शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी फुटे त्यसको जिम्मेवारी ओलीले लिनुपर्छ, हरिबोल गजुरेलसँगको अन्तरवार्ता

मङ्गलबार, २५ कात्तिक २०७७, १५ : ३७
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौँ । नेकपा भित्रको उतारचढावमा कहिले ओली खेमा त कहिले प्रचण्ड–माधव खेमामा उभिन पुग्ने नेता हुन्– स्थायी समिति सदस्य हरिबोल गजुरेल । अध्यादेश प्रकरणमा ओलीको चर्को विरोध गरेका गजुरेल प्रधानमन्त्रीको राजीनामा माग्दा त्यसको विपक्षमा उभिन पुगे । हाल स्थायी समितिको निर्णय कार्यान्वयनका सवालमा भने ओलीकै कमजोरी देख्ने गजुरेल पार्टी विभाजन रोक्न भूमिका खेलिरहेको दाबी गर्छन् । उनको बुझाइमा नेकपा विभाजनको डिलमा पुग्नुमा अध्यक्षद्वय ओली र प्रचण्डकै कमजोरी देख्छन् । पार्टी फुटे समग्र उपलब्धि नै गुम्ने खतरा रहेको बताउने गजुरेललाई कसरी जोगिएला त नेकपाको एकता भनेर रातोपाटीले प्रश्न गरेको छ । प्रस्तुत छ गजुरेलसँग गरिएको कुराकानी : 

नेकपा फुट र विभाजनको सङ्कटमा कसरी पुग्यो ?
नेकपा सङ्कटको चक्रबाटै गुज्रिरहेको थियो । तर अहिले फेरि नयाँ सङ्कटको पुनरावृत्ति भयो । जुन राम्रो होइन । 

नेकपामा सङ्कटको पुनरावृत्ति हुनुमा केके कारण देख्नुहुन्छ र यसको दोष क–कसमा जान्छ ?
मिटिङ हुन्छ, छलफल हुन्छ, सहमति पनि हुन्छ । तर फेरि फर्केर पुरानै अवस्थामा पुग्छ । पार्टीमा पटक पटक किन यस्तो समस्या आइरहन्छ ? एउटै कुरा किन दोहोरिरहन्छ र बहस भइरहरन्छ ? मेरो बुझाइमा यस्तो हुनुमा नेताहरू आफूतिर नफर्किएकाले हो । कोही पनि नेताहरू आफूतिर फर्किनु भएन । एकले अर्कोले दोष दिने प्रवृत्ति छ, उसले गर्दा एउटाले भन्ने अर्कोले फेरि उसले गर्दा पो त भन्ने भइरहेको छ । कुनै विषय या घटनामा कसैको कमजोरी भएको हुनसक्छ त्यसमा यो ऊ भन्ने कुरा होइन तर आफूतिर नफर्केसम्म एकता हुनै सक्दैन । यसले विमति बढाउँदै लैजान्छ । हामीले देख्दा कसकसको कमजोरी हो भन्ने छ्याङ्ग देख्छौँ । प्रधानमन्त्रीका केके कमजोरी छन् र अध्यक्ष प्रचण्डका केके कमजोरी छन् भन्ने हामीले प्रस्टै देखेका छौँ । 

तर उहाँहरूले आफ्ना कमजोरी समीक्षा गर्न नै लाग्नु भएन । मैले राम्रो गरेको थिएँ, उसले गर्दा सबै विग्रियो भन्ने गर्दा यो अवस्था आएको हो । आफैँ दुवै अध्यक्ष भएर पनि जिम्मेवारीबाट पन्छिने काम गरिरहनुभएको छ । हामी अध्यक्ष हौँ, हाम्रो भूमिका कहाँ पुगेन भनेर समीक्षा गर्नुको साटो जिम्मेवारीबाट पन्छिने गर्नुले नै मुख्य समस्या आएको हो । 

तपाईंको बुझाइमा यस्तो किन भएको हो त ?
प्रधानमन्त्री केपी शर्मा ओली एमालेको अध्यक्ष भएर जसरी पार्टी चलाउनुभयो अहिले पनि नेकपा त्यसैगरी चलाउन खोज्नुभएको छ भने प्रचण्ड पूर्वमाओवादी केन्द्र चलाएजसरी नै चलाउन खोज्नुहुन्छ । नयाँ पार्टी भइसकेपछि पनि आआफ्नै पुरानै तरिकाले चलाउन खोज्दा समस्या भएको हो । नयाँ तरिका खोजेर अघि बढ्नुपर्नेमा पुरानै ढाचा र ढर्रामा हिँड्न खोज्दा समस्याको गाँठो कसिँदै गएको हो । यसरी मिलन विन्दुको पहिचान पनि हुँदैन । 

अघिल्लो पटक केपी शर्मा ओलीले अध्यादेश ल्याउनुभयो । अध्यादेशले पार्टीलाई फुटमा लैजान्छ, अस्थिरता निम्त्याउँछ भनेर पार्टीमा हामीले त्यसको विरोध गर्यौँ । प्रतिवाद गर्यौँ । मैले त्यसको अग्रपङ्क्तिमा रहेर नै विरोध गरेँ । सबैको विरोधपछि उहाँले फिर्ता लिनुभयो । दोस्रो पटक अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने भनेर आउनुभयो । त्यसबेला त्यसो गर्नुहुन्न यसले पार्टी फुटमा लैजान्छ बरु दुईमध्ये एक छोड्नुस्, एक रोज्नुस् भनिदिएको भए सबैलाई ठीक पनि लाग्न सक्थ्यो ।

राष्ट्रियताको मुद्दा उठाएर देश एक ढिक्का भइरहेको अवस्थामा दुवै पद छोड्नुस् भन्दा राम्रो सन्देश जाँदैन भनेर त्यो कुरालाई हामीले साथ दिन सकेनौँ । कारबाही गर्ने र हटाउने कुराले पार्टी विभाजनतिर लान्छ भनेर त्यसलाई पनि रोकियो । र, पछिल्लो समय कार्यदल बन्यो । कार्यदलको रिपोर्ट अनुसार सचिवालय र स्थायी समितिले निर्णय गर्दै नयाँ सिराबाट पार्टी एकताबद्ध भयो । त्यो पछि उहाँहरूका बाध्यता, जटिलता, समस्या होलान्, भित्र केके बहस भएका होलान त्यो अर्को कुरा हो तर बाहिर प्रधानमन्त्रीले मन्त्री राजदूत नियुक्ति गर्दा एकलौटी गर्नुभयो भयो भन्ने देखियो । यस्तो देखिएपछि यो त ओलीमा कस्तो पेलेर जाने प्रवृत्ति रहेछ भन्ने कुरा कार्यकर्ता र जनतामा परिहाल्यो । यस्तो भएपछि हामीले प्रधानमन्त्रीलाई भन्यौँ तपाईंले ‘मिस’ गर्नुभयो । तपाईंका बाध्यता वा अप्ठ्यारा थिएनन् होलान त्यो आफ्नो ठाउँमा छ तर तपाईंको कामले म्यासेज राम्रो गएन भन्यौँ । तपाईंका दुवै पद सुरक्षित भएर नेतृत्व गर्दै हुनुहुन्छ भने व्यवहारबाटै म्यासेज दिन यसलाई करेक्सन गरेर स्थायी समितिको स्प्रिटलाई हुबहु लागू गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । 

स्थायी समितिका निर्णय कार्यान्वयनका सवालमा भएका कमजोरी करेक्सन गर्न ओली तयार हुनुहोला त, भेटमा के सङ्केत बुझ्नुभयो ?
उहाँले फेरि तपाईंहरूलाई बोलाएर भेट्छु भन्नुभएको छ । त्यसैले उहाँले पोजेटिभ नै लिएको हुनुपर्छ भन्ने मेरो बुझाइ हो । किनभने अहिले धेरै अप्ठ्यारोमा त प्रधानमन्त्री नै पर्नुभएको छ । 

स्थायी समितिका निर्णय पनि नमान्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्ता शब्द पनि हटाउने यी र यस्ता गतिविधिले त उहाँ करेक्सन हुने भन्दा पनि विग्रह ल्याउनलाई नै जोडबल गरेको देखियो नि होइन ?
यस्ता गतिविधि एकअर्काको रिसले हुँदै गएका छन् । एकले अर्कोलाई हटाउने खेलहरू खेल्दै र विभिन्न समीकरण बन्दै जाँदा एकले अर्कोलाई नै सिध्याउने प्रक्रियामा गएकाले यो अवस्था आइरहेको छ । एकले अर्कोलाई कमजोर कसरी पार्ने त ? केपी ओलीले प्रचण्डलाई कसरी कमजोर पार्ने र प्रचण्डले ओलीलाई कसरी कमजोर पार्ने ? केके स्टेप चाल्दा कमजोर बनाउन सकिन्छ भनेर त्यस्ता स्टेप चाल्ने दुवै पक्षबाट भइरहेको छ । यसरी चालिएका दुवै स्टेपहरू गलत हुन् ।

अहिले त संविधानको कार्यान्वयन र पालना गर्नुपर्ने दायित्व प्रधानमन्त्रीमा बढी छ । उहाँ पार्टी अध्यक्ष मात्रै होइन । अध्यक्ष मात्रै नभएर राष्ट्रकै प्रधानमन्त्री समेत भएकाले परिवर्तनका एजेन्डाहरूलाई यताउति गर्ने काम गर्नै हुँदैन । हामीले पनि पनि पार्टी फुटबाट बचाउन अरू कारणले खोजेको होइन । यो पार्टी मजबुत होला कि ? सानो होला कि ? ठूलो होला या चुनाव जित्ला हार्ला भन्ने हाम्रो चिन्ता होइन । चिन्ता त्यो हो यो पार्टी फुट्यो भने परिवर्तनका एजेन्डा समाप्त हुन्छन् । जनता, कार्यकर्ता निरास हुन्छन् । त्यसको फाइदा पश्चगामीले उठाउँछन् । २००७ सालदेखि परिवर्तनको पक्षमा रहेका जनताले जुन त्याग बलिदान गरे र आज परिवर्तन सम्भव भयो त्यो गुम्छ भनेर पार्टी फुट्न हुँदैन भनेर हामी लागेका हौँ, अरू कुनै कारणले होइन । 
यो पार्टी फट्यो भने परिवर्तनका एजेन्डा सकिन्छन्, जनता र राष्ट्रले दुःख पाउँछन् भन्ने देखेर नै हामी जोगाउन लागि परेका हौँ । 

चुनाव अघि गठबन्धन बनाएर उम्मेदवारी दिएका कारण कम्युनिस्टहरूले सहज बहुमतका साथ सत्ताको नेतृत्व गर्ने अवसर पाएका हुन् । तर अहिले खोलो त¥यो, लौरो बिर्सियो भनेजस्तो देखिन्छ । किनभने चुनाव जितिसकेपछि पार्टी एकता भनिए पनि यसलाई टिकाउन जरुरी छैन भन्ने सोचले काम गरेको हो कि भन्ने देखिन्छ । तपाईं चाहिँ के भन्नुहुन्छ ?
दुई अध्यक्ष जो हुनुहुन्छ उहाँहरूले एकले अर्कोलाई चिन्नु र बुझ्नुपर्ने हो । संविधान बनेपछि पनि त ओलीलाई प्रधानमन्त्री बनाएको भनेको प्रचण्डले नै हो । त्यो बेला आखिरमा काँग्रेसले पनि अफर गरेकै थियो । त्यसबेला प्रचण्डले ओलीलाई बनाउने भनेर अडान लिएकै हो । संविधान बन्नुभन्दा अघि केपी ओली प्रधानमन्त्री सुशील राष्ट्रपति भनिएको थियो । तर सुशील त्यो कुरामा अडिनुभएन र उहाँ आफैले प्रधानमन्त्रीको उम्मेदवारी दिएर चुक्नु पनि भयो । केपी ओलीले त्यो बेला आफ्नो अडान छोड्नुभएन र उहाँले नेतृत्व गर्ने अवसर पाउनुभयो । त्यो इतिहास पनि भुल्नुहुँदैन । इतिहासका कालखण्डमा ककसले के भूमिका निर्वाह गरियो भन्ने मात्रै नहेरी समग्र भूमिका हेर्नुपर्छ । इतिहासमा निर्वाह गरेको भूमिकालाई कदर र अहिले भएका कमिकमजोरीको आलोचना पनि गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने भन्दाभन्दै पनि हामीले त्यसको प्रतिवाद गर्यौँ र उहाँ अहिले दुवै पदमा हुनुहुन्छ । यसले उहाँलाई राम्रो अवसर पनि आयो ।  अब स्थायी समितिको स्प्रिटलाई समातेर जान केले रोक्यो ? समस्या के देखिन्छ भने कसलाई मन्त्री बनाउने भन्नेमा उहाँहरूको विवाद भएको छ । प्रधानमन्त्री आफूलाई साथ दिने, अध्यक्षबाट हटाउनु हुँदैन भन्नेलाई मन्त्री बनाउन खोज्नुभएको छ, प्रचण्ड तिनीहरूलाई नबनाउन पाए हुन्थ्यो भन्नेमा हुनुहुन्छ । यस्ता कुरामा उहाँहरूले आग्रह पूर्वाग्रह राख्ने नै होइन । सङ्घर्षमा मान्छे जो जता लागे पनि अब एकता भइसकेपछि विर्सिएर यी सबै हाम्रै पार्टीका नेता हुन् भनेर बुझ्नुपर्छ । 

एकअर्काका छिद्र खोज्ने होडबाजी नै चलेको छ । तर कमजोरी सच्याउनेतिर कसैको ध्यान देखिन्न । भनेपछि अबको पार्टी एकता टुट्न नदिने मिलनविन्दु के हुनसक्छ त ?
सबैको सकारात्मक पहल जरुरी छ । हामीले पनि आआफ्नो ठाउँबाट के गर्दा फुटबाट रोक्न सकिन्छ भनेर आफ्नो तर्फबाट पहल जारी छ । पछिल्लो समय अलि मत्थर पनि भएको छ । सचिवालय बैठक बस्ने कुरामा प्रधानमन्त्री सहमत हुनुभएको जस्तो लाग्छ, यद्यपि मिति तय भने भइसकेको छैन । किनभने बहस कमिटी बैठकमा लैजाने, नभए स्थायी समितिको बैठक बोलाएर सबै समस्या समाधान गर्नुपर्छ, यसमा दुईमत छैन । त्यसैले अवस्था बैठकतिर गएकाले समस्या समाधान हुन्छ कि भन्ने आशा जागेको छ । 

प्रधानमन्त्रीले सचिवालय बैठक राख्न नै आनाकानी गरेको अवस्था छ । कसरी बैठकतिर माहोल गयो भन्नु र ?
बैठकको तयारी गर्नु भनेर महासचिवलाई निर्देशन दिनुभएको छ । सायद छिटै बैठक बोलाइन्छ भन्ने बुझ्न सकिन्छ । त्यसैले हिजो अस्तिको तुलनामा फुट्यो फुट्यो, विशेष अधिवेशन माग गर्ने कुरा पनि उठ्यो । संसद भङ्ग गर्ने र हस्ताक्षर सङ्कलन जस्ता कुरा पनि भइसकेका थिए । अहिले ती कुरा मत्थर भएका छन् र संवादतिर वातावरण गइरहेको छ । ५ जना बसेर छलफल गरेर प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा पनि राख्नुभयो जसले फुटबाट बचेर अघि बढ्ने सम्भावना दखिन्छ यद्यपि निश्चित भइसकेको भने छैन । हामीले फुटबाट जोगाउनुपर्छ भनेर पहल गरिरहेका छौँ, यदि पार्टी फुट्यो भने त्योभन्दा ठूलो दुर्भाग्य केही हँुदैन । 

तपाईंको भनाइमा ओली प्रचण्ड दुवैले आत्मालोचना गरेर अब कमजोरी नगर्ने र यसअघि भएका निर्णय कार्यान्वयनमा लैजाने अठोट गर्नु नै समाधान हो ?
हामीले प्रधानमन्त्रीसँग कुरा गर्दा पनि उहाँले पार्टी फुट्यो या दायाँबायाँ भयो भने म एक नम्बर अध्यक्ष भएकाले मेरै टाउकोमा बढी दोष आउँछ है तर प्रचण्ड पनि चोखो बस्नुहुन्न भन्नुभएको छ । त्यसकारण यो पार्टी फुट्यो भने बढी दोष एक नम्बर अध्यक्ष र प्रधानमन्त्री ओलीलाई नै जान्छ । त्यसपछि प्रचण्डलाई आउँछ भनेर भनेकाले उहाँले यो कुरा बुझ्नुभएको छ भन्ने मलाई लाग्छ । उहाँले इमानदारीपूर्वक भनेको हो वा हामीलाई देखाउन भनेको हो, त्यो उहाँले बुझ्ने कुरा हो । तर बढी जिम्मेवार प्रधानमन्त्री ओली नै हुनुपर्छ । समग्र राजनीतिक आन्दोलनको नेता भएको हिसाबले प्रचण्ड पनि जिम्मेवार चाहिँ हुनैपर्छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नराख्ने भनेर सरकारले निर्णय गरेको छ । यस्तो निर्णयले त झन् अवस्थालाई जटिल बनाउँदैन ? यसबारे तपाईंको बुझाइ के हो ?
अहिले यस्तो बेलामा त्यो निर्णय ठीक होइन । नियत राम्रै भए पनि बेला उपयुक्त भएन । यो एजेन्डाप्रति प्रधानमन्त्री सकारात्मक हुनुहुन्न भन्ने कुरा पनि बेलाबेला उठिरहेको छ । यही बेलमा त्यस्तो निर्णय गरिदिएर मान्छेहरूलाई के हो ? के हो ? भन्ने आशङ्का हुने काम गर्नुहुँदैन थियो । के सोचेर गर्नुभयो थाहा भएन । सही र गलत भन्ने पनि छलफल होला तर बेला उपयुक्त होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप