बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी र गुटवादी सावित गर्नुभएको छ : प्रचण्ड

सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावका मुख्य अंश
शुक्रबार, २८ कात्तिक २०७७, २० : २८
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुपर्ने बताएका छन् । 

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रस्तावमा साँचो अर्थमा माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने, समाजवाद उन्मुख जनताको जनवाद हुँदै समाजवादी रणनीतितर्फ अगाडि बढ्ने संगठनात्मक सिद्धान्त र विधि–पद्धति अनुसार चल्ने दलाल नोकरशाही पूँजीवादका विरुद्ध राष्ट्रिय पूँजीको विकास गर्ने, सामाजिक न्यायसहित समाजवादी अर्थतन्त्रको बीउ रोप्ने, नेपाली समाजको ऐतिहासिक विकासक्रम, नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको नयाँ वैचारिक संश्लेषण गर्ने स्पिरिटमा पार्टी र देश निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक भएको पनि उल्लेख गरेका छन् । 

प्रचण्डले आफ्नो प्रस्तावमा शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट निर्वाचन मार्फत सरकार बनाई राज्यको नेतृत्व गरेर सामाजिक आर्थिक रुपान्तरण गर्ने, समाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादी आधार तयार गर्ने र अन्ततः समाजवाद निर्माण गर्ने ऐतिहासिक अवसर हामीलाई प्राप्त भएपनि सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणा पत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरुको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दाहेर्दै गुम्न सक्ने खतरा र चुनौती देखापर्दै जान थालेको पनि उल्लेख गरेका छन् । उनले यस्तो स्थिति क्षम्य हुन नसक्ने पनि जनाएका छन् । 

प्रचण्डले कम्युनिष्ट आचरण र मूल्य मान्यतामा भयानक ह्रास आइरहेको तथा नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निमित्त जे पनि गर्न उद्धत हुने घोर व्यक्तिवादी र अराजकताजवादी प्रवृत्ति झाँगिँदै गएको पनि उल्लेख गरेका छन् । ‘क्रान्तिकारी आचरण र लोकतान्त्रिककरणको पक्रिया विलोप हुँदैछ । वैचारिक बहस गर्ने, सैद्धान्तिक अध्ययन, अनुसन्धान गर्ने, कम्युनिष्ट आदर्श, विधि र पद्धतिको विकास र पालना गर्ने प्रश्नहरुमा ध्यान दिने फुर्सद कसैलाई नभएको जस्तो देखिँदैछ’, प्रचण्डले भनेका छन् ।  

उनले पार्टी र सरकारको सम्बन्धमा आपसी तालमेल र समन्वयको ठूलोे अभाव रहेको जनाउँदै पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो रहेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘हाम्रो आजको संवैधानिक र राजनैतिक व्यवस्था अन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यवहारिक निरुपण हुन सकिरहेको छैन । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’, प्रस्तावमा भनिएको छ । प्रचण्डले पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको जनाएका छन् । 

‘वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ । उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो’, प्रचण्डको निश्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप