मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका हत्या प्रकरणः चार बुँदे सहमतिपछि आन्दोलन स्थगित, स्थानीयवासी आक्रोशित

बुधबार, १० मङ्सिर २०७७, १९ : ५२
बुधबार, १० मङ्सिर २०७७

महोत्तरी । बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएलगत्तै दुई दिन चर्किएको आन्दोलन बल्ल साम्य हुने भएको छ । बालिकाका हत्यारा र बालिकाको न्यायका लागि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका संजय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्ने सहित र्सवपक्षीय समितिसंग सहमती पश्चात आन्दोलन साम्य भएको हो ।

बुधवार बर्दिबासमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र सुरक्षा निकायका प्रमुख र आन्दोलनकारीको तर्फबाट गठित भएको सर्वदलीय समितिसंग भएको  वार्तामा सहमति जुटेको जनाइएको छ ।

बर्दिबासमा भएको ६ वर्षीय बालिका हत्या प्रकरणमा सत्यतथ्य निष्पक्ष छानविन तथा अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवार्ही, प्रदर्शनको क्रममा प्रहरीबाट गोली लागि घाइते भएकाहरूको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने, तथा मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयबाट नेपाल सरकारलाई अनुरोध जिल्ला प्रशासन कार्यालय महोत्तरीले गर्ने भएपछि तत्कालको लागि आन्दोलन स्थगित भएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

त्यस्तै प्रहरीले चलाएको गोली लागि स्थानीयवासी संजयको मृत्यु र केही प्रदर्शनकारी घाइते भएकाहरुको हकमा समेत छानबिन समिति गठन गर्नका लागि नेपाल सरकारसंग अनुरोध गर्ने सहमति जुटेको सर्वपक्षीय समितिका संयोजक चिरञ्जीवी हमालले जानकारी दिए । 

उनले भने, 'सहमति भएको र प्रहरी प्रशासनसंग भएको सहमती अनुसार नै पीडित परिवारलाई सो सहमती बारे स्पष्टरुपमा जानकारी गराउनका लागि भलाकुसारी गर्ने छौँ ।' आन्दोलनकारीहरुको तर्पmबाट नेपाली काँग्रेसका नेता समेत रहेका संयोजक हमालले प्रहरी–प्रशासनसंग सहमति गरेपनि आन्दोलन रोकिनेमा आशंका व्यक्त गरिएको छ । 

केही व्यक्तिहरूले आन्दोलन नरोक्ने बताए पनि भोलि उनीहरू सडकमा उत्रिएको खण्डमा आफुहरुले सम्झाउने बुझाउने समेत दुई पक्ष वीच सहमती भएको छ । सो सहमतीको क्रममा आन्दोलनरत्त पक्षबाट वार्ता टोलीका १३ जना र सरकारी टोलीमा  प्रमुख जिल्ला अधिकारी कटुवाल, सुरक्षानिकायका प्रमुखहरुको समेत हस्ताक्षर भएको आन्दोलनकारीका अगुवाहरुको भनाइ छ ।

बर्दिबास वडा नम्बर १४ स्थित शुभम् वस्तीमा बस्ने शहिद खातुनका ६ वर्षीया छोरी  गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको आशंकामा दुई दिन देखि कडा आन्दोलन हुँदै आएको थियो ।

बालिकाको हत्याको विरोधमा मंगलवार बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा स्थानीय संजय न्यौपानेको मृत्यु भएको थियो । उनको मृत्यूपछि स्थानीयवासीहरु आक्रोशित हुँदै विहानैदेखि पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग सहित सम्पूर्ण सडकहरु जाम गरेका थियो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिवासमा बुधबार विहानदेखि बिहिबार विहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर पनि विहानैदेखि आन्दोलनकारीले बर्दिबासका नगर प्रमुख विदुर कार्की र बर्दिबासस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक समेतको विरुद्धमा नारावाजीसहित पुत्ला जलाएका थिए भने दर्जनौँ सवारी साधनमा क्षति समेत भयो ।

यता बालिकाको पोस्टमार्ट रिपोर्ट आउन समेत बाकी छ । पोस्टमार्टम रिपोर्ट आएपछि बालिकामाथि भएको घटनाको सत्यतथ्य बाहिर आउनेछ । प्रदेशिक अस्पताल जनकपुरका मेडिकल सुप्रिटेन्डेन्ट नागेन्द्र यादवले शव ढिला गरि आएको हुनाले पोस्टमार्टममा केहि समय लाग्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप