शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘वरिष्ठ उपाध्यक्षमा मिलाउन एकपटक अन्तिम प्रयास गर्छु’

महासङ्घमा पनि राजनीति हुन्छ तर निर्वाचन पछि बन्द हुनुपर्छ : भवानी राणासँगको अन्तरवार्ता
शुक्रबार, ०५ मङ्सिर २०७७, १७ : १८
शुक्रबार, ०५ मङ्सिर २०७७

नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मीको पारो तातिरहेको छ । यहि मंसिर ११ देखि १३ गते सम्म हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । विधान अनुसार महासङ्घको वरिष्ठ उपाध्यक्षस्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही अनुरुप महासङ्घले अध्यक्षमा शेखर गोल्छा पाउँदैछ । आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । जसमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किसोर प्रधानको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारले निर्वाचनका तयारी आ आफ्नै ढंगले गरिरहेका छन् । मतदाता रिझाएर मत आफ्नो हातमा पार्ने कसरतमा दुबै छन् । यद्यपि सर्वसम्त बनाउँने प्रयास अन्तिम समयसम्म भइरहने  महासङ्घकी अध्यक्ष भवानी राणाले बताउँदै आएकी छन् ।

कोभिडले व्यवसायीक क्षेत्रमा असरलाई सामाना गर्न  सरकारसँग समन्वय गरेर अगाडी बढ्न सक्ने व्यक्ति र समूह नै महासङ्घको नेतृत्वमा आउनुपर्ने अध्यक्ष राणाको भनाइ छ  । यस्तै महासङ्घ भित्रको राजनीति र गुटलाई अन्त्य गर्ने गरी कम्तिमा पनि वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको आधारमा उम्मेदवारी दिने कुरामा आफुले छलफल अगाडी बढाएको उनी भन्दै आएकी छन् ।  महासङ्घको महाधिवेसन र चुनावको विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालले अध्यक्ष राणासँग गरेको कुराकानीको अंश :

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष रुपमा आफ्नो कार्यकालकोअन्तिम समयमा हुनुहुन्छ, आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?

कोभिडका कारण मेरो कार्यकाल केही लम्बियो । हामीले यस कायृकालमा थुप्रै नयाँ योजनाहरु, नयाँ कार्यक्रमहरु ग¥यौं । महासङ्घलाई राष्ट्रिय तहमा र अन्तर्राष्ट्रिय तहमा बलियो बनाउन धेरै किसिमका प्रयासहरु भएका छन् ।  देश विदेशका भ्रमण पनि यो पालि वर्ष मै दुई÷तीनपटक सम्म भएको छ । जस्तै प्रधानमन्त्रीसँग, राष्ट्रपतिसँग बाहिर गएर हामीले अन्तरक्रिया गर्ने मौका पायौं । भारत, चीन, युरोपमा गएर पनि नेपालमा व्यवसाय गर्नको लागि राम्रो वातावरण छ भनेर जानकारी गराउने मौका पनि पायौं ।मेरो कार्यकालमा  निरन्तर हुने कार्यहरु , नीतिगतसुझाव दिने काम र व्यवसाय गर्ने वातावरण विभिन्न खालका पहल गरेर अगाडी बढ्यौ । मेरो कार्यकालमा नेपाल प्रादेशिक रुपमा अर्थात संघियतामा गएकोले हामीले सातवटै प्रदेशका सरकारसँगपनि समन्वय गर्नुपर्छ भनेर सातवटा प्रदेशको मुख्यमन्त्रीसँग सम्झौता ग¥यौं । उद्योग वाणिज्य महासङ्घको पनि सात वटै प्रदेशमा शाखा कार्यालय खोल्यौं । महासङ्घको प्रदेश शाखा मार्फत त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउनको लागि विभिन्न निकायसँग समन्वय गरी अगाडी बढ्यौ ।

महासङ्घले गर्नैपर्ने तर गर्न नसकेका केही काम बाँकी छन् ?

उद्योग वाणिज्य महासङ्घमा नेतृत्व लिएपछि कुनैपनि काम सिद्धिदैन । ती निरन्तर अगाडी बढ्ने काम हुन  । व्यवसायिक हक हितको लागि, व्यवसाय गर्ने वातावरण बनाउनको लागि, स्वदेशी लगानीलाई कसरी विस्तार गर्ने, वैदेशिक लगानी कसरी भित्र्याउने भन्ने कुरा निरन्तर रुपमा हुने काम हो । अवको नेतृत्वले पनि त्यो गर्नुहुन्छ । नेपाल सरकारबाट लगानी सम्मेलनको पनि आयोजना भएको थियो जहाँ महासङ्घ आवद्ध थियो । नेपाल सरकारको यस्ता थुप्रै किसिमका कार्यक्रम विभिन्न मन्त्रालयसँग जस्तै उद्योग वाणिज्य मन्त्रालय, श्रम मन्त्रालयसँग मिलेर सामाजिक सुरक्षाका कुरा यसैपटक अगाडी बढ्यो र नयाँ ढंगले सरकारले गरेको कार्यमा महासङ्घले पनि हातेमाले गरेर अगाडी बढ्यो । सँगसँगै थुप्रै नीति जुन परिमार्जन गर्नुपर्ने थियो लगानीको वातावरण बनाउनको लागि त्यो कुरामा पनि हामीले नेपाल सरकारलाई सुझाव दियौं । अहिले अन्तिममा आउँदाखेरी कोभिडले गर्दा विश्वलाई नै शिथिल पारेको र नेपाल सानो अर्थतन्त्र भएकोले हामीमा थुप्रै चुनौति पनि छन् । खासगरी मौद्रिक नीतिमा हामीले तीनवटा कुरा उठाएका थियौं । ब्याजदर घटाउनुपर्ने, पुनरतलिकिकरण गर्नुपर्ने, रिफाइनान्स गर्नुपर्ने । ती भएका छन् । तर अझ पर्याप्त छैन । अझ यसलाई निरन्तरता दिनुपर्छ र त्यसका लागि अव आउने नेतृत्वले पहल गर्नुहुन्छ । म पनि निवर्तमान अध्यक्षको हिसाबले महासङ्घमा हुन्छु र सहयोग गर्छु ।

कोभिड–१९ को कारणले विश्वभरको अर्थतन्त्रमा असर परेको छ । अर्थतन्त्रको पुनर्उत्थानका लागि निजी क्षेत्र र सरकारले के गर्नुपर्ला ?

निजी क्षेत्रले गर्नुपर्ने काममा केभिड शुुरु हुने वित्तीकै सरकारसँग सहकार्य गरेर हामीले काम गरिरहेका थियौं र यस्तो बेलामा आपूर्ति सहज गर्नको लागि जिल्ला जिल्लाका उद्योग वाणिज्य संघलाई क्रियाशिल बनाएर उपभोक्तालाई आपूर्ति सहज होस भनेर खाद्यान्न, अति आवश्यक वस्तु र त्यसमा अति अप्ठेरो अवस्थामा पनि निजी क्षेत्रले सहयोग गरेको र आफ्नो उद्योगलाई निरन्तरता दिन नाफा भन्दापनि उद्योग धन्दा बन्द नहोस त्यहाँ रोजगारी नगुमोस भन्ने कुरामा ध्यान केन्द्रीत छ । त्यसकारण त्यसको लागि निजी क्षेत्र मात्र होइन सरकारले पनि सहयोग गर्नुपर्छ ।

यसमा अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना बनाएर काम गर्न सकिदैन ?

अल्पकालका लागि हामीले मौद्रिक नीति मार्फत गयौं । त्यो पुग्दैन । किनभने अहिले पनि कोभिडको असर निरन्तर भइरहेको छ । अहिले बन्द खुलेको छ तरपनि जति सहज रुपमा उद्योग चल्न सकेको छैन ।  यस्तो अवस्थामा अल्पकालिन, मध्यमकालिन र दिर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्छ र लगानी विस्तार गर्नुपर्छ । ठूला ठूला आयोजना जुन जलविद्युत उर्जा क्षेत्रको कुरा अगाडि बढेको छ, राष्ट्रिय स्तरका ठूला आयोजनाहरु छन त्यसलाई छिट्टै सिध्याउने हिसाबमा नेपाल सरकार पनि जानुपर्ने हुन्छ । अहिले बजारमा पूँजीको कमी छ त्यसले गर्दा नेपाल सरकारबाट गर्नुपर्ने खर्चलाई पनि समयमा गर्न सक्यो भने बजारमा पूँजीको अभाव हुँदैन । सबैभन्दा ठूलो समस्या भनेको उधारो नै उठिरहेको छैन् । त्यसले गर्दा उद्योग व्यवसायलाई एकदमै अप्ठेरो परेको अवस्था छ । सरकारले मौद्रिक नीतिमार्फत गर्नुपर्ने पुनरकर्जामा सानामझौला व्यवसायलाई राम्रो नीति लिएर आएको छ तर कार्यान्वयन पक्षमा कताकता अझपनि राम्रोसँग हुन नसकेको अवस्था छ । अहिलेका गभर्नरले ल्याउनु भएको नीतिलाई हामीले स्वागत पनि गरेका छौं । त्यसलाई अझ दिर्घकालिन योजना बनाउनुपर्ने समय आएको छ । सरकारले बाहिरबाट लगानी भित्र्याउनुपर्ने छ  । त्यस्ता कुरामा  ध्यान दिनुपर्छ जस्तो लाग्छ र निजी क्षेत्रले गर्नुपर्ने सहयोग त सरकारलाई गरिनै रहेको छ ।

अहिले हुन लागेको उद्योग वाणिज्य महासङ्घको चुनावलाई कसरी हेर्नुहुन्छ ?

म महासङ्घमा आवद्ध भएको झण्डै १५ वर्ष भइसक्यो । पहिला पहिला अध्यक्षकै निर्वाचन हुन्थ्यो । म पनि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भएर नै अध्यक्षमा पुगे । पछिल्लो समयमा महासङ्घमा धेरै राजनीति भयो त्यसकारण अध्यक्ष भन्दापनि वरिष्ठ उपाध्यक्षको निर्वाचन गरौं र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भइसकेपछि अलिकति राजनीति कम हुन्छ र काम गर्न सकिन्छ भन्ने हो । किनभने उद्योग वाणिज्य महासङ्घ भनेको सरकार पछिको ठूलो सञ्जाल भएको संस्था हो । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि छ । वरिष्ठ भएर आइसकेपछि उसले भोली अध्यक्ष बन्छु भनेर महासङ्घको संस्थागत रुपमा गर्नुपर्ने काम देखि लिएर सरकारसँग गर्नुपर्ने काम सहज ढंगबाट गरोस । उ राजनीतिमा नमिसियोस र भोली आउने दिनमा फेरी निर्वाचन हुँदा राजनीतिको कारण वरिष्ठ भइसकेको व्यक्ति निर्वाचित नहुन सक्छ अर्को यसलाई कतिले राम्रो भने कतिले निर्वाचन अध्यक्षकै हुनुपर्छ अझ राजनीति भयो पनि भने । मलाई लाग्छ यो साधारणसभाले वा जिल्ला, वस्तुगत, र एसोसिएट्सका सदस्यले जे चाहनुहुन्छ त्यही हुन्छ । विधान भन्ने कुरा त समय अनुसार र सदस्यको सुझाव अनुसार परिवर्तन भइराख्ने कुरा हो ।

संस्थाको अभिभावकिय भूमिकामा हुनुहुन्छ । निर्वाचन आफैमा पनि प्रजातन्त्रिक प्रक्रिया हो । चुनावको समय छ । दुवै उम्मेद्वार आर्शिवाद लिन आउनुभएको होला । के आर्शिवाद दिनुभएको छ ?

निर्वाचन आफैमा प्रजातन्त्रिक प्रक्रिया हो र हुनुपनि पर्छ । किनभने प्रतिस्पर्धामा गएर अगाडि बढ्यो भने राम्रो पनि हुन्छ र कतिपय समयमा मेलमिलाप गरेर पनि अगाडी बढ्नुपर्छ । जस्तै उद्योग वाणिज्य महासङ्घको इतिहासमा पनि थुप्रै अध्यक्ष हुनुहुन्छ जसलाई एकपछि अर्को गरेर मिलाएर लगेका छौं । उद्योग वाणिज्य महासङ्घमा पुग्दाखेरी हामीपनि आफ्नो समयलाई योगदान गरेर, आफ्नो हरेक आर्थिक गतिविधि र समाजिक काम छाडेर उद्योग वाणिज्य महासङ्घलाई शत प्रतिशत समय दिएको हुन्छौं । त्यही भनेर नै यहाँ नेतृत्व आएका हुन्छन् । अहिलेपनि निर्वाचन प्रजातान्त्रिक ढंगबाट हुनुपर्छ भन्दाभन्दैपनि मिल्ने पक्षमा जानुपर्छ भन्ने कुरामा म  व्यक्तिगत रुपमा सोच्छु । किनभने अहिले कोभिडको बेला पनि छ । अहिले एक अर्कालाई निर्वाचन गरेर हिंडनु भन्दापनि मेलमिलाप गरेर अगाडी बढ्यो भने ठिक हुन्छ । दुईवटा पक्ष जुन हुनुहुन्छ एउटा वरिष्ठ उपाध्यक्षमा उठनु भएको किशोर प्रधान हुनुहुन्छ जो लामो समयदेखि महासङ्घमा बस्नुभएको छ । उहाँको पनि अनुभव छ । उहाँ उद्योग वाणिज्य महासङ्घलाई चाहिने व्यक्ति पनि हो । अर्कोतर्फ चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । उहाँपनि महासङ्घलाई चाहिने व्यक्ति हो । त्यसकारण दुवै जनालाई मिलाएर एकपछि अर्को गर्न सक्यो भने उहाँहरुको लागि पनि र महासङ्घको लागि पनि एउटा असल उद्यमी जसले उद्योग व्यवसायको लागि लडन सक्छ, उद्योग व्यवसायलाई अझ अगाडी बढाउन सक्छ र नेपाल सरकारसँग समन्वय गरेर काम गर्न सक्छ , त्यस्तो व्यक्ति चाहिन्छ । होइनभने महासङ्घलाई अगाडी बढाउने शक्ति गुमाउँछ । दुवै जनालाई मिलाएर सहमतिको वातावरण बनाएर अगाडी बढ्न सक्यो भने राम्रो हुन्छ ।

तपाई अध्यक्षको रुपमा के कस्तो पहल गर्नुहुन्छ ?

अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासङ्घमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासङ्घले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अव निर्वाचनको समय पनि आयो । तिहार सिद्धिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।

दुवै उम्मेदवारको सवल पक्षहरु के-के देख्नुभएको छ ?

दुवै जनाको पक्ष हेर्दाखेरी दुवैको आ–आफ्नो किसिमको सक्षमता छ । एकजना लामो समयसम्म उद्योग वाणिज्य महासङ्घमा बस्नुभएको र जिल्ला नगरमा दुईपटक उपाध्यक्षको पदमा कार्य गरिसक्नुभएको छ । उहाँको अनुभव र मेरो कार्यकालमा पनि दुईपटक उपाध्यक्ष भएर कार्यपनि गर्नुभयो । चन्द्रप्रसाद ढकालमा पनि आफ्नै किसिमको महत्व छ । उहाँलेपनि मेरो कार्यकालमा उपाध्यक्षको रुपमा एसोसिएट तर्फबाट रोजगारदाता परिषद्को सभापति भएर काम गर्नुभएको छ । त्यसकारण उहाँहरुको आफ्नै किसिमको क्षमता, आफ्नै किसिमको योग्यता र आफ्नै किसिमको इमान्दारिता छ । र, दुवै जनाले महासङ्घको नेतृत्वमा पुगेर म गर्छु भनेर आफ्नो आफ्नो धारणा लेखिसक्नु भएको छ । नेतृत्वमा पुगेपछि गर्ने भनेको महासङ्घको हकहितको लागि हो, व्यवसायीको हक हितको लागि हो र सरकारसँग सहकार्य गरेर देश विकासको लागि आर्थिक विकासको लागि काम गर्ने हो । दुवै जनालाई सहमति गरेर अगाडि बढ्नको लागि मेरो प्रयास रहनेछ ।

हामीले बुझ्दा दुवै उम्मेदवारले यहाँबाट बराबरी सुभेक्षा पाएका छन् ?

मैले उहाँ दुवै जनालाई शुभकामना दिएको छु । दुवै जनालाई अहिलेसम्मपनि एक पछि अर्को गरेर मिल्नको लागि आउनुस भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासङ्घको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरी एकचोटी अन्तिम प्रयास रहनेछ ।

आशावादी रहने ठाउँ कत्तिको छ ?

मलाई लाग्छ अन्तिम सम्मपनि किन हामी निराश हुने । आशावादी हुने ठाउँ अझपनि छन् । एकपटक बसेर कुरा गर्नुपर्छ ।

सामाजिक सञ्जाल र मिडियामा पनि तपाईमाथि केही प्रश्न उठाइएका छन् । उम्मेदवारी घोषणा गर्दा तपाई एक उम्मेदवारको कार्यक्रममा गइदिनुभयो । नगइदिएको भए अझै राम्रो हुन्यो की ?

दुवै जनाको घोषणा सभामा म गएको छैन । उहाँहरुलाई मिलाउने प्रयासमा म अहिलेपनि लागिरहेको छु । मेरो काम गर्दा खेरीको अनुभव किसोर प्रधानजीसँग र चन्द्र ढकालजी सँगपनि कुरा गरें र ढकालजी पनि महासङ्घमा चाहिने व्यक्ति हो । त्यसले गर्दाखेरी नेतृत्वको रुपमा मिलाउनको लागि मैले सहमतिको प्रयास गरिरहेकै छु ।

एकातर्फ कोभिडले देशको आर्थिक क्षेत्रमा क्षति पु-याएको अवस्था छ भने अर्को तर्फ महासङ्घमा राजनीति हुँदा काम गर्न झनै गाह्रो भएको होला । के भन्नुहुन्छ ?

कुनैपनि संघसंस्थामा राजनीति त हुन्छ नै । अव उद्योग वाणिज्य महासङ्घ भनेको एउटा इतिहास बोकेको संघ हो । महासङ्घमा जिल्लानगरका, वस्तुगतका र एसोसिएटका सदस्यहरु हुनुहुन्छ । त्यसैले त्यहाँभित्र केही न केही राजनीति हुन्छ तरपनि निर्वाचन पश्चात यो गुटवन्दी बन्द गर्नुपर्छ र म महासङ्घमा हुँदाखेरी देखि नै एउटा नेतृत्वको रुपमा, उपाध्यक्षको रुपमा अगाडी बढेदेखि नै मिलाएर लैजानुपर्छ भन्ने मेरो प्रयास सधै भइरहेको छ । त्यसकारणले अव आउने नेतृत्वहरुले पनि यसलाई अगाडी बढाउनुहुन्छ भन्नेमा विश्वास राख्छु । अवश्य नै कोभिडले गर्दाखेरी आउने दिनहरु चुनौतिपूर्ण नै छ । त्यसकारणले सबैलाई मिलाएर सबैलाई साथ लिएर नै अगाडी बढ्नुपर्छ । किनभने म नेतृत्वमा बस्दा मैले गर्दा मात्रै कार्य सफल भएको भन्दिन मेरो टिमले गर्दाखेरी भएको हो । मेरो वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, मेरा केन्द्रीय साथिहरुले आ–आफ्नो क्षेत्रमा सभापति भएर काम गर्नुभयो, उपाध्यक्षहरुले आ–आफ्नो भूमिका निभाउनुभयो ।  कार्यकाललाई सफल बनाउनको लागि उहाँहरुले सहयोग गर्नुभएको छ । त्यसकारण टिमवर्कमा नै म विश्वास गर्छु । अव आउने नेतृत्वले पनि टिमलाई नै सँगै लिएर अगाडी बढ्नुहुन्छ होला ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रति जो आवद्ध भएर लाग्नु भएको छ उहाँहरुलाई साधारण सभाको विषयमा केही आव्हान गर्न चाहनुहुन्छ ?

अवश्य नै अहिले पनि हरेक उपाध्यक्षहरु देखि लिएर सदस्यहरु, पूर्व अध्यक्षहरु पनि लागिराख्नु भएको छ  । सकेसम्म एउटा दुईवटा पदमा सहमति हुन सक्यो भने खासगरी वरिष्ठ पदमा हुन सक्यो भने राम्रो हुन्छ। आफ्नो आफ्नो तहबाट थुप्रै प्रयास भइरहेको छ । कतिले निर्वाचन नै हुनुपर्छ भन्नेपनि चाहेको होलान र कतिले प्रयासपनि गरिरहेका छन । अव हुने साधारणसभा पछिको नयाँ नेतृत्वमा गुटवन्दी हुनहुन्न भन्ने छ । मलाई लाग्छ मेरो कार्यकालमा पनि खासै गुटवन्दी थिएन । हामी काममा केन्द्रीत भएर अगाडी बढेका थियौं । निर्वाचन पश्चात जसले नेतृत्व लिनुहुन्छ उहाँले टिमलाई मिलाएर अगाडी बढ्नुपर्छ भन्ने मेरो धारणा छ र बढ्नुहुन्छ भन्नेपनि विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप