शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी मारमा

सोमबार, ०८ मङ्सिर २०७७, १८ : ५९
सोमबार, ०८ मङ्सिर २०७७

कोरोना भाइरस सङ्क्रमणबाट बच्न गत वर्ष चैत ११ देखि बन्दाबन्दी जारी गरिएसँगै बन्द रहेको धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपअघि स्वर्णदीप मनि चेञ्जर सञ्चालन गर्दै आएका हरिप्रसाद घिमिरे व्यवसाय बन्द रहेकाले गत असारमा चार जना कामदारलाई बिदा दिएको बताउछन् ।

बौद्ध क्षेत्रको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको सटर भाडामा लिएका घिमिरे भाडा तिर्न नसकेपछि सहुलियतको माग गर्दै कार्यालय पुगे। घिमिरेलाई समितिका कार्यकारी निर्देशक वसन्त लामाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बन्दाबन्दी खुलेर अरु धेरै क्षेत्र खुले पनि बौद्ध चैत्य पर्यटकका लागि खुला गरिएको छैन । बौद्धमा पर्यटक नआए घिमिरे जस्ता सयौँ व्यवसायीको व्यवसाय चल्दैन । बौद्ध क्षेत्रमै पर्यटकलाई नै लक्ष्य गरेर व्यवसाय गर्ने सयौँ व्यवसायी नौ महिनादेखि आम्दानी नहुँदा जीवन चलाउन मुस्किल हुन थालेको गुनासो गर्छन् । 

 हातमा बोकेर नेपाली मौलिक उत्पादन पर्यटकलाई बिक्री गर्दै आउनुभएका रणबहादुर श्रेष्ठको अवस्था पनि उस्तै छ । नौ महिनादेखि काम नहुँदा हातमुख जोर्न धौधौ पर्न थालेको उनको गुनासो छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक पर्यटकीयस्थल खुला गर्नुपर्ने व्यवसायीको माग छ ।

 बौद्ध क्षेत्रमा आव २०७४-७५ मा दुई लाख ५२ हजार ३०४ पर्यटक आएका थिए । यसैगरी आव २०७५÷२०७६ मा दुई लाख ६४ हजार १६७ पर्यटक आए । आव २०७६-२०७७ मा भने दुई लाख २७ हजार ५२४ पर्यटक आएको कार्यकारी निर्देशक लामाले जानकारी दिए । गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा बन्दाबन्दीका कारण एक जना पनि पर्यटक बौद्ध छिरेनन् । 

चालू आवको साउन, भदौ, असोज, कात्तिक र यो महिनाको पहिलो हप्ता बित्दा समेत पर्यटकीय क्षेत्र कहिले खुला हुने निश्चित छैन । बौद्ध क्षेत्रमा सार्क देशका पर्यटकसँग रु १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिने गरिएको छ । पर्यटकका लागि खुला नगरिँदा शुल्क नउठेकाले यस क्षेत्रका विकास निर्माणका कामसमेत प्रभावित भएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप