कर्मकाण्ड आमा र यमदूतहरु— १६ (क)

म इतिहासको कुन कालखण्डमा छु : संकीर्ण पञ्चायती तानाशाहीमा कि उदार भनिने पूँजीवादी प्रजातन्त्रमा ?

वैराग्यका वाणले श्रोतागणको मनोविज्ञानलाई क्षत–विक्षत पार्नु र जीवनप्रति वितृष्णा र जगत‍्प्रति घृणा जगाउनु नै बडीबाजेको वैराग्य दर्शनको पहिलो र अन्तिम अभीष्ट

person explore access_timeकात्तिक २९, २०७७ chat_bubble_outline0

 

चालीस

प्रश्नको धोक्रो बोकेर ठसठस कन्दै बडीबाजेका पछिपछि कुद्ने गरुडमा चाकरी प्रवृत्ति घनिभूत हुँदै गएको छ । यस्तो लाग्छ, उनी भोको कुकुर लोभी आँखाले मालिकलाई हेरेर पुच्छर हल्लाउँदै पाउमा लुटपुटिएझैँ लुट्पुटिन थालेका छन्, “हे दयासिन्धो ! हे भगवान् ! हे देव–देव ! हे ईश ! हे शरणागतवत्सल ! म अब अविनाशी मोक्षको उपाय सुन्नाको इच्छा गर्दछु । हे मोक्षय । मनुष्य सधैँ दुःखले आतुर भएका छन्— कहीँ कोही सुखी छैन । हे प्रभो ! कुन उपायले संसारबाट मुक्ति पाइन्छ, कृपा गरेर त्यो मलाई बताइबक्सियोस् ।”

दासतुल्य गरुडको भक्ति र स्तुति देखेर मक्ख परेका बडीबाजे दम्भ भरिएको भाकामा आज्ञा गर्छन्, “हे गरुड ! जो तिमी मसँग सोध्दछौँ त्यो म तिमीलाई बताउँछु, सुन— जसका श्रवण मात्रले पनि मनुष्य संसारदेखि मुक्त हुन्छ ।” बाजेका वचनमा यति ठूलो शक्ति, तेज र ओज छ, त्यसलाई सुन्दैमा मात्र पनि सांसारिक दुःखबाट मिलिक्कै मुक्ति पाइहालिन्छ । त्यसो हो भने बडीबाजे ! म मनमनै भन्छु— दान दक्षिणाको लाभदयक मोर्चा त बर्बाद हुने भो नि !

बाजेका वचनमा यति ठूलो शक्ति, तेज र ओज छ, त्यसलाई सुन्दैमा मात्र पनि सांसारिक दुःखबाट मिलिक्कै मुक्ति पाइहालिन्छ । त्यसो हो भने बडीबाजे ! म मनमनै भन्छु— दान दक्षिणाको लाभदयक मोर्चा त बर्बाद हुने भो नि !

कथालेखक बाजे अत्यन्तै विद्वत्तायुक्त मुद्रामा धाराप्रवाह प्रवचनको खहरे खोलो बगाउन थाल्छन् । अनेक देवताको धारणा एक भ्रान्त धारणा हो । अद्वय देव अर्थात एकदेवको धारणा मात्र भ्रममुक्त र मोक्षमुखी धारणा हो । देहधारीहरूका चौरासी लाख शरीरमा मनुष्यको शरीरलाई छाडेर अरु कुनै शरीरमा पनि तत्वज्ञानको लाभ हुँदैन । त्यसकारण, बडीबाजे आज्ञा गर्छन्, “मोक्षको भर्‍याङस्वरूप दुर्भल मनुष्य शरीर पाएर जो आत्मालाई तार्दैन त्यभन्दा ठूलो पापी कुन होला ?”

कथ्थके बाजे व्यासासनमा पलेँटी कसेर पुनः वैराग्यको पाठ घोकाउन थाल्छन्, “सम्पत्तिहरू स्वप्नमा देखेका जस्ता छन्, यौवन फूलसमान छ र आयु विजुली चम्केझैँ चञ्चल छ ।” त्यसैले यो साह्रै सङ्क्षिप्त, स्वप्नमय र नाशवान् मनुष्य जुनीमा लोभ, पाप र मोहबाट मुक्त भई मोक्षको बाटो समात्नु नै जीवनको सार्थकता हो । “मेरा छोरा–नाति छन्, मेरी स्वास्नी छ, मेरो धन छ, मेरा भाइ–बन्धुहरू छन्— यसो भन्ने मनुष्यरूपी बाख्रो कालरूपी ब्वाँसोद्वारा बलपूर्वक मारिन्छ ।”

वैराग्यका वाणले ताकेर श्रोतागणको मनोविज्ञानलाई क्षत–विक्षत पार्नु र तिनमा जीवनप्रति वितृष्णा र जगत्प्रति घृणा जगाउनु नै बडीबाजेको वैराग्य दर्शनको पहिलो र अन्तिम अभीष्ट हो । वैराग्यवादी बाजेका शब्द–शब्दमा, क्षण–क्षणमा म, मलाई, मेरो, सबै मेरो वरिपरि, सबै मेरा पाउमुनि, सबै मेरो भक्ति र चाकरीमा आदि भाव र आशयहरू ध्वनित हुन्छन् । “यो संसार सब दुःखहरूको उत्पत्ति हुने स्थान हो र सम्पूर्ण आपत‍्हरूको घर हो, सबै पापहरूको आश्रय हो । यसकारण मलाई सम्झेर क्षणभरमै संसार त्यागोस् ।”

कथावाचक पुरोहित बाजे यो वाक्य सुनाएर श्रोताहरूलाई पानी छर्किन्छन् र गम्छाले पसिना पुस्छन् । म गम्छु —तत्वज्ञान प्राप्त गरिसकेका यी बाजे निकै अघि यो संसार त्यागेर, यो आपत्को घर र पापहरूको आश्रयरूपी यो संसार त्यागेर, स्वर्गलोकका बडीबाजेको घरतिर गइसक्नुपर्ने हो । यी उल्लु बाजे यो आपत्को घर र पापहरूको आश्रयरूपी शरीर बोकेर दाँत ङिच्याउँदै किन यसरी शय्यादानको सिकारमा लिप्त भएका होलान् ?

कथावाचक पुरोहित बाजे यो वाक्य सुनाएर श्रोताहरूलाई पानी छर्किन्छन् र गम्छाले पसिना पुस्छन् । म गम्छु —तत्वज्ञान प्राप्त गरिसकेका यी बाजे निकै अघि यो संसार त्यागेर, यो आपत्को घर र पापहरूको आश्रयरूपी यो संसार त्यागेर, स्वर्गलोकका बडीबाजेको घरतिर गइसक्नुपर्ने हो । यी उल्लु बाजे यो आपत्को घर र पापहरूको आश्रयरूपी शरीर बोकेर दाँत ङिच्याउँदै किन यसरी शय्यादानको सिकारमा लिप्त भएका होलान् ?

बडीबाजेको चिन्तन मोक्षको निर्विकल्प बोटो देखाउँदै त्यसको विधिको बयान गर्नतर्फ प्रवृत्त हुन्छ । शरीरलाई दण्ड दिनाले मात्र मोक्ष प्राप्त हुँदैन । शरीरमा माटो, खरानी, धूलो घसेर मात्र पनि हुँदैन । एकलासे वनमा तपस्या गरेर मात्र पनि हुँदैन । न त नदीको तटमा बसेर मात्र हुन्छ । हे बाजे, कसरी प्राप्त हुने हो त मोक्ष ? बाजे उवाच— ज्ञान प्राप्त गरेर । के स्वाध्यायबाट प्राप्त ज्ञान मोक्षका लागि सहायक बन्न सक्छ, बाजे ? बाजेबाट आज्ञा हुन्छ — किमार्थ सक्दैन । ज्ञान गुरुका अर्थात् बाजेका मुखबाटै सुन्नुपर्छ । अतः गुरुरूपी वाचक बाजे कहन्छन्, “एकै गुरु–बचन मुक्तिदायी हुन्छ ।” ज्ञानमाथि गुरुको यो एकाधिकारको रहस्य बुझ्न गीतापाठ गरिरहनु पर्दैन । त्यो रहस्य हो— मेवा–मिष्ठान्न, सुन, भूमि र गाईजति जम्मे यिनै बाजेलाई !

यहाँनेर सबै ज्ञान जान्ने र ज्ञानका निर्विकल्प एकाधिकारी मेवा–मिष्ठान्नप्रेमी, सुनप्रेमी, हात्तीप्रेमी, घोडाप्रेमी र गाईप्रेमी प्रभुबाट गर्जनको लबजमा आज्ञा हुन्छ, “जहिलेसम्म गुरुको करुणा हुँदैन तहिलेसम्म तत्वज्ञान कहाँबाट हुन्छ ?” गुरुको करणा प्राप्त हुने त्यो शुभ मुहूर्त कहिले आउला त प्रभो ? शुभ मुहूर्त तहिले आउँछ जहिले गुरुका ज्ञान–वाणी सुन्दा सुन्दा वैराग्यको सर्पले डसेर आतङ्कित भएको जजमानले गुरुका असीमित तृष्णाहरू तृप्त हुने गरी दानको खोलो बगाइदिन्छ !

इति श्री कुहिगन्ध पुराणे दानमहात्म्य अन्तिम अध्याय शुभम् ।

एकचालीस

सुत्यो निन्द्रा लाग्ने होइन । नरकव्यापी यातानाका दारुण दृश्यहरू मनमा परेड खेलिरहन्छन् । हाम्री आमाको स्मृतिलाई यातना गाथाका पत्रैपत्र भएका काला पर्दाहरूले छोपेर कतै दूर, अति दूर महाशून्यमा पुर्‍याइसके । आमालाई सम्झिँदै थिएँ, आमाको स्वर मेरा स्मृतिका कानमा गुन्जिन आइपुग्यो:

“तँलाई कुटे पनि ?”

“मलाई कल्ले कुट्नु ?”

“राजाका सिपाईहेर्ले ।”

“अहँ, कुटेनन् ।”

नपत्याएर आमाले अत्यासमय सुस्केरा हाल्नुभयो ।

आमासँगको यो संवादको सम्झनाले मलाई अतीततिर डोर्‍यायो । २०५२ साल फागुन ६ गते । त्यसै दिन त हो मेरो चौथो नरकयात्रा सुरु भएको । म दिनभरि व्यस्त थिएँ । मित्र शरद पौडेलहरूको विकास पत्रिकाका लेख–रचना त्यस दिन मैले टाइप गरी सिध्याउनु थियो । साढे तीन बजे माइतीघरस्थित प्रगतिशील लेखक संघको कार्यालयको आँगनमा युद्धप्रसाद जयन्तिको आयोजना हुँदै थियो, जसमा एकजना वक्ता म पनि थिएँ । मेरो गृहनगरी चाबहिलमै तीन बजिसक्यो । हतार–हतार लुगा फेरेँ, र विकासका रचनाका प्रिन्ट आउट र डिस्केट चक्का झोलामा हालेँ । अनि धावनको वेगमा म माइतीघरतिर लागेँ ।

अहिले म चाबहिलस्थित गणेशथान मन्दिरबाट चाबहिल चोकतिर कुद्दै छु । पदायात्री र वाहन–यात्रीहरू, साइकलबाज र ठेलावाजहरू, पेटीका शरणार्थी तरकारी र फलफूल व्यापारीहरू, देवताका बोका र साँडेहरू, कुकुर र पेसेवर जँड्याहाहरू, स्वदेशी र विदेशीहरू— साँगुरो बाटोमा खुट्टो हाल्ने ठाउँ कतै छैन । म पसलहरूका पेटीपेटी च्यापेर ठेल्दै र ठेलिँदै, भीडलाई चिरेर निकासको निर्माण गर्दै अगाडि गइरहेको छु । सुपरिचित पानपसल अगाडिबाट म अघिल्तिर लम्किँदै के थिएँ मेरो बायाँतिर एउटा सेतो भ्यान हठात् ध्याच्च रोकियो । कसैलाई ओराल्न वा कसैलाई उकाल्न रोकिएको होला । अथवा केही किनमेल गर्न.....। अथवा बूढो भ्यान थाकेर अकस्मात् मधौरु भयो होला । यस्तो सोच्दासोच्दै एउटा नर्कट मेरो सामुन्ने ठिङ्ग उभिन आइलाग्यो । हेर्छु, मुरली मार्काको ज्यान छ । कति अग्लो भने मेरो कपालले उसको रुद्रघण्टी छुनछुन लागेको छ ।

सुपरिचित पानपसल अगाडिबाट म अघिल्तिर लम्किँदै के थिएँ मेरो बायाँतिर एउटा सेतो भ्यान हठात् ध्याच्च रोकियो । कसैलाई ओराल्न वा कसैलाई उकाल्न रोकिएको होला । अथवा केही किनमेल गर्न.....। अथवा बूढो भ्यान थाकेर अकस्मात् मधौरु भयो होला । यस्तो सोच्दासोच्दै एउटा नर्कट मेरो सामुन्ने ठिङ्ग उभिन आइलाग्यो । हेर्छु, मुरली मार्काको ज्यान छ । कति अग्लो भने मेरो कपालले उसको रुद्रघण्टी छुनछुन लागेको छ ।

अनपेक्षित अनिष्टको आशङ्काले मेरो मन चीसो भयो ।

“हजुर, एक्कैछिन उता .... ” .नर्कटले भन्यो ।

म सानो झुन्डको घेरामा पारिसकिएको थिएँ । मलाई सपनाजस्तो, भ्रान्तिजस्तो, दुःस्वप्नजस्तो, ऐठनजस्तो एकदम अत्यासको अनुभूति भयो । के हो यो ? को हुन् यी ? त्यो “यता” भनेको कता हो ? म चरम अलमलको मानसिकतामा छु, झुन्डले मलाई ठेल्दै भ्याननेर पुर्‍याइसक्यो ।

”सर, एकछिन माथि बसूँ ।” भ्यानको चालकको गर्धनमाथिबाट बाहिरतिर तन्किएको बाहुन–छेत्रीको जस्तो मुखाकृति भएको टाउकोले भन्यो ।

झुन्डले मलाई घचेट्दै भ्यानमा चढाइहाल्यो । म इतिहासको कुन कालखण्डमा छु ? संकीर्ण पञ्चायती तानाशाहीमा कि उदार भनिने पूँजीवादी प्रजातन्त्रमा ? मेरो मानसिकतामा भ्रमको तुवाँलो अझै फाटेको छैन । चालक पछाडिको सिटमा बसेर पछाडि हेर्छु त म के देख्छु ? त्यहाँ सादा पोसाकमा रौरव नरकका यातनाकारी यमदुतहरूको जस्तो एउटा जत्था छ । कसैका विरूप जुल्फीका फुर्का मूसाका पुच्छरजस्ता छन्, कसैका कपाल टाउकामा गोलाकार घेरा हुने गरी छेवर गरिएका छन् । कसैका कानमा इस्पाते कुण्डल छन्, कसैका नाडीमा झल्ला चुरा वा साङ्ला । अब भने मलई यथार्थबोध भयो— हो, यो मेरो रौरव नरकतिरको चौथो यात्राको प्रारम्भ हो ।

झुन्डले मलाई घचेट्दै भ्यानमा चढाइहाल्यो । म इतिहासको कुन कालखण्डमा छु ? संकीर्ण पञ्चायती तानाशाहीमा कि उदार भनिने पूँजीवादी प्रजातन्त्रमा ? मेरो मानसिकतामा भ्रमको तुवाँलो अझै फाटेको छैन । चालक पछाडिको सिटमा बसेर पछाडि हेर्छु त म के देख्छु ? त्यहाँ सादा पोसाकमा रौरव नरकका यातनाकारी यमदुतहरूको जस्तो एउटा जत्था छ ।

अगाडिको सिटमा चालकबाहेक अरु दुई जना छन् । त्यो अघिको टाउको सादा पोशाकमा छ र अर्को जवान नीलो प्रहरी बर्दीमा ।

”सर कुन पार्टीमा हुनुहुन्छ ?” कलम–कापी लिएर बर्दीधारीले मलाई सोध्यो ।

”म कुनै पार्टीमा छैन ।”

”उहाँ प्रगतिशील लेखक संघमा हुनुहुन्छ ।” नर्कटले बर्दीलाई मेरो चिनारी दियो ।

”म प्रगतिशील लेखक संघको महासचिव हुँ ।” नर्कटको समर्थनमा मैले भनेँ ।

”सर कुनै पनि पार्टीमा हुनुहुन्न र ?” मलाई यो प्रश्न सोध्ने उही अघिको टाउको थियो ।

“छैन ।”

भ्यान सामान्य गतिमा चाबहिल चोकबाट चक्रपथतिर मोडियो । सामान्यतः यसरी पक्राउ गरिनेहरूलाई लगिने ठाउँ हनुमान ढोका हो, चक्रपथको बाटो किन ? मेरो मनमा अन्यौल र आशङ्कायुक्त प्रश्नले शिर उठायो । पञ्चायती तानाशाही विरुद्ध शेरबहादुर देउवा र म दुवै जना लडेका थियौँ । भिन्न दर्शन र भिन्न आस्थाको छातामुनि, आ–आफ्नै ढङ्गले, आ–आफ्नै शैलीमा, आ–आफ्नै गतिमा । अहिले उनै देउवा देशका प्रधानमन्त्री हुनुहुन्छ । र, उनै देउवाका दुतहरूबाट अपहरणको असभ्य शैलीमा म पक्राउ परेको छु । छ दिनअघि नेपालको पश्चिमी भेगका केही प्रहरी चौकीहरूमा विद्रोहीहरूले भरुवा बन्दुक पड्काएर प्रहरीलाई तर्साएका थिए । मेरा हातमा न भरुवा बन्दुक थियो न मैले त्यो पड्काएको थिएँ । निष्ठाको युद्धमा लड्ने मेरा हतियार त मेरो जिब्रो र मेरो कलममात्र थिए । तैपनि आफूलाई उदार र सहिष्णु भन्नमा गौरव गर्ने व्यवस्थाले अहिले मलाई पक्राउ गरेको छ, राजनीतिक सत्ताका अधिपति शेरबहादुर देउवाको आदेशमा ।

हिजो पञ्चायती तानाशाही सत्ताधारी थियो, र देउवा र म त्यसबाट शासित र प्रताडित थियौँ । आज उनै देउवा सत्ताधारी हुनुहुन्छ, र उहाँकै आदेशमा मलाई शासना र प्रताडना प्राप्त भइरहेछ । मानौँ सूर्यबहादुर र मरिचमान बसेको कुर्सीमा बसेपछि उहाँलाई हठात् सूर्यबोध वा मरिचबोध भयो । उहाँ पञ्चायतका निमित्त नायकहरूले खुँदेको उही बासी बाटोको बफादार बटुवामा रूपान्तरित हुनुभयो ।

हिजो पञ्चायती तानाशाही सत्ताधारी थियो, र देउवा र म त्यसबाट शासित र प्रताडित थियौँ । आज उनै देउवा सत्ताधारी हुनुहुन्छ, र उहाँकै आदेशमा मलाई शासना र प्रताडना प्राप्त भइरहेछ । मानौँ सूर्यबहादुर र मरिचमान बसेको कुर्सीमा बसेपछि उहाँलाई हठात् सूर्यबोध वा मरिचबोध भयो । उहाँ पञ्चायतका निमित्त नायकहरूले खुँदेको उही बासी बाटोको बफादार बटुवामा रूपान्तरित हुनुभयो । अथवा मानौँ पञचहरूले रक्तरन्जित तुल्याएको कुर्सीमा गहुँत वा गंगाजल पनि नछर्किकन विराजमान भएपछि देउवा महोदयलाई निरङ्गुश राज्यले आफ्नो संस्कारजन्य पेटभित्र पचाइदियो, र उनै पञ्चरूपी खलनायकहरूको बान्कीमा उहाँलाई सर्वाङ्ग संस्कारित गरिदयो ।

भ्यान शिक्षण अस्पतालदेखि केही पर दायाँ मोडियो । हैन, देउवाका दूतहरूले मलाई यो कहाँ लैजान लागेका हुन् ? म झस्किएँ । भ्यान प्रहरी अड्डा सदृश गजुरधारी भवनअगाडि पुगेर टक्क अडियो । अगाडीको टाउको ओर्लियो र त्यसले मलाई भन्यो, “सँग्रौलाजी, तपाई ओर्लिनोस् ।”

म ओर्लिएँ ।

“ल, तल लगेर मरम्मत गर्दै गर्नू ।” ठूला टाउकाले साना टाउकालाई आदेश दियो ।

“खै त मलाई पक्राउपुर्जी ?” बल्ल पो मलाई पुर्जीको हेक्का भयो र टाउकासमक्ष मैले माग गरेँ ।

“सरलाई पुर्जी भइहाल्छ । म अलिबेरमै सरलाई भेट्न आउँला ।” टाउकाले भन्यो ।

दूत भाइले मलाई पाखुरामा कर्‍याप्प समात्यो र भिरालो जग्गाको ठाडो सिँढीबाट लडाउँलाझैँ गरी ओरालो कुदायो । दायाँतिर टिनको छानो र टिनकै भित्ता भएको सद्दाम हुसेनको बङ्कर भन्न लायकका दुइवटा भयङ्कर डोला टहरा देखिए । दूतले मलाई तल्लो टहरोमा लगेर हुल्यो । भित्र ढोकाको बायाँतिर राइफलधारी एक जवान तनक्क तन्किँदै उभिएको थियो, र ढोकाको दायाँतिर लाठाधारी तीन जवान उही मुद्रामा खडा थिए, तनक्क । बङ्करको अघिल्लो भागको सानो खण्ड खाली थियो, र पछिल्लो भागको ठूलो खण्डमा बेन्चहरूका असङ्ख्य लहर सजाइएका थिए । त्यो अग्लो बङ्कर यति लामो थियो, त्यहाँ मलाई आफू धूलोको सूक्ष्म कण भएझैँ लाग्यो । अगाडि बायाँतिर खाटमा चारजना मानिस काला कम्मल ओडेर भित्ताको अडेस लागेका थिए । को हुन् यिनीहरू ? प्रश्नले मेरो मनमा झट्का दियो । मजस्तै अपहरित बन्दी कि बन्दीको भेषमा मेरो मनका कुरा धुत्न राखिएका देउवा सरकारका जासुसहरु ?

दायाँतिर टिनको छानो र टिनकै भित्ता भएको सद्दाम हुसेनको बङ्कर भन्न लायकका दुइवटा भयङ्कर डोला टहरा देखिए । दूतले मलाई तल्लो टहरोमा लगेर हुल्यो । भित्र ढोकाको बायाँतिर राइफलधारी एक जवान तनक्क तन्किँदै उभिएको थियो, र ढोकाको दायाँतिर लाठाधारी तीन जवान उही मुद्रामा खडा थिए, तनक्क । बङ्करको अघिल्लो भागको सानो खण्ड खाली थियो, र पछिल्लो भागको ठूलो खण्डमा बेन्चहरूका असङ्ख्य लहर सजाइएका थिए । त्यो अग्लो बङ्कर यति लामो थियो, त्यहाँ मलाई आफू धूलोको सूक्ष्म कण भएझैँ लाग्यो ।

जवानहरूका कमान्डर एकजना असई थिए, सानो कद र पातलो जीउ भएका र बोलीवचनले शान्त र शालीनजस्ता लाग्ने छोटा साहेप ।

“सबै चीज त्यो टेबुलमा राख्नोस् ।” असई भाइले भने । अनि उनले आफैँ अघि सरेर मेरो खल्ती खोतलखातल गरे । उनले मेरो जाँघसमेतको पनि हुलिया लिए । कहाँसम्म भने उनले त कुनै विस्फोटक पदार्थको खोजीमा मेरो नितान्त गोप्य क्षेत्र स्पर्श गर्न पनि भ्याइहाले । मेरो यावत् जेथो टेवुलमा थुप्रियो— खुद्रा पैसा, कागजी नोट, डटपेन, लाइटर, कम्प्यूटरको चक्का, प्रिन्ट आउट आदि ।

“उः त्याँ बस्नोस् ।” मलाई खाटमा वस्न आदेश प्राप्त भयो ।

तीनवटा खाट जोडिएका छन् । खाटको एक छेउमा ती सन्दिग्ध चार जना मनुष्य बसेका छन् । तिनीहरू मलाई आँखा फारेर अपलकक हेरिरहेका छन् । के हरेका हुन् तिनले ? आफूजस्तै अर्को एकजना पीडित आयो भनेर हेरेका हुन् कि अर्को एउटा सिकार फेला पर्‍यो मनेर हेरेका हुन् ?

ठुस्स परेको त्यो दिन मेरो मानसिकताजस्तै उदास थियो । उद्विग्न मुद्रामा म कालो, ठस्स गनाउने कम्मलले गोडा छोपेर भित्ताको अडेस लागेर बसेँ । सबैका आँखा समवेत तालमा मतिर लक्षित छन्— राइफलधारी, लाठाधारी, कम्मलधारी सबैका आँखा । मेरो अम्मली खल्तीमा चुरोट कहिल्यै टुट्दैनथ्यो तर आतुरीले गर्दा आज टुटेछ । एकलासको त्यो बङ्करमा, यातानाकर्मीहरूको त्यो अत्यासलाग्दो घेरामा, अनिष्टको अपेक्षा गर्दै मन खिन्न र क्रुद्ध भएको त्यो घडीमा मलाई तलतलले उखर्माउलो भयो । घरी–घरी खल्ती छाम्छु र म निरर्थक निश्वास हावामा फाल्छु ।

एक घण्टा बित्यो । राइफल र लाठाको भयकारी चापले पैदा गरेको सन्नाटा र चुरोटको तलतलले पैदा गरेको औडाहा मेरो लागि असह्य भयो । त्यसकारण मौन भङ्ग गर्दै मैले सोधेँ, “चुरोट छ ?”

हठात् विस्फोट भएको मेरो बोलीको प्रभाव विद्युत् तरङ्गको झट्काझैँ भयो । खाटका चारै जना मौन मूर्तिहरू समवेत गतिमा मतिर सरे, र सुरु भयो परिचयको उमङ्गपूर्ण उपक्रम । चारमध्ये एक जना अलि पाका हुनुहुन्थ्यो । सुललित अनुहार र सुन्दर आँखा भएका ती मृदुभाषी पाका मानिस मलाई कताकता देखे–देखेजस्ता, चिने–चिनेजस्ता लागे । खेम भण्डारी रहेछ उहाँको नाम, धापासीका बासिन्दा । जुलुस र सभाहुँदो हाम्रो यंदाकदा भेट भएको रहेछ । बाँकी तीनमध्ये एकजना सिन्धुपाल्चोके पाठक रहेछन्, चावेल गणेशथाननेर मोमो होटल चलाएर गरिखाने श्रमजीवी । तेस्रो मौन मूर्ति पनि सिन्धुपाल्चोके नै रहेछन्, बत्तीसपुतलीमा सिसा पसल खोलेर जीविका आर्जन गर्ने अर्का भण्डारी । अनि चौथो रहेछन् सायद सिन्धुपाल्चेकतिरैका एकजना मगर, थाङका पेन्टिङ गरेर दुखम्–सुखम् काठमाडौंँमै गुजारा गरिबसेका जनजातीय गरिब । ती चारै जना रोल्पामा भरुवा बन्दुक पड्किाए लगत्तै कठमाडौँमा पक्राउ परेका रहेछन् । तिनको कसुर के रहेछ भने सिन्धुपाल्चोके पाठक, भण्डारी र मगर स्थानीय चुनावमा संयुक्त जनमोर्चाको झन्डामुनि पराजित उम्मेदवार भएका रहेछन् । र, खेम भण्डारीको कसुर रहेछ, जनमोर्चाका जुलुसमा नारिएर टुँडिखेलमा भाषण सुन्न जानु । पक्राउपुर्जी कसैलाई दिइएको थिएन, न त कसैलाई बाहिर कसैसँग भेटघाट गर्ने छूट नै दिइएको थियो ।

सुरक्षाकर्मीहरूले म भानुभक्ततिर फर्किएर मूक मुद्रामा सुस्तरी टाउका हल्लाउँदै मलाई अभिवादन गरे । राम्रै भयो, भण्डारी बाजेको प्रत्युत्पन्न मतिको प्रभावले म जुनियर भानुभक्त भएँ, र अब म सुरक्षाकर्मीहरूका आँखा र कानको गुरुत्वाकर्षण केन्द्र बनेँ ।

हामी साउतीको स्वरमा खासखुस कुरा गर्न थाल्यौँ, सुरक्षाकर्मीहरूका पाइला हामीतिर बढे र तिनका कान चनाखा भए । पाठक भैयाले दिएको खुकुरीमार चुरोट तानेपछि मेरो खरिएको आँतमा त्राण रासएर आयो ।

“उहाँ सर नामी लेखक हुनुहुन्छ ।” खेमजीले सुरक्षाकर्मीहरूलाई मेरो परिचय दिनुभयो । अनि सुरक्षाकर्मीहरूको सुझबूझको तहको ख्याल गरेर होला सायद, उहाँले अलि बुझिने गरी व्याख्या गर्नुभयो, “उहाँ कवि हुनुहुन्छ, उहिलेका भानुभक्तजस्तै ।”

सुरक्षाकर्मीहरूले म भानुभक्ततिर फर्किएर मूक मुद्रामा सुस्तरी टाउका हल्लाउँदै मलाई अभिवादन गरे । राम्रै भयो, भण्डारी बाजेको प्रत्युत्पन्न मतिको प्रभावले म जुनियर भानुभक्त भएँ, र अब म सुरक्षाकर्मीहरूका आँखा र कानको गुरुत्वाकर्षण केन्द्र बनेँ ।

“हामीलाई त ल कुरै नबुझी ल्यायो भनूँ । सरजस्ता कविलाई यसरी पक्राउ गरेर ल्याउनु यो हाम्रो देशकै बेइज्जती हो ।” भण्डारीजीले सुरक्षाकर्मीहरूलाई एक डोज ज्ञान पिलाइदिनुभयो ।

“यसो अखबार हेर्न पाइँदैन, असई साहेप ?” मौन भङ्ग भई एकाध वचनको आदान–प्रदानपछि म जुनियर भानुभक्तले मेरा कमान्डररूपी पाठकलाई विनीत भावमा सोधेँ ।

“आदेश छैन, सर ।”

“सरकारी गोरखापत्रसम्म हेर्न त पाइएला कि ?”

“त्यसलाई पनि माथिकै आदेश चाहिन्छ, सर ।”

माथिको गोरखापत्र पढ्नसमेत माथिको आदेश चाहिने कुरा सुनेर मलाई लाग्यो— खुला सडक र टुँडिखेलसम्म आइपुगेको बहुदल नारकीय बन्दी खोरहरूभित्र आइपुग्न अझै लामो दूरी बाँकी रहेछ ।

“पिसाप फेर्न पनि माथिको आदेश चाहिने हो कि, असई साहेप ?” विनोदी लवजमा मैले निवेदन गरेँ ।

“एई ... सरलाई पिसाप गरा’र ल्याओ ।” जुनिएर भानुभक्तका पाठक कमान्डरले आफ्ना जवान केटाहरूलाई कमान गरे । एउटा लाठेधारी जवान भानुभक्तको अघि लाग्यो र अर्को राइफलधारी जवान भानुभक्तको पछि लाग्यो । भानुभक्त बाजेलाई तेर्सो पारेर सोझ्याइएको राइफलले आफ्नो पिठ्युँमा स्पर्श गर्न–गर्न लागेको चीसो अनुभूति भयो ।

“एई ... सरलाई पिसाप गरा’र ल्याओ ।” जुनिएर भानुभक्तका पाठक कमान्डरले आफ्ना जवान केटाहरूलाई कमान गरे । एउटा लाठेधारी जवान भानुभक्तको अघि लाग्यो र अर्को राइफलधारी जवान भानुभक्तको पछि लाग्यो । भानुभक्त बाजेलाई तेर्सो पारेर सोझ्याइएको राइफलले आफ्नो पिठ्युँमा स्पर्श गर्न–गर्न लागेको चीसो अनुभूति भयो । दङ्गा प्रहरी परिसरको वरिपरि पर्खालको विशाल बार लगाइएको छ । हरेक पन्ध–बीस फिटको दूरीमा जन्ड स्वभावका दङ्गा प्रहरीहरू देखिन्छन् । ठाउँ एकदम एकलास छ । सुरक्षाकर्मीहरूले कृपा गरेर भाग्ने अवसर दिए पनि बन्दी भाग्न सक्ने गौँडो कतै छैन । तैपनि पचपन्न किलोको निःशस्त्र ज्यान भएका जुनियर भानुभक्त बाजेका अगाडि लाठो हिँडिरहेछ, पछाडि सिस ताकिएको राइफल विषालु सर्पझैँ हावामा घस्रिरहेछ ।

विचार र नैतिकताको शक्ति कति ठूलो ! एकसाथ असहज, गौरव र त्रासको अनुभूति गर्दै  भानुभक्तले गम खाए । विचारको शक्तिसँग राज्य त्यसरी आतङ्कित भएको देख्दा भानुजीलाई लाग्यो— अगाडिको लाठो र पछाडिको राइफल सत्ताको सुर्‍याइँका होइन, कायरताका प्रतिक हुन् ।

बङ्करअगाडि जवानहरूले परेड खेल्ने र क्रीडा गर्ने विशाल मैदान छ । चर्पी छ मैदानको पल्लो छेउमा । भानुभक्त चर्पीभित्र पसे, जवानहरू ढोकाबाहिर उभिए । साना भानुभक्त सु गर्दै के थिए बाहिर विद्वेषयुक्त वचनहरूको पर्रा छुटेको उनले सुने, “हान्दे सालेलाई गोली, मार्नुपर्ने सालेलाई किन हगाउँछस् ?”

“मार्दे, मार्दे । टन्टै खलास हुन्छ ।”


कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।