शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा रेल गुड्न नपाउँदै रेल्वे लिकको ‘क्लिप’ चोरी

रेल विभागका प्रवक्ता भन्छन्- ‘देशको माया नगर्नेहरूले चोरे !’
बिहीबार, २७ कात्तिक २०७७, १९ : ०१
बिहीबार, २७ कात्तिक २०७७

-राजेश भण्डारी/किरणकुमार कर्ण 

काठमाडौँ । नेपाली रेल जनकपुर आइपुगेको २ महिना पूरा हुँदैछ । एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेटलाई दुई महिनाअघि जनकपुरमा भव्य स्वागत गरिएको थियो ।  तर औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ चोरी हुन थालेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमटर लिक निर्माण सम्पन्न भइसकेको छ । कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म कुल ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । 

यता निर्माण हुँदै छ अर्कोतिर निर्माण भइसकेको लिकको ‘क्लिप’ धमाधम चोरी भइरहेको छ ।  रातोपाटीलाई प्राप्त तथ्याङ्कअनुसार दुई महिनाको अवधिमा ६ सय क्लिप चोरी भएका छन् । लिकमा प्रयोग हुने एउटा क्लिपमा करिब आधा केजी फलाम हुन्छ । क्लिप चोर्नेहरूले कवाडमा बेच्ने गरेको बताइएको छ । 

भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा कुर्थासम्म निर्माण सम्पन्न भएको रेल्वे लिकको क्लिप धमाधम चोरी भइरहेको रेल विभागका प्रवक्ता अमन चित्रकारले स्वीकार गरेका छन् । रातोपाटीसँग कुरा गर्दै चित्रकारले भने– ‘लिकको क्लिप बेला–बेला चोरी भइरहेको छ । देशको माया नगर्नेहरूले क्लिप चोरेको जस्तो लाग्छ ।’ 

गत साता काठमाडौँमा सम्पन्न बैठकमा रेल विभागकी महानिर्देशक प्रमिलादेवी शाक्य बज्राचार्यले धमाधम क्लिप चोरी भइरहेको कुरा उठाएकी थिइन् । नेपाल–भारत  सम्बन्धमा असर पार्नेगरी रेल्वे लिकमा क्षति गरिएको भन्दै रेल विभागका अधिकारीहरूले चिन्ता गरेका छन् ।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुनसक्ने स्थानीय बासिन्दा बताउँछन् ।  क्लिप चोरी भएको सम्बन्धमा भारतीय विदेश मन्त्रालयबाट आएको टोलीले सो क्षेत्रमा अनुगमन गरेका छन् । बिहीबार रातोपाटीकर्मी रिपोर्टिङ गर्न जाँदा भारतीय विदेश मन्त्रालयको टोलीले क्लिप चोरी भएको बारे अनुगमन गर्दै थिए ।

 

जनकपुरमा नेपाली रेल आइपुग्दा त्यहाँ सेल्फी खिच्नेहरूको भीड लाग्यो । केही दिनमै रेलको सिसा फुटाएपछि अहिले जयनगर तर्फको भूभागमा लगेर सो रेललाई छोपेर सुरक्षित तरिकाले राखिएको छ । सिसा फुटाउने २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको थियो । सार्वजनिक अपराध मुद्दा खेपेर उनीहरू छुटिसकेका छन् । नेपाली रेल भारतको हाजिपुरबाट जनकपुर ल्याइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप