शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बीबीसी मास्टर सेफको क्वाटर फाइनलमा पुगे नेपाली सेफ सन्तोष

बिहीबार, ०४ मङ्सिर २०७७, ०८ : ३४
बिहीबार, ०४ मङ्सिर २०७७

लन्डन । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा नेपाली खाना लिएर गएका नेपाली सेफ सन्तोष शाह क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

 १८ नोभेम्बर  बुधबार साँझ बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को पहिलो चरणको प्रतिस्पर्धामा आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोषले आफ्नो अघिल्लो चरणको यात्रा पक्का गरेका हुन् ।
 तीन करोड नेपालीको प्रतिनिधित्व गरेका सेफ सन्तोषको यो प्रदर्शन नेपाली खानाको इतिहासमा नै पहिलो र अविस्मरणीय क्षणको रुपमा रहनेछ ।

 यही नोभेम्बर १० तारिखबाट बीबीसीबाट शुरु भएको उक्त प्रतियोगीतामा पहिलो राउन्डमा जजले दिएको परिकार तयार गरेका थिए भने दोस्रो राउण्डमा आफ्नो तर्फबाट विभिन्न नेपाली परिकार तयार पारेका थिए । उनले पोलेको माछा, आलुको अचार, करेला र  टमाटरको चट्नी तथा ढुम्री भित्र आलुको अचार राखेर तयार पारिएको नेपाली खाना जजहरुलाई खुवाएका थिए । 

पहिलोपटक नेपाली खानालाई विश्वसामू प्रशंसा गर्दै स्टार सेफ मोनिकाले करेलाको चट्नीलाई एउटै चट्नीभित्र पाँच प्रकारको स्वाद भएको बताउँदै ‘स्टार चट्नी’ को उपनाम दिएकी थिइन् । यति ठूलो प्रतियोगितामा नेपाली खान लिएर सहभागी हुने सन्तोष सम्भवत: पहिलो नेपाली सेफ हुन् । 

उक्त प्रतियोगितामा नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य छ । इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् सन्तोष  ।

 नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनी अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पुर्याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो । 

सन् २०१९ सम्मको तथ्यांक अनुसार बेलायतमा हाल १७५ जना मिसिलिन स्टार, १५९ जना वान मिसिलिन स्टार, २३ जना टु मिसिलिन स्टार र ५ जना थ्री मिसिलिन स्टार सेफ छन् ।

पहिलो नेपाली मिसिलिन स्टार बन्ने सन्तोषको सपना पूरा होला वा नहोला तर नेपाली खाना विश्वभर परिचित भएको छ । 

हस्पिटालिटी क्षेत्रमा संलग्न नेपालीहरुको लागि सन्तोषको यो कदम अझ प्रभावकारी बन्ने विशुवास लिइएको छ । अब चाडै नै उनी क्वार्टर फाइनलको प्रतिस्पर्धामा अन्य स्वादिष्ट र आकर्षक नेपाली खानाका साथमा देखा पर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप