बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा एक दिनमै ६ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

मङ्गलबार, ०९ मङ्सिर २०७७, २२ : ४८
मङ्गलबार, ०९ मङ्सिर २०७७

लन्डन । बेलायतमा शुरु भएको कोरोनाको दोस्रो लहरपछि पहिलोपटक एक दिनमा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या करिब सात महिना पछिको उच्च भएको सरकारी तथ्याँकले  देखाएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार गएको २४ घन्टामा थप ६०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा सबैभन्दा कम उमेरको १० वर्ष र बढी उमेरको १०० वर्षबीचको रहेको बताइएको छ । ३१ वर्षीय एक मृतकमा भने कुनै पनि स्वास्थ्य समस्या नरहेको उल्लेख छ । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार ६०८ पुगेको छ ।

मृतक संख्या बढे पनि कोरोना संक्रमितको संख्या भने आज मंगलबार उल्लेखनीय रुपमा घटेको छ । विगतका दिनहरुको तुलनामा संक्रमित संख्या झन्डै आधा कम रहेको छ । गएको २४ घन्टामा थप ११ हजार २९९ जना मात्र नयाँ संक्रमित थपिएको सरकारी तथ्याँकमा उल्लेख छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता एक दिनमा ३३ हजारसम्म संक्रमित थपिएका छन् । तर केहि हप्तायता संक्रमित  हुनेको संख्या २० देखि २४ हजारको हाराहारीमा रहँदै आएपनि आज यो संख्या घटेर ११ हजारमा झरेको हो । बेलायतमा संक्रमितको संख्या १५ लाख ३८ हजार ७९४ पुगेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि  बेलायत सरकारले आगामी डिसेम्बर २ तारिख सम्मका लागि इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । तर, डिसेम्बर २ पछि लकडाउन हटाउने गरि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार ‘कोभिड विन्टर प्लान’ को घोषणा  गरेका छन् । जसअनुसार  संक्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी कडा प्रतिबन्ध लागू गरिनेछ ।  डिसेम्बर ३ देखि अहिले बन्द रहेका अत्यावश्यक बाहेकका सबै पसल तथा व्यवसाय, रेष्टुरेन्ट, पब, जीमखाना लगायत सञ्चालन हुने भएका छन्  । 

यसैगरी आवश्यक शर्तको पालना गरेर ४ हजारसम्म दर्शकहरुले खेलकुद प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । वैवाहिक समारोह र सामूहिक प्रार्थनासहितका धार्मिक क्रियाकलापलाई पनि छुट दिइनेछ । रेष्टुरेन्ट तथा पबहरु राती १० बजे बन्द गर्नैपर्ने यसअघिको नियमलाई केही खुकुलो पार्दै ‘लास्ट अर्डर’ समय १० बजे नै रहेपनि ११ बजेसम्म ग्राहकहरु बस्न पाउने बनाइनेछ । क्रिसमसको समयमा थप सहज पार्ने योजना रहेपनि यसबारेमा स्पष्ट धारणा आउन बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप