ad
x
सहाना प्रधानको जीवनी-१८

सहाना प्रधानको स्वदेश भ्रमण र केही कम्युनिष्टकर्मीहरू

person explore access_timeकात्तिक २२, २०७७ chat_bubble_outline0

सहाना प्रधानको रुचिको विषय भ्रमण पनि थियो । त्यसैले देशका विविध गाउँठाउँको भ्रमण गर्न पनि उनलाई जुरेको थियो । उनी केवल भ्रमण मात्र गर्दिन थिइन्; गएका ठाउँहरूबाट केही सिकेर पनि आउथिन् । भ्रमणको क्रममा उनले नेपालका तत्कालीन चौधै अञ्चलको भ्रमण गरेकी थिइन् । घरबाहिर जाँदा उनी सकेसम्म होटलमा बस्न मन गर्दिन थिइन् । जिल्लातिर जाँदा उनी प्रायः साथी, आफन्त र दलका कार्यकर्ताका घरमा बस्न मन गर्थिन् । उनी जहाँजहाँ जान्थिन् त्यहीँत्यहीँ उनी आत्मीयता दिन्थन् र आत्मीयता पनि लिन्थिन् । यसै परिवेशको उदाहरणका लागि भन्ने हो भने रुपन्देहीका मदनलाल पौड्याल र दुर्गा पौड्यालको घर पनि सहानाले आत्मीय घर जस्तै मानेकी थिइन् ।


मदनलाल पौड्यालका बुबा यज्ञलाल पौडेल पनि म्यान्मा नै जन्मी, हुर्की, बढेका रहेछन् । अनि उनको सहानाका बुबासँग पनि गाडा सम्बन्ध रहेछ । यज्ञलाल पौड्यालसँग म्यान्माका थप कुरा सुन्न सहाना लालायित हुने गर्थिन् । त्यसैले उनी त्यतातिर जहिले गए पनि त्यही घरमा नै वास बस्ने गर्थिन् । वास्तवमा साहनाका लागि पोड्याल निवास प्रिय हुने अर्को कारण पनि थियो । त्यो केहो भने— मदनलाल पौड्याल नेपाल कम्युनिष्ट पार्टीका समर्पित, निष्ठावान र वफादार कार्यकर्ता थिए । उनी सधैँ त्यसै पार्टीमा अटल रहे । त्यतिमात्र होइन उनी पुष्पलालका धेरै नजिकका बुद्धिजिवी थिए । साथै उनी आफ्ना गुरुझैँ निर्लोभी पनि थिए । नेपालमा कम्युनिष्टहरूले घरिघरि शासन गर्दा पनि उनले कहिले मुख मिठ्याएनन् । भनौँ फल प्राप्तिका लागि उनी केन्द्रीय नेताहरूसँग धाएनन् । उनी भन्थे— ‘सिद्धान्त भनेको पद, पैसा र शक्ति होइन ।’



काठमाडौँबाहिर सहानाको विश्वासपात्र घर नै रुपन्देहीस्थित तिलोत्तमाको मदुगृह अर्थात् मदनलाल, दुर्गा पौड्यालको घर थियो । सहाना पार्टीको काममा पश्चिम जाँदा प्रायः पौड्यालकै घरमा नै बस्थिन् । साथै कुनै समय उनी सिद्धार्थनगर रुपन्देहीका देवीप्रसाद पाण्डे अनि बुटवलका एकराज पाण्डे र भूपालकुमार श्रेष्ठका घरमा पनि बसेकी थिइन् । मनमोहन अधिकारी र सहाना प्रधान प्रमुख रहेको नेपाल कम्युनिष्ट पार्टीको एकीकरणबारेको छलफल पनि मदुगृहमा नै भएको थियो । मानौँ पौड्याल दम्पती सहानाको मनले खाएका कम्युनिष्ट कार्यकर्ता थिए ।



सहाना पाल्पा जाँदा विनयकुमार कसजु तथा गङ्गादेवी कसजुकै घरमा बस्थिन् । गङ्गादेवीका घरमा पुग्दा उनी र गङ्गादेवी प्रायः एउटै ओछ्यानमा सुत्थे । गङ्गादेवी भन्नु सहानाकी मन परेकी, भरपर्दी र आडिलो बहिनी साथी थिइन् । त्यसैले बाँचुन्जेल सहानाले पेट खोल्ने साथी गङ्गा नै भइन् । साथै गङ्गादेवीले पनि सहानालाई धुमधामै आदर, श्रद्धा र स्नेह गर्थिन् । सहानाकै सल्लाहले सहानाकै घर छेउमा घर किनेर उनी बसेकी थिइन् । त्यसपछि यी दुबैको भान्सा झन्नै एउटै जस्तो थियो । सहना गङ्गादेवीका घरमा जाँदा सहानाले पकाउने र गङ्गादेवी सहानाका घर जाँदा पनि त्यही रीत जारी हुने गथ्र्योे । वास्तवमा सहाना र गङ्गादेवीको आत्मीयता अवणर्नीय थियो ।



सहाना जुन घरमा ढल्किन्थिन् त्यस घरमा उनी शिक्षादीक्षा पनि दिने गर्थिन् । यदि उनी पुगेका घरमा बालबच्चा र किशोर रहेछन् भने उनी कथा र संस्मरण सुनाएर तिनीहरूलाई मक्ख पार्थिन् । भ्रमणका क्रममा उनी जहाँजहाँ बस्थिन् त्यस घरमा छाप छोडेर आएकी हुन्थिन् । त्यतिमात्र होइन उनी बसेका घरकाले उनलाई आफ्नो अविभावक नै पनि ठान्थे ।





 




 



विराटनगर जाँदा सहाना आफ्ना दिदी भिनाजु साधना अधिकारी र मनमोहन अधिकारीका घरमा डेरा जमाउने गर्थिन् । त्यहाँ पुगेपछि उनी फिक्रीबिहीन भएर केही दिन ढलिमली गर्थिन् । आफ्ना भिनाजुसँग जति नै धेरै गुनासो भए तापनि दिदीप्रति उनको खुबै स्नेह, भक्तिभाव र झुकाव थियो । यदि दिदी भिनाजु नभएको बेलामा विराटनगर पुगिन् भने उनी सरासर भरतमोहन अधिकारीका घरमा जान्थिन् ।

सहाना नेपालगञ्ज र बर्दिया जाँदा बर्दियाको मधुवनमा पुग्थिन् । उनी धेरैजसो त्यहीँ बस्थिन् । त्यस ठाउँमा पुष्पलालका दायाँ हात मानिने गोविन्द ज्ञवालीको घर थियो । पछिल्ला दिनहरूमा ज्ञवाली सहानाका सल्लाहकार पनि थिए । उनी सल्लाहकार पनि कस्ता थिए भने कार्यकारीजस्तै थिए । खासगरेर सहाना मन्त्री हुँदा पनि ज्ञवाली नै उनका हर्ताकर्ता थिए । ज्ञवालीलाई उनी देशभक्त, इमान्दार र निष्ठावादी कम्युनिष्ट मान्थिन् । वास्तवमा ज्ञवाली पुष्पलाल र सहानाका फेरोमा अटाउने बुद्धिजीवी भनेर अहरूहरूले पनि भन्थे । त्यतिमात्र होइन उनी निर्लोभी पनि थिए । उनी कम्युनिष्टहरुले चाकरी, चाप्लुसी र स्वार्थका लागि राजनीति गर्नु हुँदैन भन्थे । त्यसैले उनी कहिले सत्ताको कार्यकारी इकाईमा पुग्न सकेनन् । यति हुँदाहुँदै पनि उनी २०४८ सालमा  निर्वाचित माननीय साँसद चाहिँ भए । उनी ज्यादै ठूलो राष्ट्रवादी भएकै कारण उनको पनि मोदनाथ प्रश्रितको जस्तो नै हालत हुन थाल्यो । भनौँ उनलाई पनि चारैतिरबाट छिर्के लगाएर सक्रिए राजनीतिबाट धपाउने काम भयो । त्यसैले उनी फेरि कहिले उठ्न नसक्ने भएर थेचारिए । यो बेहोरा सहानाका लागि पनि असह्य थियो । वास्तवमा ज्ञवालीले जीवनभरि निष्ठाकै राजनीति मात्र गरिरहे । नारायणमान बिजुक्छेँ रोहितले पनि गोविन्द ज्ञवालीलाई सत्यनिष्ठ कम्युनिष्ट माने । साथै गोविन्द भट्टले पनि ज्ञवालीलाई अति इमानदार कम्युनिष्ट नेता भन्थे । 

सहानाकी वर्मेली साथी कलादेवी कार्कीको डेरा वीरगञ्ज थियो । उनीहरू दुवैको एकअर्काका घरमा आउनेजाने चलन थियो । त्यसैले सहाना वीरगञ्जतिर जाँदा कलादेवीकै डेराबाट उनको राजनीति शिविर चल्ने गथ्र्यो । उनी धीत मरुञ्जेल त्यही डेरामा बस्ने गर्थिन् । सहाना आफ्ना डेरामा पुग्दा उनकी प्रिय शखी कमला पनि फुरुङ्ग पर्थिन् । वास्तवमा उनीहरू म्यान्मादेखि नै एकअर्कामा आआफ्नो आन्द्रा जोडिएको ठान्थे ।  

सहाना नेपालभित्र कताकता वास बस्नुपर्छ भन्नेबारे गोविन्द ज्ञवालीसँग पनि परामर्श लिने गर्थिन् । उनी काठमाडौँबाहिर जति नेता र कार्यकताका घर पुगिन् तिनीहरू स्वच्छ छवीका राजनीतिज्ञ मात्र थिए । ज्ञवालीका अनुसार सहाना पुर्वाञ्चल जाँदा सप्तरीको कञ्चनपुरका निष्ठावादी कम्युनिष्टहरू भगेश्वर साह तेली र हीरालाल चौधरीका घर नाघेर कहिले काठमाडौँ फर्केको इतिहासै हुँदैनथ्यो । त्यतातिर पुग्दा उनी तिनीहरूका घरमा नै वास बस्ने गर्थिन् । कुरा के हो भने कुनै बेला वनारसमा ती दुबै जना पुष्पलालका परम सहयोगी थिए । सहयोगीमात्र होइन उनीहरू पुष्पलालीय कम्युनिष्ट नेता पनि थिए ।

सहानाले मुलुकका जति भूभागको भ्रमण गरे तापनि उनी मनले खाएको मान्छे भेटिनन् भने अतिथिगृह र होटलमा नै बस्थिन् । तर उनी पुगेको ठाउँमा निष्ठावादी कम्युनिष्टको घरको तथ्याङ्क पाइन् भने उनी हान्निएर त्यतै पुग्थिन् । उदाहरणका लागि भन्ने हो भने उदयपुरमा पुग्दा उनी भीम सेडाइँका घरमा बस्ने गर्थिन् । सेडाई पनि पुष्पलालका अति प्रिय पात्र मानिन्थे । त्यसै गरी स्याङ्जामा पुग्दा सहानाले एकराज पाण्डेका घरमा बस्नु पथ्र्यो भने गुल्मीमा उनको भ्रमण मुकाम केशर श्रेष्ठको घर मानिन्थ्यो । यी दुबै भाइ पनि पुष्पलालीय कम्युनिष्ट नै थिए ।

सहानाले देशका प्रमुख स्थानहरूको भ्रमण गरेकी थिइन् । उनले विभिन्न ठाउँबाट जनताको आवाज मनमा गाँठो पारेर केन्द्रमा ल्याउने गर्थिन् । तर उनको सिफारिस केन्द्रले चलाउने हिम्मतै गर्न सकेको थिएन । त्यसैले कम्युनिष्ट पार्टीमा कपाल फुलाएका प्रा.यादव उपाध्यायहरू जस्ताको पनि कहिल्यै मूल्याङ्कन हुन सकेन । उपाध्यायले पनि पुष्पलालसँगै बसेर धेरै वर्ष काम गरेका बौद्धिक, निष्ठावान र इमानदार कम्युनिष्ट थिए । त्यसैले सहाना त्यस क्षेत्र जाँदा उपाध्यायलाई भेट्न कलैया जान्थिन् र उनैका घरमा बस्थिन् ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।