केन्द्रीय संस्करण

धुलोमा भेटिएको कोहिनुर अर्थात् डाक्टर विष्णुमाया परियार

person explore access_timeमंसिर ६, २०७७ chat_bubble_outline0

ढुङ्गाको काप फोरेर उम्रने पिपल झैँ लाग्छ डाक्टर विष्णुमाया परियारको जीवनी । परम्परागत भाषामा भन्ने हो भने ‘हिलोकी कमल’ उपमा दिँदा फरक पर्दैन । यद्यपि विष्णु जुन परिवेश र पारिवारिक अवस्थाबाट गुज्रिइन्, त्यो समुदाय आफैमा हिलो वा धुलो होइन तर राज्यको नीतिको कारण हिलो–धुलोमा उपेक्षित सीमान्तकृत समुदाय हो । त्यही हिलो–धुलोमा भेटिएकी चम्किली र अमुल्य हिरा हुन् विष्णुमाया ।

सीमान्तकृत दलित समुदाय जो हजारौँ वर्षदेखि मान्छे जस्तो हुन नपाएर पीडा र प्रताडनामा बाँचे, आज पर्यन्त दलित समुदाय उपल्लो जात भनिनेहरुको घरभित्र पस्न, बस्न पाउँदैन । पानी चल्दैन । अछुत जात, तल्लोस्तरको रुपमा समाजमा परिभाषित र परिचित छ । सामाजिक, आर्थिक र राजनीतिक र सांस्कृतिक रुपले पनि पछि पारिएको वर्ग र समुदाय, जुन वर्गसँग सिप, साधना, श्रम र कला छ तर मान्छे हुनुको हैसियत आजसम्म प्राप्त छैन । सबैथोक छ तर आत्मसम्मान र सामाजिक हैसियत छैन । धेरै दलित समुदाय एकधुर जग्गा नभएका सुकुम्बासी छन्, जग्गा हुनेको पनि नाममात्रको जग्गा रुखोपाखो मात्रै छ । भरपेट खान र एक धर्को कपडाले आङ ढाक्न धेरैलाई हम्मे हम्मे छ । तसर्थ पढ्ने, लेख्ने अवसर उनीहरुका लागि दुर्लभ कुरा हो । स्थायी रोजगारी र अवसर अपवाद हो । कुकुर घरभित्र पस्छ, बिरालो सिरानीमा बस्छ तर दलितको लागि कथित उच्च जातको ढोका बन्द छ ।

उच्च जातसँग प्रेम गरेको, बिहे गरेको बहानामा समाजले मृत्युदण्ड दिन्छ । भावनात्मक प्रेमलाई बन्देज गर्छ । पानी छोएको निहुँमा दलित पिटिएका छन् । अपमानित गरिने, मोसो दलिने, गाउँ निकाला गरिने, मारिने घटनालाई सामान्य रुपमा लिनुपर्ने अवस्था छ । छुवाछुत मुक्त राष्ट्र घोषणा हुनु, २०६८ सालमा छुवाछुत अन्त्यको कानुन बन्नु केवल देखावटी भएका छन् किनकि त्यसपछिका १० वर्षमा करिब तीन दर्जन मान्छे जातको कारण मारिएका छन् । गत जेठ १० को रुकुम सोतीको आलो घटना जात व्यवस्थाले सिर्जित हमला र मृत्युको क्रुर उदाहरण हो । हाम्रो समाज अझै बर्बर जंगली युगमा छ, विवेकहीन मान्छेको अभ्यासमा छ समाज । मानव सभ्यतामा सधैँ दुख्ने घाउ र कहिल्यै निको नहुने पीडा बोकेर एक वर्ग र समुदाय बारम्बार र पटकपटक मरेको छ । मान्छे हुन नपाएको पीडा भोगेर सकसमा मर्दै बाँच्दै गरेको छ ।

त्यस्तै समुदाय र वर्गमा बाली घरे दमाईकी छोरीको रुपमा गोर्खाको ताक्लुंगमा विष्णुको जन्म संयोग जुर्छ । रुपबहादुर परियार र कनमाया परिवारको एघार सन्तानमध्ये विष्णुमाया एक हुन् । उसै त गरिबको झुपडी, त्यसमाथि दर्जन हाराहारी केटाकेटी भएको घरको दुरावस्था कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ । वर्षभरी बिस्टहरुका लुगा सिलाएर पनि कहिल्यै अघाउन्जेल खान नपुग्ने परिवार, त्यसमाथि १३ जना, कति भयानक भोक र अभाव थियो होला त्यो परिवारमा ?

आफ्नो बाल्यकाल विष्णुमाया यसरी सम्झन्छिन्, ‘बिस्टका लुगा सिलाउँदा उब्रेका अनेकथरी टालोबाट सग्लो कपडा बनाएर बाबाले रङ्गिन कपडा सिलाईदिनु हुन्थ्यो, हामी दङ्ग परेर लाउँथ्यौँ, हामीलाई हाम्रो विवसता थाहा थियो, त्यसैले दुःख लागेर पनि मान्दैनथ्यौँ ।’

भोक र अभावको कुरा गर्दा बा–आमाको अवमूल्यन हुने ठान्छिन् उनी । भन्छिन्, ‘उहाँहरुले भोको राख्नु भएन बस्, हामी जेनतेन दुःखमै बाँच्यौँ तर बा–आमाको पेट कहिल्यै भरिन्थ्यो जस्तो लागेन ।’
नियतिको चर्को घामपानीले उनीसँगै उनको परिवारलाई रुझायो, सेकायो, भिजायो । ‘हरेक कालो बादलभित्र चन्द्रमाको घेरा हुन्छ भने झैँ मेरा बालाई आफ्ना छोराछोरी पढाउनु पर्छ भन्ने दिव्य ज्ञान हुनु भ¥याङ भयो मेरा लागि,’ उनले भनिन्, ‘म आज जहाँ छु, जे गर्छु त्यसको लागि भ¥याङ बनाइदिने मेरो बाबा हो, मेरो प्रेरणा, आदर्श र भगवान् मेरा बा–आमा ।’

जीवन चक्रमा अरु कतिपय मान्छे र व्यक्तिहरु भगवान् बनेर आएको पनि उनी सम्झिन्छिन् । उनीहरुले पनि महत्वपूर्ण घडीमा सहयोगी हात र साथ दिएको उनको भनाइ छ । ‘म आज एक्लै छैन, मसँगसँगै सफलता र खुसी बाँड्ने संस्था पनि छ– एड्वान नेपाल । जसको माध्यमबाट मैले मेरो विगतजस्तै अप्ठ्यरो, आपत्–विपत् र गरिबीको चङ्गुलमा रहेका झन्डै २५ सय बालबालिकालाई स्कुलदेखि कलेज लेबलसम्मको पढाई गर्न मद्दत गर्न पाएकी छु,’ उनले भनिन् ।

भूकम्प पीडित गोर्खाका महानुभावहरुलाई झन्डै चार सय घर निर्माण गरी हस्तान्तरण गरिएको उनले सुनाइन् । ‘विभिन्न ६ जिल्लामा समूह बनाएर पुँजी निर्माण, सिप विकास र कृषि उद्यम मार्फत दलित महिला र सीमान्तकृत वर्गको लागि कार्यक्रम बनाएर अधिकार कर्तव्य, श्रम सिप र सामर्थ्य दिएकी छु,’ उनले भनिन् । सन् १९९८ मा स्थापित ‘एड्वान’ विष्णुमायाको सामाजिक कार्यको पवित्र थलो हो । पहिचान र अधिकार स्थापित गर्ने महिलाहरुको लागि आर्थिक, सामाजिक, राजनीतिक र चेतना अभिवृद्धि गर्ने आन्दोलन हो । मानवअधिकार, महिला बालबालिका र दलित पिछडिएका सीमान्तकृत, किनारमा पारिएका, पिँधमा रहेका वर्गको उत्थान, हक अधिकार र उन्नयन नै एड्वानको मूल धर्म हो ।

विष्णुमायाका अनुसार विभेदको रेखा मेट्न विभेदमा पारिएका र विभेद गर्ने बीच अन्तरघुलन र स्वाभाविक प्रक्रियाद्वारा समाजमा सहकार्य, सहधर्म र समायोजन गर्दै अघि जानुपर्छ अन्यथा दलितको लागिमात्रै र पीडितको लागिमात्रै भन्दा अर्को विभाजन र विभेद रहन्छ । आर्थिक रुपले विपन्न सबैलाई सहयोग, सद्भाव बाँड्ने र सबैलाई सहयात्री बनाउन सकियो भने समाजको बनोट अनुसारको न्याय हुन्छ भन्ने विष्णुमायाको दृष्टिबिन्दु छ ।
निषेध र प्रतिशोधले घृणा उत्पन्न गर्छ । घृणा विद्वेष र प्रतिशोध आम मानवका दुर्गुण र गरिबीजस्तै साझा शत्रु हुन् । साझा शत्रुसँग एक्लै होइन, साझेदारी गरेर लड़नुपर्छ । जात, धर्म, वर्ण, लिङ्ग र क्षेत्रका आधारमा विभेदरहित समाज निर्माण गर्नु, सबै तह र तप्कालाई सँगै लानु, विभेदमा पारिएकालाई प्राथमिकता दिनुमा नै सामाजिक निष्पक्ष न्यायको सिद्धान्त स्थापित हुन्छ भन्ने विश्वासमा काम भएको छ । सबैको अस्तित्व स्वीकार गर्नु, कसैको पनि अस्तित्वलाई बदला र घृणाको नजरभन्दा प्रेमको नजरले हेर्नुमा बुद्धत्वको आलोक पाइन्छ । सामाजिक अब्यवस्था विरुद्द लड्नै पर्छ, पढेपछि मात्रै केही हुन्छ भन्ने अन्तरप्रेरणाले विष्णुमाया पढाईमा तल्लीन रहिन् । नाङ्गै खुट्टा हिँडेर, दिनको चार घण्टा धाएर मनकामना स्कुलमा माध्यमिक लेबलको पढाई गर्न उनी आइन् । 

पिस्कर भोलिन्टियर जोन बुकरमानलाई भेटेपछि उनलाई कलेज लेबलसम्म सहयोग मिल्यो । त्यसैले पनि उनलाई सहयोगको महत्व र अवसरको मूल्य थाहा छ । विभिन्न डोनर एजेन्सीलाई आफ्नो कार्यक्रम र सहयोगबारे सहमत गराएर सहयोग संकलन गरि विष्णुमायाले नेपाल र अमेरिकामा बसेर सामाजिक सेवा महिला अधिकार, महिला हिंसा, लैंगिक हिंसा र विभेदका अनेक रुपका बिरुद्ध आफुलाई क्रियाशील राखेकी हुन् । 

एसएलसी उत्तीर्णपछि पिस्कर भोलेन्टिएयर जोन बुकरमानले उनलाई उच्च शिक्षाका लागि काठमाडौँ पढ्न छात्रवृत्ति मिलाइदिए । तर आफूलाई पठाएको रकम उनले आफ्नो हात पार्न सकिनन् । उनको पैसा कसैले पचाईदियो । त्यतिबेला विष्णुमाया हुनसम्मको आपतमा परिन् । उनलाई काठमाडौँमा पढ्न र बाँच्न मुस्किल भयो तर केही गर्ने दृढ अठोट र संकल्प भएकी विष्णुमायाले काम गरेरै पढ्ने र जीवन चलाउने निधो गरिन् ।

एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो र उनले केही समय भाँडा माझिन् । एउटा गार्मेन्टमा भात पकाउने काम पाइन्, त्यो पनि गरिन् र आफ्नो लागि खर्च जोहो गर्दै पढिन् । एक दिन आफूलाई सहयोग गर्ने बुकरमानलाई अमेरिकामा फोन गरिन् र आफ्नो कुरा राखिन् । त्यसपछि अर्का अमेरिकी प्यामरस मार्फत सहयोग प्राप्त गरिन् । राजधानीको पद्मकन्या क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण विष्णु भन्छिन्, ‘प्यामलाई भेट्नु मेरो जीवनको टर्निङ प्वाइन्ट हो । उहाँ काठमाडौं मै हुनुहुन्थ्यो, जो युनिभर्सिटी अफ कलेज प्रोजेक्टको डाइरेक्टर हुनुहुन्थ्यो । उहाँले छात्रवृत्ति पनि दिनुभयो र काम पनि दिनुभयो, रिसोर्स असिस्टेन्टको ।’

आफ्नै देशमा, आफ्नै समाजमा बाँच्न र केही गर्नका लागि संघर्ष गर्दै आएकी उनका लागि अमेरिकीहरु साथी, सहयोगी, समन्वयकारी र ‘गड फादर÷मदर’को रुपमा प्रकट भए । रिसोर्स असिस्टेन्टको रुपमा काम गर्दैगर्दा एकजना अमेरिकनसँग मित्रता भयो । उनै साथीकी आमा इभा कासेल विष्णुमायाका लागि साक्षात भगवान् बनेर आईन् । जसलाई विष्णुमाया ‘गड मदर’ का रुपमा पुकार्छिन् । छोरालाई भेट्न आएका बेला विष्णुमायालाई निकै मन पराएकी इभाले उनलाई अध्ययनका लागि अमेरिका लाने वातावरण निर्माण गरिदिइन्, जसले विष्णुमायाको भाग्यको दुर्लभ तर सुनौलो ढोका खुल्यो ।

१९९९ मा उनलाई अमेरिकी पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । त्यहाँ उनले टप गरिन् । कलेजमा ‘एक्सिलेन्ट पोलिटिकल साईन्स अवार्ड’ साथै कलेजले दिने ‘प्रेसिडेन्ट कप अवार्ड’लगायत चारवटा उत्कृष्ट अवार्ड जित्ने सौभाग्य जु¥यो उनलाई । पाइन म्यानर कलेजबाट २००४मा सोसल एण्ड पोलिटिकल सिस्टममा उनले ब्याचलर्स डिग्री गरिन् । अध्ययनपछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धी धेरै अनुभवहरु बटुल्ने र अमेरिकी समाजको घरेलु हिंसाको बारेमा थुप्रै कुराहरु सिक्ने मौका मिल्यो । यसपछि भने बिष्णुमायाको जीवनमा भौतिक दुःखका दिन विगतमा सीमित भए । उनको आगत फराकिलो र भव्य बन्यो । अहिले विष्णुमाया अमेरिकाको न्युजर्सी सिटीमा मेयरकी सल्लाहकार छिन् । उनले नेपालको इन्द्रावती गाउँपालिका र जर्सीसिटी बीच भगिनी सम्बन्ध स्थापित गरेकी छन् । न्युजर्सी सिटीमा नेपाली झन्डा सदाको लागि फहराउने श्रेय पनि विष्णुमायाको अविस्मरणीय पल हो । विष्णुमायाले झन्डै तीन दर्जनभन्दा बढी सम्मान, पुरस्कार र अवार्ड पाएकी छन् । 

डा. विष्णुमायालाई सन् २००६ मा संयुक्त राष्ट्रसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो, जुन अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै, उनलाई २००७ मा विश्व बैंकले ११ हजार डलरसहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनाले मात्र पाएका थिए । सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट उनलाई सम्मान गरेको थियो । यो पनि विश्वका ६ जनाले मात्रै पाएका थिए । अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर विष्णुमायालाई पाइन म्यानर कलेजले सन् २०१३ मा ‘अनररी डक्टरेड’ (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो । ‘ग्लोबल युथ लिडरशीप अवार्ड २०१९, त्यस्तै एक्सिलेन्ट इन पोल्टिकल साइन्सको उपाधि पनि मेरो खातामा आएको छ,’ उनले भनिन्, ‘हावर्ड यूनिभर्सिटीले ब्रिज बिल्डर अवार्डले विभूषित गरेको छ । अमेरिकन पूर्व रास्ट्रपतिहरुले पाउने प्रेसिडेन्ट कप अवार्डले समेत सम्मानित भएकी छु ।’

अमेरिकाको केंटोकी राज्यमा २७ सेप्टेम्बर, २०१५मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट गरियो । ४० भन्दा बढी मान, सम्मान, पदक र उपाधि उनले पाएकी छन् । ‘यी सारा उपलब्धि र सम्मान मेरा व्यक्तिगत होइनन्, आम नेपालीका हुन्,’ उनी भन्छिन्, ‘आम सर्वसाधारण जनताका हुन्, सीमान्तकृत दलित र पछाडि पारिएका निम्न वर्गका हुन् । प्रापक निमित्त कारकमात्रै म हुँ । मेरा सबै सम्मान पुरस्कार र पदकहरु नेपालका सम्पत्ति हुन् ।’
सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी डा विष्णुमाया परियार सशक्त दलित महिला नेपाल, बोस्टनको संस्थापक तथा गैर आवासीय नेपाली संघकी महिला सशक्तिकरण विभागकी सभापति पनि हुन् । उनलाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मानित गरेका छन् ।

अछुत हुँदाको कहिल्यै निको नहुने, सधैँ दुखिरहने घाउहरु छन् विष्णुमायासँग । ‘बाल्यकालदेखि नै मैले दलितहरुलाई गरेको अपमान, छुवाछुत र महिलामाथि गरेको हिंसा नजिकबाट नियालेँ । आफै भोगेँ पनि, हामी बच्चाहरुसँगै खेलेको बेलामा गैर दलितका बच्चाहरु हाम्रो घरभित्र आउन पाउने, हामी उनीहरुको घरभित्र जान नपाउने अवस्था थियो,’ उनले भनिन्, ‘साथीहरुसँग स्कुल जाँदा–आउँदा साथीहरुले सजिलै पानी खान पाउँथे, म पाउँदिनथेँ, भोक, प्यास र तिर्खाले दिनभर ग्रस्त भएर घर पुग्थेँ । पानी खान नपाउँदाको पीडाले आज पनि आँखा भिज्छन् । दलित हुनु कति अभिशाप रहेछ भनेर खेद लाग्छ ।’ यद्यपि आफूमा बदलाको भावना नरहेको उनले बताइन् । उनी भन्छिन्, ‘त्यो अज्ञान, अन्धविश्वास र राज्य संरचनाले गरेको विभेदको शिकार दलित बने अनि पीडकको संस्कार गैर दलितले पाए । राज्यले संस्थागत गरेको अन्धविश्वास र कुप्रथाको कारण गैरदलितको मानसिकता पीडक बन्यो, जुन बदल्नु जरुरी र अपरिहार्य छ । अन्यथा अमानव बनेर दलित र कुसंस्कारी बनेर गैरदलित बस्नु हुँदैन ।’

अनुहारमा असभ्यताको कालो पोतेर, गैरजिम्मेवार बनेर गैरदलितले सधैँ बस्न नमिल्ने उनको भनाइ छ । मानवअधिकार उलंघनकर्ता र अराजक बन्ने रहर अबको विवेकी मान्छेले गर्नु नहुने उनले बताइन् । उनले आफूजस्तै मान्छेलाई गैरमानव या अमानव ठान्ने युग अब समाप्त हुनुपर्नेमा जोड दिइन् । 

विष्णुमाया परियार अन्य समुदायको भए उनको ख्याति कति चुलिन्थ्यो होला ? देशले ‘विष्णुमाया डे’ घोषणा गर्थ्यो होला । उनलाई राष्ट्रले औपचारिक सम्मान, पुरस्कार, प्रोत्सान र प्रेरणा दिन्थ्यो होला तर हिलोधुलोबाट कोहिनुर बनेकी विष्णुमायालाई राज्यले दलित भएकै कारण प्राथमिकतामा नपारेको त होइन ? आफ्नो नागरिकको सफलताप्रति राज्यले गर्वबोध गरेन कि ? जातीय छुवाछुत र सामाजिक विभेद अन्त्यको लागि विष्णुमाया जस्ता अगुवा, अधिकारकर्मी र सामाजिक न्यायको लागि काम गर्नेहरुको नाममा ‘विष्णुमाया डे’ आवश्यक छैन र ? पिँढी र छिँडीमा बसेर सिँढी चढेकी विष्णुमायाको योगदान सिङ्गो दलित आन्दोलनका लागि, सामाजिक न्यायको क्षेत्रको लागि अद्वितीय छ । विगतमा अरुको सहारा, भरथेग र आश्रयमा पढेकी उनी आज धेरैको सहारा र टेको बनेकी छन् । अछुत भनेर प्यास लागेको बेला पानी खान नपाएकी विष्णुमाया अहिले पानी बाँड्छिन्, शिक्षाको उज्यालो पस्किन्छिन्, चेतनाको बिज छर्छिन् ।

देशविदेशमा समाजसेवीको पर्याय भनेर चिनिएकी छन् । कोविड–१९ को असरका बीच अमेरिकी समाज र त्यहाँ उनले गरेका कामको शृंखलाबद्ध सेवा विभिन्न सञ्चारमाध्यममा आएका छन् । विष्णुमायाको परिचय अप्ठ्यारोकी  साथी र अभिभावकको रुपमा छाएको छ । आफूले सन्तान नजन्माउने निधो गरेर पनि अनेकन सन्तान मानेर आफ्ना छोराछोरी भनेर दुई हजारभन्दा धेरै बालबालिकालाई संरक्षणको छाता ओढाएकी विष्णुमाया हावर्ड ,कालर्क, पाइन, म्यानर, बोस्टन लगायत अमेरिकी विश्वविद्यालयकी गेस्ट लेक्चरर बनेर ज्ञान बाँड्दैछिन् । विष्णुको अनुभव, ज्ञान र क्षमता नेपाल र नेपालीले कहिले भरपुर उपयोग गर्न पाउँछन् ? सरकार विष्णुलाई चिनौँ है ! डाक्टर विष्णु जिरो लेवलबाट उठेर जहाँ पुगिन्, जे गरिन्, त्यो कसैसँग पनि तुलनायोग्य छैन । डाक्टर विष्णुमायाको स्थान विशिष्ट छ । उनका दुःख प्रेरणाप्रद छन्, साहस र संघर्ष अनि समाजसेवा अनुकरणीय र बन्दनीय लाग्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.