बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कोरोना संक्रमित घर बाहिर निस्किए, उपत्यकामा कम्तिमा २१ दिन कडा लकडाउन गरौँ ’

उपत्यका नगरपालिका फोरमका प्रवक्ता मदनसुन्दर श्रेष्ठ (भिडियो)
शुक्रबार, ०५ मङ्सिर २०७७, १४ : ५३
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् । उनीहरुले उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । छठपछि निषेधाज्ञा गर्नेबारे सरकार सकारात्मक रहेको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवम् उपत्यका नगरपालिका फोरमका प्रवक्ता मदनसुन्दर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘सरकारसँग अस्ति हामीले गम्भीर रुपमा छलफल गरेका छौँ । उपत्यकामा लकडाउन गर्ने कुरामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत सकारात्मक नै हुनुहुन्छ । पहिले गरेको लकडाउन उपलब्धीमूलक भएन, जनतालाई थुन्ने जस्तो मात्र भयो । जनतालाई घरभित्र थुन्ने मात्र हैन कि अब नाकाहरु पनि सिल गरेर लकडाउन गर्नुपर्छ । टोल टोलमा समुदायस्तरमा गएर कन्ट्रयाक ट्रेसिङ गर्दै संक्रमितलाई आइसोलेसनमा राख्दै जानुपर्छ । त्यसका लागि १४ देखि २१ दिन लाग्छ, त्यति समयभित्र उपत्यकाबाट कोरोना मुक्त गर्ने भन्ने हाम्रो प्रस्ताव छ ।’

मेयर श्रेष्ठले अहिले काठमाडौँ उपत्यकामा ५० प्रतिशतभन्दा बढी संक्रमित रहेकोले  एकपटक लकडाउन गरेर घनीभूत रुपमा कोरोनासंक्रमण फैलिन रोक्न नाकाहरुमा कडाइ गर्दै विस्तारै खोल्दै जानुपर्ने बताए ।

उनले भने–‘अहिले यूरोपतिर पनि लकडाउन सुरु भएको छ । बेला–बेला लकडाउन गर्ने र खोल्ने कामलाई साइकलको चक्रको रुपमा अगाडि बढाउनुपर्छ । हामीले भनेको लकडाउन पहिला जस्तो महिनौ गर्ने भनेको हैनौँ । यो १४ दिनदेखि २१ दिनसम्मको हुन्छ । कोरोना संक्रमित पत्ता लगाएर १४ दिनसम्म आइसोलेनमा राखेपछि कोरोना फैलन त पाउदैन । परीक्षण गर्नका लागि १ हप्ता लगाउने र २१ दिनभित्रमा सम्भावित संक्रमित सबैको परीक्षण गर्ने भन्ने हाम्रो प्रस्ताव हो । त्यसपछि बिस्तारै यातायात खुकुलो बनाउदै जानुपर्छ ।’

अहिले उपत्यकामा रहेको संक्रमित मध्ये ९० प्रतिशत घरमा रहेका र १० प्रतिशत मात्र आइसोलेसन सेन्टरमा रहेको उनले बताए । घरमा बसेका संक्रमितहरु बजार, अफिस जाने गरेको समेत गुनासो आएकोले संक्रमण फैलिने भयावह खतरा रहेकोले फेरि एकपटक लकडाउन गर्न उपत्यकाका मेयरहरु एकमत रहेको उनले बताए ।

उनले भने–‘अहिले कोरोनाको बारेमा उपत्यकामा धेरै लापरवाही भयो त्यसले गर्दा जोखिम धेरै बढ्यो । अहिले शंका लाग्यो भने परीक्षणका लागि स्वाव दिएर आउने त्यसपछि अफिस जाने, बाहिरतिर घुमघाम गर्ने चलन बढेको छ । २४ देखि ४८ घण्टाभित्र रिपोर्ट पोजिटिभ आँउदा धेरैलाई सारिसकेको अवस्था छ ।’

बिहीबारको पछिल्लो आंकडा अनुसार देशभर कूल संक्रिय संक्रमित २८ हजार १ सय ६ जना रहेकोमा काठमाडौं उपत्यकामा मात्रै १५ हजार ६ सय ७४ रहेका छन् ।

मेयरहरुको विचार गैरजिम्मेवार जस्तो लाग्यो : जनस्वास्थ्यविद् दीक्षित

काठमाडौं उपत्यकामा रहेका नगरप्रमुखहरुले फेरि एकपटक लकडाउन गर्नुपर्छ भन्ने बिचारमा आफू सहमत नभएको जनस्वास्थ्यविद् डा. समीरमणी दीक्षितले बताए । उनले मेयरहरुले अघि सारेको सुझाव तथ्यहीन रहेको बताए ।

उनले भने, ‘उहाँहरुले तथ्याङ्क हेर्नुभएको छ कि छैन थाहा छैन । अहिले त्यस्तो अनियन्त्रित ढंगले कतैपनि बढेको छैन् । संक्रमण नियन्त्रणबाहिर गएको छ कि छैन त्यो पनि हेर्नुपर्ने हुन्छ । घरमा संक्रमित भएकाहरु बाहिर निस्कनै नहुने भन्ने पनि हुँदैन । संक्रमित मान्छेले घरभित्रै थुनेर राखेपछि झन् समस्या हुन्छ । घरपरिवारमा पनि संक्रमण फैलिने जोखिम हुन्छ ।’

अहिले घर घरमा कोरोना संक्रमित रहेका बेला घरभित्रकै एकअर्कालाई संक्रमण सार्ने अवस्था रहेको र संक्रमितलाई घरभित्र मात्रै थुन्ने हो भने घरका बृद्धबृद्धामा संक्रमण फैलाउने जोखिम पनि हुने उनले बताए ।

उनले उपत्यकामा लकडाउन गरिहाल्नुपर्ने अवस्था अहिले नरहेको बताए । डा. दीक्षितले भने–‘संसारभर विकल्पको अन्तिम अवस्थामा मात्र लकडाउन गर्ने चलन छ तर हाम्रोमा त्यस्तो अवस्था छँदै छैन । मलाई मेयरहरुको बिचार गैरजिम्मेवार जस्तो लाग्यो । उहाँहरुले बिज्ञको सुझाव नलिइकन राजनीतिक आधारमा हो कि किन हो यस्तो भनिरहनुभएको छ । अहिलेसम्म काठमाडौंमा त्यस्तो अनियन्त्रित अवस्था भइसहेको छैन् ।’ अब फेरि लकडाउन गर्ने हो भने भयावह अवस्था आउने उनको भनाई छ ।

उपत्यकाका नगरप्रमुखहरुले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीसँग उपत्यकामा लकडाउनको प्रस्ताव गरेपनि हालसम्म सिसिएमसीले यसबारे कुनै निर्णय गरेको छैन । सिसिएमसीले निर्णय गरेर मन्त्रीपरिषद्मा प्रस्ताव पेस हुनेगर्छ । त्यसपछि मन्त्रीपरिषदले उचित ठानेर निर्णय गर्ने पद्धति रहेको छ । उपत्यकामा लकडाउन गर्नेबारे सरकारी निकायबाट हालसम्म कुनै निर्णय भएको छैन ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप