बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘बसपार्क स्थापना गर्न नसक्ने सरकारले कसरी चलाउँछ गाडी ?’

शनिबार, २९ कात्तिक २०७७, १३ : ५९
शनिबार, २९ कात्तिक २०७७

जनकपुर । प्रदेश २ सरकारले साढे ३ करोड रुपैयाँ लागतमा ५ वटा बस खरिद गरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले खरिद गरेका ५ वटा बस प्रदेश २ मा आएलगत्तै प्रदेशका जनता खुसी भएपनि यातायात व्यवसायीले भने असन्तोष प्रकट गरेका छन् ।

सरकारले नै बस सञ्चालन गर्ने भएपछि आफ्नो व्यवसाय धरापमा पर्ने हो कि भन्ने चिन्ता व्यवसायीहरुमा देखिएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामलाई व्यवस्थित गर्न ध्यान दिनुपर्ने सरकारले बस खरिद गरेर के गर्न खोजिरहेको भन्दै व्यवसायीहरुले सरकारलाई प्रश्न गरेका छन् ।

माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज कुमार चौधरी सस्तो लोकप्रियता कमाउन  र कमिसन बटुल्नका लागि मात्रै प्रदेश सरकारले बस खरिद गरेकोे आरोप लगाउँछन् । ‘कोभिड-१९ को महामारीमा व्यवसायीहरु समेत संकटबाट गुज्रिरहेको अवस्थामा प्रदेश सरकारले झन् पीडा थप्ने काम गरेको छ’, अध्यक्ष चौधरी भन्छ्न, ‘बस किनेर प्रदेश सरकार काम  देखाउन र दाम असुल्न लागिपरेको छ ।’

उनले प्रदेशमा निजी स्तरबाट सञ्चालन भइरहेका बसहरुलाई व्यवस्थित गर्न नसकेको भन्दै प्रदेशमा एउटा राम्रो बसपार्क बनाउन नसक्ने सरकारले बस किनेर कसरी गुँडाउने होला भन्दै प्रश्न गरे ।

‘जनता तिरेको करको दुरुपयोग गरि कमिसन खानैका लागि हतारमा बस किनेको हो नत्रभने बस खरिद गर्नुपूर्व यातायात क्षेत्रको गतिविधि, बस पार्कको अनुगमन र यसलाई व्यवस्थित पार्ने योजनासहित नीजि क्षेत्रसँगको सहकार्य गरेको भए बस किन्नुको अर्थ रहन्थ्यो’, चौधरीको भनाइ छ । 

व्यवसायीहरुले विगतमा नेपाल सरकारले काठमाडौँमा ट्रली र साझा यातायातका नाममा कर्मचारी भर्ना र कमिसन खाने काम भएजस्तै प्रदेश सरकारको पनि त्यस्तै नियत रहेको आरोप लगाएका छन् ।
प्रा.डा सुरेन्द्र लाभ यातायात व्यवसायका क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याउँछन् ।

उनले प्रदेश सरकारले सीमित बस किनेर आम जनतालाई फाइदा नहुने भन्दै बरु त्यो पैसाले कलकारखाना स्थापना गरे प्रदेशवासीले रोजगारी पाउने बताउँछन् । 

‘महामारीको समयमा यातायात व्यवसायीका समस्या बुझेर भाडादर पनि न्यून गराएको भए आमजनतालाइ पनि राहत हुनेथ्यो, तर केही बस खरिद गरेर सरकारले परफरमेन्स ठिक देखाएन’, लाभको भनाइ छ । 
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रहेका नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साह भने प्रदेश सरकारको कदमलाई सकारात्मक ठान्छन्  । 
‘प्रदेश सरकारले जनताप्रति उत्तरदायी भएर बस संचालनमा ल्याउनु सकारात्मक छ’साहको भनाइ छ ।

उनले सरकारले बस चलाउने कुरा कमिसन र कार्यकर्ता भर्ति केन्द्रसँग जोडिन नहुने भन्दै  विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । ‘विगतबाट पाठ सिक्दै बस सेवा दीर्घकालिन रुपमा संचालन  गर्न तथा व्यवस्थित, पारदशी र स्पष्ट नीतिको टड्कारो आवश्यकता रहेको छ’ साहको भनाइ छ ।

सचिवलाई नै थाहा छैन बस किनेको कुरा 
भौतिक विकास पूर्वाधार मन्त्रालयका सचिव रामआधार साहले भने बस खरिदबारे आपफूलाई थाहा नै नभएको प्रतिक्रिया दिए । रातोपाटीसँग सचिव साहले भने, ‘प्रदेश सरकारले बस किनेकोबारे मलाई जानकारी छैन ।’

तर ५ वटा बस किनेर २ वटा जनकपुरदेखि वीरगंज, २ वटा जनकपुर देखि राजविराज तथा एउटा राजविराज देखि वीरगंजसम्म सञ्चालन गर्ने तयारी गरेको भौतिक विकास पूर्वाधार मन्त्रालयका ईन्जिनीयर विनोद यादवको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप