केन्द्रीय संस्करण

लघुकथा : मायाको चिनो

person explore access_timeमंसिर १०, २०७७ chat_bubble_outline0

 

 

 - भरत सिग्देल 

घर मास्तिरको काउले पाखा ढकमक्क फुलेका लालीगुराँसले बेहुलीझैँ सिँगारिएको आभास हुन्थ्यो । पूर्वको झुल्के घामसँगै कमरेड अविनाश टुप्लुक्क आइपुग्यो । जुरेलीको पाउमा शिर राख्दै भन्यो, `` आमा ! म आइपुगेँ । जनगणतन्त्र लिएर आएँ। दिदीको रगत चुस्ने खुनीहरूको सत्ता ढालेर आएँ। बाले रोप्नुभएको क्रान्तिको बिरुवामा मुक्तिको फूल फुलाएर आएँ । लिनुस् , यो हाम्रा सर्वोच्च कमान्डरले पठाउनुभएको मायाको चिनो। ´´ 

जुरेलीका गह आँसुले भरिभराउ भए । सर्वोच्च कमान्डरले पठाएको मायाको चिनो पिँढीमाथिको एकपाखे पालीमा सिउरिन् अनि छोरोलाई ग्वाम्लाङ्ग अँगालो हालेर डोर्याउँदै घरभित्र लगिन् । अविनाश मूल ओछ्यानमा गएर बस्यो। चिम्टाले अगेनोको भुतभुते खरानी खोतली सखरखण्डका टुक्रा निकालेर दिइन् ,जुरेलीले छोरोलाई । ``बाबु, भोक लाग्यो होला , तिमी यो खाँदै गर । म भात पकाउँछु । ´´ छोरोलाई रातो टीका लगाई बिदाइ गरेको दिनदेखि आजसम्मका सुखदुःखका कहानी साटासाट गरे आमाछोराले। 

अचानक मेघ गर्जनको आवाजले जुरेली झल्याँस्स भइन्। हस्याङफस्याङ गर्दै उठेर अगेनोमा गाड्या अगुल्टो फुकेर दियो बालिन् र यताउता हेरिन्। घरभित्र कोही थिएन। दैलोबाट यस्सो मुन्टो निकालेर पालीमा सिउरिएको मायाको चिनो खोजिन्। त्यहाँ पनि केही भेटिएन ।बरु आकाशमा लगातार चम्किरहेको बिजुली र दक्षिण पश्चिमतिरबाट आएको आँधिबेहरीकाबीच आँगनमा दुईवटा भुस्याहा कुकुरहरू रातो कपडाले बाँधिएको एउटा जुठो हड्डीमा लुछाचुँडी गर्दै थिए । जुरेली भने बाँचे मुक्ति, मरे सहिदको कसम खाँदै आफ्नो छोरो बिदा भएको दुई हप्तापछि चार जना युवायुवतीले ओढाएको दोसल्लाको फेरले आँसु पुछ्न थालिन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.