बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज : मुम्बई सहर कापेको दिन

बिहीबार, ११ मङ्सिर २०७७, ०७ : ५७
बिहीबार, ११ मङ्सिर २०७७

२६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गयो, ३ सयजनाभन्दा धेरै घाइते भए । हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकी हमला हुनसक्छ भन्ने अनुमान सुरुमा कसैलाई पनि थिएन ।

२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको यो तान्डव ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भयो । हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइयो । फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरे । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।

यी ठाउँमा आक्रमण        

पाँचतारे होटल ताज महलको शिरमा लागेको आगोको तस्विर १२ वर्षपछि पनि मानिसहरुको मस्तिष्कमा ताजै छ । गेटवे अफ इन्डिया नजिकैको १ सय वर्षभन्दा पुरानो भवनलाई कब्जामा लिएर आतंकवादीहरुले आगो लगाइदिएका थिए । मुुम्बईको आन–बान–शान भनिने होटल ताजमहल विदेशी पर्यटकहरुमाझ निकै लोकप्रिय छ । यहाँबाट समूद्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यस होटलमा धेरै मानिसहरुले डिनर गरिरहेका बेला अचानक अन्धाधुन्ध गोली चलेको थियो, सरकारी तथ्याङ्कअनुसार यहाँ ३१ मानिस मारिए र झन्डै ६० घण्टाको कारबाहीमा सुरक्षाकर्मीहरुले चारजना आतंककारीलाई मारे ।

त्यस्तै, भारतको सबैभन्दा व्यस्त रेलवे स्टेशनहरुमध्येको एक छत्रपति शिवाजी टर्मिनसमा पनि आक्रमण भयो । यहाँ ठूलो सङ्ख्यामा यात्रुुहरु उपस्थित थिए । जाँच अधिकारीहरुका अनुसार यहाँ आतंककारी अजमल आमिर कसाब र इस्माइल खानले गोलाबारी गरेका थिए । उनीहरु दुुबैले अन्धाधुन्ध गोली चलाउँदा ५८ जनाको मृत्युु भयो ।

अस्पतालमा पनि हमला

मुुम्बई पुलिसका अनुसार चार हमलाकारीले एक प्रहरी भ्यानलाई नै अपहरण गरे, अनि यसपछि लगातार गोली चलाए । यस दौरान हमलाकारीहरु कामा अस्पतालमा पनि घुसे । मुुम्बई शहरको चर्चित काम अस्पताल एक च्यारिटेबल अस्पताल हो, जसको निर्माण एक धनाढ्य व्यापारीले सन् १८८० मा गरेका थिए । कामा अस्पतालबाहिर भएको मुठभेडमा आंतकवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरे, मुम्बई पुलिसका अशोक काम्टे र विजय सालस्कर मारिए ।

ओबराय होटलमा बन्दीमाथि चल्यो गोली

ओबराय होटल भारतका व्यापारीक घरानाहरुमाझ लोकप्रिय छ । यस पाँचतारे होटलमा पनि हमलाकारीहरु गोलाबारुदसहित पुुगेका थिए । आक्रमणको समय यहाँ साढे तीन सयभन्दा धेरै मानिसहरु रहेको अनुमान गरिन्छ । हमलाकारीले यहाँ केही मानिसहरुलाई बन्धक बनाएका थिए । एनएसजीका जवानहरुले यहाँ दुईजना हमलाकारीलाई मारे, तर त्यसअघि नै हमलाकारीहरुले ३२ जना निर्दोषको ज्यान लिइसकेका थिए ।

लियोपोल्ड क्याफेमा के भयो ?

मुुम्बई पुलिस र अनुसन्धान अधिकारीहरुका अनुसार हमलाकारीहरु दुई–दुई गुटमा बाँडिएका थिए । लियोपोल्ड क्याफेमा पुगेका दुई आतंकवादीहरुले यहाँ अचानक अन्धाधुन्ध गोली चलाउन थाले । यो क्याफे विदेशी पर्यटकहरुमाझ निकै लोकप्रिय थियो । यस क्याफेमा १० जनाको मृत्यु भयो ।

हमलाकारीहरुले शहरको नरीमन हाउसलाई पनि निशाना बनाए । नरीमन हाउसलाई चबाद लुुबाविच सेन्टर भनेर पनि चिनिन्छ । यहाँ पनि हमलाकारीहरुल धेरै मानिसलाई बन्धक बनाएका थिए । जुुन भवनमा आतंकवादी घुुसेका थिए, त्यो यहूदीहरुलाई सहयोग गर्नका लागि बनाइएको एक सेन्टर थियो । यहाँ प्रायः यहूदी पर्यटक बस्ने गर्दथे । 

चर्कियो भारत–पाकिस्तान विवाद

यस हमलाको विश्वव्यापी रुपमा निन्दा भएको थियो । पाकिस्तानले पनि भत्र्सना ग¥यो । तर, सुस्त रुपमा सुध्रदैं गएको भारत–पाकिस्तान सम्बन्धमा यस घटनाले ठूलो दरार निम्त्यायो । घटनामा बाँचेका एकमात्रै व्यक्ति अजमल कसाब पाकिस्तानी थिए । आक्रमणकारीहरु पाकिस्तानबाट आएको र उनीहरुलाई सञ्चालन गर्ने व्यक्ति पाकस्तानमै रहेको आरोप भारत सरकारले लगायो । तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले आफ्नो भौगोलिक अखण्डता कायम राख्नका लागि भारतले पाकिस्तानका आतंकवादी शिविरहरुमा आक्रमण गर्नसक्ने घोषणा गरे । यस घटनाको केही दिनभित्रै ( डिसम्ेबर ७, २००८) लस्कर ए तोयबाका नेता तथा घटनाका योजनाकारमध्ये एक मानिएका जाकिउर रहमान लक्भी पाकिस्तानमा पक्राउ परे । यद्यपी,  १० अप्रिल २०१५ मा उनी जमानतमा रिहा भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप