बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबीच छठका लागि पोखरीहरु श्रृंगारियो (तस्बिरहरु)

बिहीबार, ०४ मङ्सिर २०७७, १३ : ३६
बिहीबार, ०४ मङ्सिर २०७७

जनकपुर । मिथिलाञ्चलको लोक आस्थाको पर्व छठको दोस्रो दिन आज, खरना विधि । छठ पर्व गरेका व्रतालुहरुले बिहीबार बेलुका इष्टदेवलाइ पूजा अराधना गरी खरना विधि सम्पन्न गर्ने छन् ।

खरना विधिमा माटोको नयाँ चुल्हो र माटोको नयाँ भाँडोमा मिठा, दूध र चामलको खीर पकाइन्छ । खरनामा नैवेद्य चढाउने बेलामा अर्घदान अनुसार त्यही स्थानमा केराको पातमाथि नैवेद्य चढाइने परम्परा रहेको छ ।

यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपवासना गर्ने गरिन्छ ।  यो महापर्वको पहिलो दिन स्नान गरी चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुनेछ ।

मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने यो पर्वका लागि जनकपुर लगायत तराई मधेशको विभिन्न स्थानमा भव्य तयारी भइरहेको छ । यसका लागि पोखरीका डीलहरुसरसफाई गरिएको छ ।

कोरोना कहरका बीच जनकपुरधाम उपमहानगरका मुख्य पोखरी र घाटहरूलाई श्रृंगारेर पूजाको तयारी हुँदैछ । जनकपुर नगरभित्रका पोखरी सरसफाइदेखि पूजास्थल निर्माण अन्तिम चरणमा रहेको छ ।

पोखरी नै पोखरीको शहरको रुपमा चिनिएको जनकपुरधामका प्रमुख पोखरीमा छठ पूजाकै  लागि टेन्ट र पण्डाल लगाइएको छ । शुक्रबार हुने छठ पर्वका लागि जनकरपुरधाममा कोरोना संक्रमणको भय कायमै रहेपनि सावधानी अपनाएरै पूजापाठ गर्ने व्यवस्था मिलाइएको बताइएको छ । 


जिल्ला प्रशासन कार्यालय धनुषाले पोखरी तथा जलासयमा छठ पर्व नमनाउन भनेपनि स्थानीय श्रद्धालु भक्तजनले प्रशासनलाई बेवास्ता गर्दै विभिन्न पोखरीमा छठ पर्वको लागि पोखरीहरु श्रृंगारिएको छ ।
कोरोना संक्रमणको त्रास रहेपनि सावधानी अपनाएर यस पटक गंगासागरमा पूजा आयोजन हुने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए ।


जनकपुरधामको गंगासागर पोखरी र अंगराजसर सागर पोखरीमा छठ पर्वको प्रमुख आकर्षण रहने गरेको छ । यहाँ छठ पर्व गर्न आउनेहरुको भीड पनि बढी हुन्छ । यस पोखरीमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंग युवा कमिटी र अंगराजसर सागर पोखरीमा जानकी यूवा क्लब र मिथिला समाज सेवाले छठ पूजाका लागि व्यस्थापन गर्दै आएको छ ।

गंगासागर पोखरीमा छठ पर्व मनाउन आउनेहरुको परिवारका एक सदस्य र साथमा छठका लागि अन्य दुई जनालाई मात्र प्रवेशको व्यवस्था मिलाइएको गंगासागर छठ पूजा समितिका संयोजक सोनु निधिले बताए ।

जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराजसर सागर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाइरहेका छन् । धनुष सागरमा गणेश युवा कमिटी र राम युवा कमिटी, अंगराज सरमा मिथिला सेवा समाज र जानकी युवा कमिटीले छठ पूजा व्यवस्थापन गरिरहेका छन् ।

स्थानीय प्रशासनले छठ पूजा गर्दा सावधानी अपनाएर, सामाजिक दूरी कायम गरेर पोखरी र पानीमा प्रवेश नगरी पर्व मनाउन विज्ञप्ति नै जारी गरेको छ । तर यसको प्रभाव नदेखिएको सहजै देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप