शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेयर कारोबारमा लगानीकर्ताले चाहेको जस्तो सिस्टम ल्याउँछौं’

शनिबार, २२ कात्तिक २०७७, १४ : ५६
शनिबार, २२ कात्तिक २०७७

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको २ वर्षे कार्यकालमा म सर्वसम्मत रुपमा चयन भएको छु । एशोसिएसनको नेतृत्वमा मलाई विश्वास गर्नुहुने सम्पूर्ण ब्रोकर साथीहरुप्रति आभार व्यक्त गर्दछु । साथीहरुले विश्वास गरेर प्रदान गर्नुभएको जिम्मेवारीलाई मैले हरसम्भव पूरा गर्ने प्रयत्न समेत गर्नेछु । 

हामी पुँजीबजारको तल्लो तप्कामा बसेर काम गर्ने स्टेकहोल्डर हौं । हामीले गर्ने प्रत्येक व्यवहारले लगानीकर्तालाई प्रत्यक्ष प्रभाव पार्ने खालको हुन्छ । त्यसैले बजारमा हुने सानोतिनो समस्यामा पनि हामी जिम्मेवार हुन्छौं । 
मैले विभिन्न ३ वटा दृष्टिकोणबाट बजारको विकासलाई हेरेको छु । प्रविधिको विस्तार, ब्रोकरको कार्यक्षेत्र र सेवाको विस्तार र लगानीकर्तामा ब्रोकरको विश्वासमा अभिवृद्धि । 

अहिले बजारमा जुन प्रविधिको प्रयोग छ, यसका कारण पनि हामीले धेरै अप्ठ्यारा भोगेका छौं । प्रथमतः अहिलेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) कारोबारको व्यवस्थापन गर्ने भन्दा पनि अर्डरको व्यवस्थापन मात्रै गर्नेखालको छ । यसलाई वास्तवमै कारोबार व्यवस्थापन प्रणाली बनाउने र त्यसमा नयाँ नयाँ विशेषताहरु थप गर्दै जानु हाम्रो प्रमुख दायित्व हुन्छ । 

हामीले अहिले ब्रोकरहरुकै संयुक्त लगानीमा टीएमएसको लागि नयाँ कम्पनी बनाइसकेका छौं । अहिले हाम्रो संघको निवर्तमान उपाध्यक्ष टंक गौतमले यो कम्पनीको व्यवस्थापनको लागि निकै खटिइरहनु भएको पनि छ । 
हामीले अहिले परिकल्पना गरेको टीएमएस भनेको यस्तो हो जसले मोबाइलको माध्यमबाट सजिलै कारोबार गर्न सकिनेछ । बजारमा कारोबार हुने सबै प्रकारका कम्पनीहरुको इतिहास, नेप्से र त्यहाँका सबै सूचकहरुको इतिहासको राख्ने र आवश्यकताअनुसार त्यसको आधारभूत र प्राविधिक विश्लेषण गर्नसक्ने सिस्टमको विकास गर्ने सोच समेत बनाएका छौं । 

हाम्रो बजारले अहिले २७ वर्षको इतिहास बनाएको छ । तर, दशकौंदेखि कारोबार हुँदै आएका कम्पनीको विगत हेर्ने हो भने अहिले पनि हामी चारतिर दौडिनुपर्छ । कुनै कम्पनीको तथ्यांक विश्लेषण गर्नुपर्यो भने सफ्टवेयरहरु किनेर हेर्नुपर्छ । त्यो अवस्था अन्त्य गर्न ऐतिहासिक मूल्य सूचक, डाटा एनालाइसिस टुल्सदेखि इन्भेष्टर्स पोर्टफोलियो ट्रयाकरसहितको सिस्टम समेत यो प्रणालीमा राख्ने योजना बनाएका छौं । 

सेयर कारोबारको २७ वर्षको अनुभव हुँदा पनि ब्रोकरहरु परम्परागत ब्रोकरको काममा मात्रै सीमित भएका छन् । हाम्रो कार्यक्षेत्र विस्तार हुनुपर्ने आवश्यकता छ । अहिले हामीले निक्षेप सदस्य (डीपी) को काम गर्ने अवसर पाएका छौं । तर आजका दिनसम्म डीपी गरेर कुनै पनि ब्रोकर फाइदामा गएका छैनन् । लामो प्रयासपछि मार्जिन लेन्डिङको स्वीकृति दिइयो । 

तर, कसिलो प्रावधानका कारण लगानी गर्न सकिएको छैन । इक्विटीमा आधारित लगानीको मात्रै व्यवस्था भएकोले यसको आकार सीमित छ । अर्कोतिर लगानी गर्ने प्रावधान समेत कठिन भएकोले लगानीकर्ताहरु यसमा आकर्षित छैनन् । हामीले लाइसेन्स नवीकरणको शुल्क मात्रै तिरेर बस्नु परिरहेको छ । 

हामीले अरु क्षेत्रमा समेत काम गर्न पाउनुपर्ने माग गरिरहेका छौं । बुक बिल्डिङमा हामी सहभागी हुन पाउनुपर्छ भनेका छौं । अन्डरराइटिङको जिम्मेवारी पाउनुपर्छ भनेका छौं । पोर्टफोलियो म्यानेजमेन्टदेखि कम्पनी एड्भाइजरी सर्भिससम्मका सेवा दिन हामीले माग गरिरहेका छौं । यी मागहरु पूरा भएका ब्रोकरहरु परम्परागत ढंगबाट मात्रै चल्नुपर्दैन । त्यसमा हामी विशेष ध्यान दिनेछौं । 

शहरमा मात्रै केन्द्रित रहेका ब्रोकरको सेवा विस्तार गरेर गाउँसम्म पुर्याउनु अर्को जिम्मेवारी हो । त्यसका लागि धितोपत्र बोर्ड र नेप्सेसँग सहकार्य गरेर आधिकारिक प्रतिनिधिको व्यवस्था गर्नेछौं । 
ग्राहकको सुविधा र विश्वासलाई बढाउनुपर्ने मुख्य चुनौती हामीसँग छ । एउटा लगानीकर्ताले आफ्नो स्टकलाई बिक्री गरेपछि पैसा पाउँछु भन्ने ग्यारेन्टी हुनुपर्छ । अहिले ब्रोकरहरुले यसका लागि आफ्नो तर्फबाट व्यवस्थापन गरिरहेका छन् । तर सेटलमेन्ट ग्यारेन्टी फण्डको आकार उपयुक्त नहुँदा ठूलो कारोबारमा डिफल्ट हुनसक्े जोखिम अझै पनि छ । यस्तो अवस्थामा हामीले यस्तो फण्डको आकारलाई बढाउन समेत पहल गर्नु पर्नेछ । 

अहिले आफूसँग अहिले भएको सेयर मात्रै बिक्री गर्न पाउने अवस्था छ । कतिपय अवस्थामा भएको सेयर बेच्न समेत पाइँदैन । यो व्यवस्थाले बजारलाई संकुचित बनाएको छ ।  यस्तो अवस्थामा अक्सन मार्केटलाई चाँडोभन्दा चाँडो कार्यन्वयनमा ल्याउने आवश्यकता पनि छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी रिस्क र अरु अन–सिस्टमेटिक रिस्कबाट बच्ने चुनौती छ । यी विषयहरुको उचित ढंगले कार्यान्वयन गराउन नियामक निकायहरुसँग समन्वय र सहकार्य गर्ने मेरो प्रयास हुनेछ । 
(मैनाली नेपाल स्टक ब्रोकर एशोसिएसनको नवनिर्वाचित अध्यक्ष हुन् । शुक्रबार सम्पन्न संघको साधारणसभाले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको थियो ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप