लिसकेका थिए । जुन अहिले पनि ठूलो सङ्ख्यामा नेपाली पदयात्रामा छन् । तर यसको यकिन डाटा हामीसँग छैन ।’

अध्यक्ष सुवेदीले भने, ‘ट्रेकिङ एजेन्सिस् तथा एजेन्टहरू मार्फत आआफ्नै तरिकाले जाने हुँदा टानलाई जानकारी छैन । यद्यपि ट्रेकिङ कम्पनी, एजेन्सिस् तथा एजेन्टमार्फत डाटा कलेक्सन भएर आएपछि मात्र टानमा उपलब्ध हुन्छ,’ सुवेदीले भने ।

यता पछिल्लो समय पदयात्रा तथा पर्वतारोहणका लागि विदेशीहरूको आकर्षण बढ्दो रहे पनि सरकारको अनावश्यक र झन्झटिलो प्रावधानले गर्दा सोचेअनुरूप पर्यटकको सङ्ख्या बढ्न नसकेको सुवेदीको आरोप छ ।
छोटो र सीमित समयका लागि नेपाल घुम्न आउने पर्यटकका लागि ७ दिन लामो क्वारिन्टिनको समयावधि अव्यावहारिक र पट्यार लाग्दो भएको र अनअराइभल भिसा प्रोसेस झन्झटिलो भएको सुवेदीको भनाइ छ । यसले गर्दा नेपाल आउन चाहने पर्यटकसमेत रोकिन पुगेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप