केन्द्रीय संस्करण

व ह्यांगु रङ

person explore access_timeमंसिर ४, २०७७ chat_bubble_outline0

 

 


आँशु हो कि एक जिन्दगी
खै के तप्किरहेछ
तप्प ! तप्प ! हाकुपटाशीको वैँसालु फेरीबाट ?
पीडाका यी उदास मुर्छनाहरू
आखिरी किन सुन्दैनन्
विश्वविद्यालयका अल्लारे ल्याम्हहरू ?
समयबझीजस्तै चिरीहरू
अब कहिलेसम्म,
कालो इतिहास निदाइरहन्छन्
अर्कैका बैगुनी सपनाहरूको खास्टो ओढेर  ?

°°°°°
कानमा फूल सिउरिएर
वियोगले तड्पिएका संतप्त बाजेहरू
किन एकोहोरो सुनिरहन्छन्
वृध्दा तमाजस्तै धीमेका उध्र्वगामी धुनहरू ?
उमेरको डिलमा उभिएर
आफूजस्तै निरक्षर यो भोटोसँग
शास्त्रीय मिथकका निशब्द पात्रहरूझैँ
किन मौन संबाद गरिरहन्छन् - मन्दिरका टुँडालहरू ?
र जुनेली रात सम्झेर
किन घुँक्कघुँक्क रोइरहन्छ
चर्खाको छेउमा बसेर - एउटा बुढो भादगाउँले टोपी ?

°°°°°
तलेजु मन्दिरको गजुरमाथिबाट
वषौँवर्ष पहिले,
लुमन्ती ल्यासीको मुस्कानजस्तै
एउटा बक्राकार पुञ्ज
के उदाएथ्यो - यो निम्बस फुलेको आकाशमा ?
र मक्किएको जुवका सोइलाजस्तै
जिर्ण औँलाहरूले देखाउँदै
“व ह्यांगु रङ झिगु हे खः बाऊचा” भनि
किन भने होलान् बजेले
अष्टनाराँको मष्तिस्कले ठम्याउनै सकेनथ्यो !

°°°°°
शंखधरको शालिक अगाडि उभिएर
आज पनि ऊ
एउटा अनुत्तरित प्रश्न निरन्तर तेर्साइरहेछ !
उसले देखेको त्यो गुराँसे रङ
भन न राजमती !
अष्टनाराँ नेवाको थियो कि थिएन ?
यदि थियो भने,
प्राण भन्दा प्यारो भनि रटाइएको
यो देशको मानचित्रभित्र
ऊ किन भेटाउँदैन
इन्द्रेणीजस्तै जीवनको त्यो ह्यांगु रङ ?

°°°°°
आफ्नै मतानका सुनगाभा कुल्चिएर
अर्कैका कोठेबारी छिर्नेहरू
के यो माटोको सुगन्ध बुझ्न सक्छौ र ?
आफ्नै जूनको उज्यालो मारेर
कालीमा ओढ्नेहरू
के पहिचानको लालीत्य महशुस गर्न सक्छौ र ?
ओ शासकहरू हो !
सदियौँदेखि,
एकल रङमात्र पोतेर
जतिसुकै इन्द्रेणीको भ्रमदृष्टि छरे पनि
कालिमाले खर्लप्पै निलेर
अँध्यारिएको आकाशमा इन्द्रेणी कहाँ देखिन्छ र ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.