शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोपीचन्द्र पार्की जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट

आइतबार, ०७ मङ्सिर २०७७, ०९ : ४५
आइतबार, ०७ मङ्सिर २०७७

सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् । 

पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जित्नुभएको थियो । पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरेका थिए ।

नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे । नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार, रु ३० हजार तथा रु १० हजार पुरस्कार प्राप्त गरेको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । 

कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । 

यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जित्नुभयो । तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरिन् । उनले रु ३० हजार पुरस्कार प्राप्त गरिन् । यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । रावत र घर्तीले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप