केन्द्रीय संस्करण
देवकोटा जयन्ती

देवकोटाले हरि श्रेष्ठसँग बिष किन मागे ?

person explore access_timeकात्तिक २९, २०७७ chat_bubble_outline0

महाकवि लक्ष्मीप्रसाद देवकोटाको हरि श्रेष्ठसँग २००७ सालदेखि नै घनिष्ठ सम्बन्ध गाँसिएको थियो । देवकोटाप्रति श्रेष्ठको भावना देवकोटाको रचनाले मात्र होइन, देवकोटाको उदार दृष्टिकोण, व्यापक हृदय र मानवीय गुणका तत्वहरूले जहिले पनि झुकिरह्यो । देवकोटा पनि श्रेष्ठको जाँगर, समर्पण र निष्ठाबाट प्रेरित थिए । त्यसैले उनीहरू एकअर्कामा घनिष्ठ थिए । त्यति मात्र होइन, देवकोटाका भाइ मधुसूदन र श्रेष्ठको मित्रताका कारण पनि उनीहरूको मन झनै खुलेको थियो । 

महाकवि देवकोटाले एक दिन हरि श्रेष्ठलाई भनेका थिए, “चितवनमा लेखकहरूको बस्ती बसाउने मेरो इच्छा छ ।” तर देवकोटा त्यस काममा हारेका थिए । किनभने त्यति बेलाका सम्बन्धित हाकिम कृष्णबम मल्लले भनेका थिए, “यहाँ त कलमभन्दा कोदालीको बढ्ता आवश्यकता छ ।” श्रेष्ठका अनुसार देवकोटा एकलै जीवन बाँच्नुको साटो सारा स्रष्टालाई पनि एकत्रित गर्न चाहन्थे । वसुधैव कुटुम्बकम्का हिमाइती देवकोटा जुनसुकै स्रष्टा भनेपछि पनि मरिमेट्थे । 

महाकवि देवकोटाका घरमा हरि श्रेष्ठ गएका बेला उनी प्रायः चिन्तित नै रहेका देखिन्थे । त्यति बेलाको उनको निराशा पनि घरको आर्थिक अवस्था, छोराछोरीको पढाइ र हुर्काइ अनि आफ्नी श्रीमतीको व्यवहारपद्धतिमै केन्द्रित देखिन्थ्यो । त्यसैले उनी प्रायः आफ्नै दुनियाँमा हराउँथे । आफ्ना अन्तिम दिनतिर उनले पशुपतिको धर्मशालामा पुगेका बेला हरि श्रेष्ठलाई भनेका थिए, “मृत्युपछि के हुँदो रहेछ, त्यसको अनुसन्धान गरी सपनामा भए पनि म बताउन आउनेछु ।” यही कुरा देवकोटाले आफ्ना भाइहरूलाई पनि त्यसै बेला भनेका थिए । वास्तवमा त्यतिखेर देवकोटाको चित्तले विद्रोह गर्न थालिसकेको थियो । 
हरि श्रेष्ठलाई महाकवि देवकोटा मन खोल्थे । खास गरेर उनी मृत्युशैयामा सुतेपछि उनले अनेक क्षण हरि श्रेष्ठलाई सम्झेका हुन्थे । अनि त्यसै बेला अर्थात् २०१६ सालको भदौ ४ गते देवकोटाले हरि श्रेष्ठलाई एउटा चिठी पनि लेखेका थिए—
हरि श्रेष्ठज्यू,        
मेरो अगाडि मृत्युको भयङ्कर रूप खडा भइसकेको छ ।  अहिले कृत्रिम शरीर धारण गर्दै छु । आकाशका तारामण्डल छुन खोज्छु, सक्तिनँ । मैले आफूलाई शान्ति दिन सकिनँ । म उठ्न सके आफैँ पनि आत्महत्या गर्ने थिएँ । म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्नँ । अरूले मलाई बुद्धिजीवी भने तापनि म आफ्नो निमित्त मूर्ख भएँ, अन्धो भएँ । म त्यो ज्योतितिर ढल्कन खोज्छु, तर अन्धकारले मलाई बोलाइरहन्छ । म यो असह्य वेदना खप्न सक्तिनँ । पोटासियम साइनाइड कसैले दिए म उसलाई आफ्नो जीवनको सच्चा साथी सम्झने थिएँ । म अपराधी हुँ, त्यसैले म अपराध मेट्न चाहन्छु । म बिलीन हुन चाहन्छु, मरुभूमिमा एक जलकण झैँ । अब कसैले मलाई नचिनून् ।
एक साथी
लक्ष्मीप्रसाद देवकोटा

हरि श्रेष्ठ

महाकवि देवकोटाको चिठी पाएपछि हरि श्रेष्ठ ललितपुरस्थित शान्तभवन अस्पताल पुगे । त्यति बेला देवकोटाको मुख नै हाडैहाडले ओगटेको देखिन्थ्यो । त्यति बेला देवकोटाले उनलाई भेट्नेबित्तिकै भनेका थिए, “श्रेष्ठजी ! तपाईंको घरनजिकै अस्पताल भएको कुरा सुनेको छु, डाक्टरहरूसँग तपाईंको हेलमेल राम्रै होला । मलाई कतैबाट विष ल्याइदिए म तपाईंलाई जीवनको सच्चा साथी सम्झने थिएँ र तपाईंको यो सहयोग म सदा सम्झिरहने नै छु पनि ।” देवकोटाको शब्द सुनेर श्रेष्ठ त्यहीँ डाँको छोडेर रोएका थिए । त्यसपछि त्यहाँ अरुहरु पनि रुन थालेका थिए । 

महाकवि देवकोटालाई आर्यघाटको धर्मशालामा लगेको हरि श्रेष्ठले राति नौ बजे सुनेका थिए । त्यो समयमा श्रेष्ठ रेडियो नेपालमा कार्यरत थिए । अनि श्रेष्ठ हिँडेर सिंहदरबारबाट आर्यघाट पुगे । त्यति बेला देवकोटाले हरि श्रेष्ठसँग स्पष्ट बोल्न नसकी बरबराएका शब्दहरू श्रेष्ठले आफ्नो डायरीमा लेखेका थिए, “आकाशका झिलमिल तारामण्डल छुन खोज्छु, सक्तिनँ । अन्धकारले मलाई बोलाइरहन्छ । कसैले मेरो शरीरको छाला लुछ्न लागिरहेको छ, मेरो छाला च्यातिरहेको छ ।” पछिल्ला दिनमा श्रेष्ठले त्यो डायरी नरेन्द्रराज प्रसाईलाई दिएका थिए ।

देवकोटाले शान्तभवन अस्पतालको अन्तिम कालमा पनि कविता नै लेखे । त्यस बेला उनले नेपाली भाषामा लेखेको एउटा कविता आफ्नै हातले हरि श्रेष्ठलाई दिएका थिए । नेपाली भाषामा लेखिएको त्यो कविता नै उनको लेखनयात्राको अन्तिम रचना पनि थियो—
रहेछ संसार निशासमान
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखीर श्रीकृष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विवेक ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय साथी हरि श्रेष्ठले देवकोटाका विषयमा तीन वटा मूल्यमान कृति लेखे । तर देवकोटाबारे लेख्न उनलाई अझै धीत मरेको थिएन । त्यसैले उनले पनि अरुहरुले झैँ नरेन्द्रराज प्रसाईलाई देवकोटाका विषयमा लेख्न धेरैभन्दा धेरे सामग्री जुटाई दिएका थिए । अनि देवकोटाका छायाका रुपमा प्रसिद्धि कमाएका पण्डित श्यामदास वैष्णव, देवकोटाका सहायक कञ्चन पुडासैनी र हरि श्रेष्ठले 'देवकोटाको जीवनशैली' उकास्न धेरै मद्धत गरेका थिए । अनि अन्तिममा हरि श्रेष्ठले त्यसैबारे एउटा टिप्पणी लेखेका थिए । श्रेष्ठको जीवनकालकै अन्तिम औपचारिक हस्ताक्षर पनि यही नै थियो—
 

“महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारे मैले तीनवटा कृति लेखें । देवकोटाका विषयमा लेख्नुपर्ने धेरै कुरा थिए, तर ती कुरा लेख्न मेरो हिम्मत र तपस्या पुगेको थिएन । नरेन्द्रराज प्रसाईले महाकवि देवकोटाका प्रायःजसो सबै  कथा लेखेर देवकोटाको एउटा धर्ती नै बोकेजस्तो लाग्यो मलाई । प्रसाईको देवकोटाको जीवनशैली मैले जति पढें ती शब्दहरूमा देवकोटाबारे मेरो मनको अन्तरकुन्तर बोलिरहेको मैले पाएँ । यति धारिलो र प्रस्ट रूपमा यस ग्रन्थलाई देख्ता महाकवि देवकोटाका जीवनकालमा देवकोटासँगसँगै हिंडिरहेको अनुभूति मलाई भएको छ । प्रसाईको यो ग्रन्थ साहसको एउटा पराकाष्ठा पनि हो । त्यसैले यो कृति नेपाली भाषासाहित्यको एउटा अविस्मरणीय ग्रन्थका रूपमा स्थापित हुनेछ भन्ने मलाई लागेको छ ।”
• हरि श्रेष्ठ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.