बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा एकपछि अर्को विवाद झाँगिदै, चितवन घटनाले के सङ्केत गर्छ ?

आइतबार, ०७ मङ्सिर २०७७, १३ : १८
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकपछि अर्को विवाद थपिँदै जान थालेका छन् भने गुट मौलाउने र समग्र पार्टी कमजोर बन्दै जाने शृङ्खलाबद्ध घटना सार्वजनिक भइरहेका छन् । यसको ज्वलन्त उदाहरण चितवनमा नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताको दुुर्व्यवहारलाई लिन सकिन्छ । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच आन्तरिक विवाद बढ्दै जाँदा त्यसको असर जिल्ला जिल्लामै पुगेर महिनैपिच्छे कर्णालीदेखि पर्सा हुँदै चितवनसम्म पुगेर छरपस्ट भएका छन् । 

पार्टीभित्र एक दर्जनभन्दा बढी समस्या थाती नै रहेको अवस्थामा शनिबार चितवनमा पार्टी कमिटी बैठकमा पूर्वमन्त्री तथा स्थायी समिति सदस्य पाण्डेमाथि भएको दुर्व्यवहारको घटनाले नेकपाभित्रको सिङ्गो चरित्रलाई प्रतिविम्बित गरेको छ । साथै विवाद मत्थर हुँ जानुको साटो झन झाँगिदै जाने र पार्टी एकता थप सङ्कटमा पर्ने सङ्केत पनि देखिएको छ । अर्कोतिर आगामी मङ्सिर १३ गते बस्ने सचिवालय बैठकमा यो विषयले प्रवेश पाउने र नेताहरु पक्ष विपक्षमा बाँडिने खतरा बढेको छ । 

जसले विवाद अरू चर्किने निश्चित भएकाले यसबारे नेताहरुले बेलैमा सोच्नुपर्ने कार्यकर्ता पङ्क्तिको बुझाइ छ । ‘यस्ता विवाद बेलैमा सम्बोधन गरिएन भने त्यसले ठूलो रूप लिनसक्छ, त्यसकारण यस्ता कुरामा नेतृत्वले बेलैमा ध्यान दिन जरुरी छ’, नेकपाका एक स्थायी समिति सदस्यको भनाइ छ । 

विभाजित मनोविज्ञान 
कर्णाली, पर्सा वा चितवन घटना हुनुमा नेकपाका नेता कार्यकर्ताको मनोविज्ञान नै विभाजित बन्नुलाई कारणका रूपमा हेरिएको छ । पार्र्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष साइलेन्स जस्तै देखिए पनि चितवनमा ओली पक्षकै योजनामा घटना भएको सार्वजनिक भइसकेको छ । जसलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र ओली निकटका गोकुल बाँस्कोटाहरुका प्रतिक्रियाले पनि पुष्टि गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन रहेपनि वरिष्ठ नेता माधव कुमार नेपाललगायतका शीर्ष नेताहरुले त घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न माग नै गरिसकेका छन् । यो मागमा ओली पक्षले कस्तो निर्णय गर्छ, त्यसकै आधारमा अन्य जिल्लाका नेता कार्यकर्ताको मनोभाव थप वृद्धि हुने र त्यसैअनुसार आगामी दिनमा उनीहरुका गतिविधि बढ्दै जाने पनि दखिएको छ ।


चितवन घटनालगत्तै नेताहरु नेपाल, खनाल र श्रेष्ठले विज्ञप्ति र सामाजिक सञ्जालमार्फत विरोध जनाइसकेका छन् । तर अर्का अध्यक्ष केपी शर्मा ओली पक्षले यो घटनालाई अझै पनि सामान्य रूपमा लिइरहेको अवस्था छ ।
 अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले उक्त घटनालाई गलत विचारविरुद्ध लड्न सही विचार पर्याप्त हुने र होहल्लाको कुनै अर्थ नभएको तर्क पेश गरेको छ । 

ओली पक्षका भनेर चिनिएका पूर्व मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले चितवन घटनालाई लिएर ‘हातहरुको सशस्त्रीकरणभन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ । गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन’ भनेका छन् । त्यस्तै ओलीका सल्लाहकार थापाले घटनालाई थप उत्तेजित पार्ने ढङ्गले पार्टी प्रवक्ताले दिएको प्रतिक्रियामाथि हमला गरेका छन् । 

बाँस्कोटा र थापाको यो प्रतिक्रियाले सुरेन्द्र पाण्डेले गलत विचार बोकेकाले प्रदर्शन भएकाले यसलाई विरोध भयो भनेर होहल्ला गर्नुको अर्थ नभएको भन्ने बुझिन्छ ।  चितवन यस्तो जिल्ला हो जहाँ गत स्थायी समिति बैठकले मदन भण्डारी फाउन्डेसनका गतिविधि रोक्ने गरेको निर्णय उल्लङ्घन गर्दै व्यापक सङ्गठन विस्तार भइरहेको छ । पाण्डेले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा सोही निर्णयको व्याख्या गरिरहेका थिए । 

अरू केके छन् विवाद ? 
नेकपाभित्र कर्णाली विद्रोह, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति र पर्साका मुकेश चौरसिया हत्या लगायतका घटनाको छिनोफानो हुन सकेको छैन । यसैबेला पाण्डेमाथिको दुव्र्यवहारको घटना थपिन पुगेर आगोमा घिउ थप्ने काम भएको छ ।

यसअघि नै एकपछि अर्को विवाद थपिँदै र चाङ लाग्दै गएको  नेकपामा पार्टी बैठकसमेत सहज रूपमा बस्न नसक्नुुका साथै बसिहाले पनि एक पक्षले अर्को पक्षलाई आरोपको वर्षा लगाउने क्रम जारी छ । ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा प्रचण्ड नेपाल पक्षका नेताहरु सहभागी कार्यक्रम विथोल्ने भित्री रणनीति बनाएका छन् । साथै उनीहरुले जनताको बहुदलीय जनवाद (जबज) का कार्यक्रमलाई विस्तार गर्दै अगाडि बढाउने निर्देशित रणनीति केन्द्रदेखि स्थानीय तहसम्मै अख्तियार गरेका छन् । तर प्रचण्ड पक्षले यस्ता कार्यक्रम रोक्न माग गरिरहेको छ । जुन स्थायी समितिको निर्णयमा समेत त्यस्ता कार्यक्रम रोक्ने भनिएको छ ।  नेकपा केन्द्रमा विवाद बढ्दै गएका बेला कात्तिक महिनामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली तथा उनी निकट सचिवालय सदस्य ईश्वर पोखरेलले प्रदेश १ का नेतासँग ‘जबज’को बहस वडा कमिटीसम्म पुर्याउन निर्देशन नै दिएका थिए । जसले विवादको बीउ रोप्दै गएको प्रचण्ड नेपाल पक्षका नेताहरुको बुझाइ छ । 

नियोजित हो कि स्वतस्फुर्त ? 
पार्टीभित्र विचारको छलफल हुन्छ । विचार र राजनीतिक कार्यदिशामा सङ्घर्ष हुनु आम नियमको कुरा भयो । विचारमा मतभेद हुनेवित्तिकै र फरक खालका दस्तावेज आउनेवित्तिकै पार्टी, प्रक्रिया, पद्धति निर्णयका विरुद्ध जाने कुराले पार्टीको एकतालाई पनि बचाउँदैन । पार्टीको भावनालाई पनि प्रतिविम्बित गर्दैन । ‘चितवन घटना जसरी भयो यो गलत हो भन्ने कुरा प्रस्टै छ । स्थायी समितिको बैठकले गरेका निर्णयहरुको सुरेन्द्र पाण्डेले चितवनमा व्याख्या गर्नुभएको हो, त्यो पनि आफ्नै निर्वाचन क्षेत्रमा’, नेकपा बागमती प्रदेश कमिटीका सहइन्चार्ज नारायण दाहाल भन्छन्, ‘स्थायी समितिले जुन कुरा गर्नुहुँदैन भनेको छ । त्यही कुरा चितवनमा मदन भण्डारी फाउन्डेसनका नाममा तीव्र ढङ्गले भइरहेका छन् । सार्वजनिक ठाउँमा बैठकले गरेका निर्णयहरुका विरुद्ध गएको कुरा गलत हो पनि भन्न नपाउने हो भने बैठकको निर्णयको कुनै अर्थ हुँदैन ।’ 

घटनाबारे विज्ञप्ति निकाल्नसमेत ओली पक्ष तयार नभएको दाहालको भनाइ छ । यसरी एक पक्षले अर्को पक्षलाई अवरोध खडा गर्दै जाने हो भने पार्टी एकता थप कमजोर हुने दाहालको भनाइ छ । ‘पार्टीको निर्णयभन्दा बाहिर गएर हुने र पार्टीको एकतामा आँच आउने कुनै पनि गतिविधिले पार्टी एकतालाई अगाडि बढाउन मद्दत गर्दैन, बरु फुटलाई नै मद्दत गर्छ’, दाहालको भनाइ छ । 

उनले पार्टी एकताको पक्षमा जाने हो भने केन्द्रदेखि स्थानीय तहसम्मै सकारात्मक विचार सम्प्रेषण गर्न जरुरी रहेको पनि बताए । उनले चितवन घटनालाई नियोजित भएको पनि बताए । ‘यो अपझर्ट वा स्वतस्फुर्त कार्यकर्ता लेबलबाट भएको होइन । नियोजित हो । पार्टीभित्र ६ महिनादेखि भइरहेको लडाइँको बाछिटा चितवनमा देखिएको हो । जबजलाई आधिकारिक र औपचारिक रूपमै ब्यानरमा लेखेर नेताहरु उपस्थित भइरहेको अवस्था हो । पार्टीले यो गर्नुहुन्न भनेर निर्देशन जारी गरेको अवस्थामा पर्सा, सर्खेत हुँदै चितवनमा आइपुगेको हो’, दाहालको भनाइ छ । तर नेकपा बागमती प्रदेशकै सचिव आनन्द पोखरेल चितवन घटनाबारे प्रदेशले कुनै वक्तव्यबाजी गर्नु जरुरी नभएको ठान्छन् । ‘यो जिल्लामा भएको घटना हो । जिल्लाबाटै मिलाउनुपर्छ हामीले वक्तव्यबाजी गर्न जरुरी छैन’, नेता पोखरेलले भने, ‘राप्ती नगरकमिटीले बोलिसकेको छ । अब जिल्लाले बोल्ला । त्यसकारण हामीले बोल्दा फेरि छानबिन गर्नुपर्ला, कारबाहीमा परिएला ।’

उनले कार्यक्रम भइरहेका बेला अवरोध गर्नु गलत भए पनि त्यसबारे माथिल्लो कमिटीबाट बोल्न जरुरी नभएको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप