मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मौसमका कारण प्रधानमन्त्रीको कार्यक्रम प्रभावितः सशस्त्र सीमा सुरक्षाचौकी उद्घाटन

सोमबार, ०८ मङ्सिर २०७७, १९ : २६
सोमबार, ०८ मङ्सिर २०७७

पशुपतिनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो । 

प्रधानमन्त्री ओली अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र  सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो । बाक्लो कुहिरो र  हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने  इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । 

सो अवसरमा आन्तरिक मामिलामन्त्री कार्कीले गोठाला र विनाबर्दीका जनताले जोगाएको सीमा क्षेत्रमा सरकारी निकायको उपस्थितिपछि आपराधिक घटना  घट्ने बताए ।  प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले नेपाल भारत सीमा क्षेत्रमा सीमा सडक निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य खिनुलङ्वा लिम्बू, काजीमान कागते र  धीरेन्द्र शर्मा रमण, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, सशस्त्र प्रहरी बराह बाहिनीपति वंशीराज दाहाल, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएसँगै जनताले सुरक्षित महसुस गर्ने बताए । 

प्रधानमन्त्री उपस्थित हुने भनिएको कार्यक्रममा इलाम उत्तरी क्षेत्रका करीब दुई हजार जनताको सहभागिता थियो । इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको इलाममा अहिले धमाधम बोर्डर आउट पोष्ट स्थापना भइरहेको छ । पशुपतिनगर, कालपोखरी, छब्बीसे, समालबुङ, सलकपुर र जौबारीमा बिओपी स्थापना भएपछि इलामको सीमा सुरक्षा मजबुत भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप