शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसविरुद्धको युद्धः मोडेर्नाको खोपले जगाएको आशा

किन मोडेर्नाको खोप फाइजरभन्दा व्यवहारिक छ ?
मङ्गलबार, ०२ मङ्सिर २०७७, ०८ : १०
मङ्गलबार, ०२ मङ्सिर २०७७

मोडेर्ना कम्पनीले निर्माण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप भाइरसविरुद्ध ९४.५ प्रतिशत प्रभावकारी पाइएको कम्पनीले दाबी गरेको छ । भाइरसविरुद्ध यति धेरै प्रभावकारी देखिएको यो दोस्रो अमेरिकी खोप हो । गत हप्ता मात्र अर्को अमेरिकी कम्पनी फाइजरले आफ्नो प्रारम्भिक तथ्याङ्कमा आफूले निर्माण गरिरहेको खोप भाइरसविरुद्ध ९० प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी गरेको थियो ।

सुरक्षा र प्रभावकारिताको मामिलामा दुवै खोप समान देखिएका छन् । यद्यपि, व्यवहारिकरुपमा फाइजरको खोपभन्दा मोडेर्नाको खोप अघि देखिएको छ । फाइजरले निर्माण गरिरहेको खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । अमेरिकामा नै पनि अन्य कुनै खोपलाई यति धेरै चिसो तापक्रममा राख्नुपर्दैन । त्यही भएर धेरै स्थानमा यति धेरै चिसो बनाउने फ्रिजरहरु उपलब्ध छैनन् ।

उता, मोडेर्नाको खोपलाई भने माइनस २० डिग्री तापक्रममा राखे पुग्छ । चिकनपक्सलगायत यसअघि निर्माण भएका अन्य खोपलाई पनि यति नै तापक्रममा राख्ने गरिन्छ । ‘यसको अर्थ मोडेर्नाको खोपलाई पहिले नै उपलब्ध फ्रिजरमा राख्न सकिन्छ जुन धेरै स्थानमा उपलब्ध छ,’ मोडेर्नाका प्रमुख स्वास्थ्य अधिकारी डा. टाल ज्याक्स भन्छन्, ‘हाम्रो खोपका लागि आवश्यक पूर्वाधार यसअघि नै बजारमा उपलब्ध रहेका छन् ।’

त्यस्तै, मोडेर्नाको खोप फ्रिजरमा ३० दिनसम्म राख्न सकिने कम्पनीले सोमबार जनाएको छ । उता, फाइजरको खोप भने फ्रिजरमा मात्र ५ दिनसम्म मात्र राख्न सकिने बताइएको थियो ।

ऐतिहासिक दिन

अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिसका सचिव एलेक्स अजरले मोडेर्नाको खोपको परीक्षणको प्रशंसा गरेका छन् । ‘अमेरिकामा भाइरस प्रवेश गरेको १० महिनाभित्र अमेरिकी जनताका लागि ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएका दुई खोप उपलब्ध छन् । यो ऐतिहासिक दिन हो,’ गुड मोर्निङ अमेरिका कार्यक्रममा उनले भने ।

मोडेर्ना र फाइजरका खोपहरुको उत्पादन सुरु भइसकेको छ । डिसेम्बर महिनाको अन्त्यसम्ममा अमेरिकाका अति जोखिममा रहेका २ करोड जनताका लागि यो खोप उपलब्ध हुने बताइएको छ । ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को निर्देशिका अनुसार खोपको वितरण गरिनेछ,’ कसले पहिला खोप पाउने छन् भन्ने प्रश्नमा उनले भने ।

९४.५ प्रतिशत प्रभावकारी

अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले सोमबार आफूले निर्माण गरिरहेको खोप कोरोनाभाइरसविरुद्ध ९४.५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । परीक्षणको प्रारम्भिक तथ्याङ्कमा यस्तो देखिएको कम्पनीले बताएको थियो । गत हप्तामात्र अर्को अमेरिकी कम्पनी फाइजरले आफूले निर्माण गरिरहेको खोप कोरोनाभाइरसविरुद्ध ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो । ‘९४.५ प्रतिशत प्रभावकारिता भनेको अद्भूत हो,’ अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले मोडेर्नाको घोषणा पछि भने ।

कम्पनीका अनुसार प्रारम्भिक तथ्याङ्कमा खोपले मानिसलाई कोभिड–१९ को मध्यमदेखि गम्भीर प्रभावबाट बचाउने देखिएको छ । मोडेर्नाको परीक्षणमा १५ हजार जनालाई सलाइनको माध्यमबाट प्लासेबो दिइएको थियो । केही महिनापछि यसमध्ये ९० जनामा कोभिड–१९ देखियो । उता, अन्य १५ हजारलाई आफूले निर्माण गरेको खोप दिइएको थियो जसमध्ये ५ जनामा मात्र कोभिड–१९ को संक्रमण देखिएको थियो । प्लसेबो दिइएका ११ जना कोभिडबाट गम्भीर बिरामी भएका थिए भने खोप दिइएका कोही पनि गम्भीर बिरामी भएनन् ।

कम्पनीले खोपको गम्भीर साइडइफेक्ट पनि नरहेको जनाएको छ । खोप दिइएका थोरै मानिसमा केही समय टाउको दुख्ने र जिउ दुख्ने समस्या देखिएको कम्पनीको भनाइ छ । खोपको सुरक्षाबारे थप तथ्याङ्क संकलन गरेर यो महिनाको अन्त्यसम्ममा कम्पनीले प्राधिकारका लागि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनमा आवेदन दिने योजना बनाएको छ । फाउचीले डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसविरुद्धको पहिलो खोप उपलब्ध हुने बताएका छन् ।

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप