बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले काँग्रेस सभापतिलाई भेट्नुमा सत्ता राजनीतिको कुनै अर्थ छैनः नेता सिंह

सोमबार, ०८ मङ्सिर २०७७, १६ : २४
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताएका छन् । जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने  र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफूहरु विपक्षीकै भूमिकामा रहने उनले बताए । 

नेकपाभित्रको किचलोमा काँग्रेसको कुनै सरोकार नरहने भन्दै काँग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्‍नसमेत सिंहले आग्रह गरे ।  सत्य साई बाबाको ९५‍औं अवतरण दिवसका अवसमा सोमबार शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै नेता सिंहले  झन्डै दुईतिहाइ बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।

महिनौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारीका बेला जनताको समस्यासँग सरकार बेखबर रहेको उनको भनाइ थियो । सरकारले गर्नुपर्ने काम केही नगरी संघीयताको मर्म र भावनाविपरीत काम गरिरहेको पनि उनले बताए । त्यस्तै, काँग्रेसका सांसदसमेत रहेका नेता सिंहले रत्नपार्कको नाम परिवर्तन गरेकामा पनि आपत्ति जनाएका छन् । सत्ताको आडमा आजीवन जनताको जनमत पाए जसरी पूराना तथा इतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरी कब्जाको शैलीमा आफ्नो दलका नेताहरुको नामकरण गर्दै  इतिहास मेटाउने काम नगर्न चेतावनी पनि दिए ।

नेता सिंहले ठाउँ–ठाउँमा बनेका पार्कहरु व्यवस्थापन गर्ने, राख्नुपर्ने नेताका नाममा अन्यत्र पार्क बनाउन सकिने कुरालाई ख्याल नगरी पुराना इतिहास बनाएका पार्कहरु अतिक्रमण गरे राम्रो नहुने भन्दै सत्ता ढलेपछिको परिस्थिति हेक्का राख्न आग्रह गरे । काँग्रेस सबैको इतिहास र उपस्थितिलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतामा रहेका भन्दै उनले सत्तारुढ दललाई सत्ताको अहं नदेखाउन पनि चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप