बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुखमा मास्क, निधारमा सप्तरंगी टीका : २२ तस्बिरमा हेर्नुहोस् रानीपोखरीको भाइटीका

सोमबार, ०१ मङ्सिर २०७७, ११ : ५७
सोमबार, ०१ मङ्सिर २०७७

०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त बन्यो राजधानीको रानीपोखरीस्थित बालगोपाललेश्वर मन्दिर । सोही भूकम्पका कारण पुनर्निर्माण हुन समय लाग्दा खुल्न नसकेको मन्दिर यस वर्षको तिहारको भाइटीकाको दिन भने खुलेको छ । तर यस वर्ष बालगोपालेश्वरको दृश्य फरक देखियो ।

 कोरोना महामारीका कारण टीका लगाइदिने र लगाइमाग्नेहरु प्राय: सबै मास्कमा देखिन्थे । कोरोना महामारीका बीच पनि आफ्ना दाजुभाइ नहुनेले त्यहाँ आइपुगेकालाई दाजुभाइ मानेर टीका लगाइदिए त आफ्ना दिदीबहिनी नहुनेले पनि त्यसैगरी टीका लगाए । 

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबीचमा रहेको बालगोपालेश्वर मन्दिर ५ वर्षपछि आज खुला गरिएको हो । दिदीबहिनी नहुनेहरुले टीका लगाउने चलन रहेको बालगोपालेश्वर मन्दिरभित्रको मूर्तिलाई पुनर्निर्माणको अवधिमा छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो ।

 लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरु खुसी देखिन्थे । पुनर्निर्माण अघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरुको भनाइ छ ।

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको  छ । भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयमसेवक समेत परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछ ।

महानगरपालिकाले भीडभाड कम गर्न टीका नलगाउनेहरुलाई अहिले नआउन पनि आग्रह गरेको छ । अवलोकनका लागि छ्टिटै खुला गरिने महानगरपालिकाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप