बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेघनः डचेज अफ ससेक्सले खुलाइन् गर्भपतन हुँदाको पीडा र शोक

बिहीबार, ११ मङ्सिर २०७७, ०९ : ४२
बिहीबार, ११ मङ्सिर २०७७

डचेज अफ ससेक्सले चार महिना अघि अर्थात् जुलाईमा आफ्नो गर्भपतन भएको खुलासा गरेकी छिन् । उनले गर्भपतन हुँदाको असह्य पीडा बयान गर्दै एउटा लेख लेखेकी छिन् । 

‘मलाई थाहा थियो, मेरो पहिलो सन्तानलाई च्याप्प समात्दै गर्दा मैले आफ्नो दोस्रो सन्तानलाई गुमाउँदैछु,’ द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको मेघनको लेखमा लेखिएको छ ।

उनले यसबारे थप बयान गर्दै भनिन्, ‘चकनाचुर भएर निस्किएको मेरो अंगलाई मेरो श्रीमानले बोकिरहँदा उनको मन भाँच्चिएको मैले देखेँ ।’

मेगनले लेखेकी छिन्, ‘सन् २०२० मा अमेरिकामा हामी सबैलाई क्षति र पीडाले गाँजेको छ ।’

डचेजसँग नजिकको स्रोतले मेघनको स्वास्थ्य अहिले राम्रो भएको जानकारी दिएको छ । साथै, यो जोडीले जुलाईमा के भएको थियो र गर्भपतन कति सामान्य बनेको छ भन्ने बारे कुरा गर्न चाहेको बताए । 

बकिङ्घम दरबारका प्रवक्ताले यसबारे केही भन्न नचाहेको बताए । उनले भने, ‘यो असाध्यै नीजि मामिला भएकोले यसबारे हामी कुनै पनि प्रतिक्रिया दिन चाहन्नौं ।’

डचेज र राजकुमार ह्यारी, ड्युक अफ ससेक्स, मिडियाको नजरबाट टाढा रहन क्यालिफोर्निया गएका छन् । जनवरीमा राजदरबारको शीर्ष शाही सदस्यको भूमिकाबाट पछि हट्ने यी दुबैले निर्णय गरेका थिए । 

उनीहरुको पहिलो सन्तान आर्ची सन् २०१९ मे ६ मा जन्मिएका थिए । 

छोरा आर्चीलाई सम्हालिरहेका बेला आफूलाई पेटमा तिखो ऐंठन महसुस भएको जानकारी दिँदै उनले आफ्नो आर्टिकल सुरु गरेकी छिन् । 

‘छोरालाई बोक्दा बोक्दै म भुइँमा लडेँ, दुबै शान्त रहन लोरी गुन्गुनाएँ, त्यो रमाइलो धुन मेरो भाव विपरित थियो, मलाई केही ठिक हुन नलागेको महसुस भइरहेको थियो,’ उनले लेखिन् । 

‘त्यसको केही घण्टापछि मैले आफूलाई अस्पतालको बेडमा पाएँ, श्रीमानको हात समातिरहेकी थिएँ । मैले उनको हत्केलामा चिप्चिपाहट महसुस गरेँ र उनको औंला चुमेँ, हामी दुबैको आँसु बगिरहेका थिए ।’

‘चिसो सेतो भित्तालाई एकोहोरो हेरिरह्यौं । हामी यो पीडाबाट कसरी बाहिर निस्कने होला भनेर म गम्न थालेँ ।’

मेघनले पहिले नै स्पष्ट पारिसकेकी थिइन् कि उनी महिलाको आवाज र महिलाले भोग्ने अनुभवको मुखर बन्न चाहन्छिन् । 

अहिले उनले आफ्नो क्षतिबारे लेखेकी छिन्, आफ्नो ठूलो शोकबारे उजागर गरेकी छिन् । 

उनले गर्भपतनलाई दैनिक संवादको विषय बनाउनका लागि आफ्नो पीडाबारे जानकारी दिएकी हुन् । 

डचेज थप्छिन्, ‘सन्तान गुमाउनु भनेको असह्य पीडा हो । यो धेरैले भोगेका हुन्छन् तर कमैले यसबारे कुरा गर्छन् ।’

‘हामो उक्त पीडामा म र मेरा श्रीमानले के महसुस गर्यौं भने १०० जना उपस्थित भएको कोठामा, १० देखि २० जनाले गर्भपतनको समस्या भोगेका छन् ।’

‘यो पीडा साधारण बन्दैछ तर यसबारे कुरा गर्नु अहिले पनि वर्जित मानिन्छ, एउटा लज्जाको विषय ठानिन्छ जसले एकान्त शोकको एउटा चक्र कायम गरेको छ ।’

‘कतिले आफ्नो कथा निर्धक्क बताएका छन्, उनीहरुले ढोका खोलिदिएका छन् । उनीहरुलाई थाहा छ कि एकजनाले वास्तविकताबारे जानकारी दिँदा यसले अन्यलाई पनि त्यसै गर्ने लाइसेन्स प्रदान गर्छ ।’

उनले उक्त लेखमा उनको टिभी अन्तर्वार्ताको कुरा पनि उठाएकी छिन् जसमा गत वर्ष दक्षिण अफ्रिकाको भ्रमणमा हुँदा एक पत्रकारले उनलाई ‘तपाईं ठिक हुनुहुन्छ ?’ भनेर सोधेका थिए । 

उनले भनिन्, ‘प्रत्येक सार्वजनिक आँखाको अगाडि आफूले आफैंलाई निडर राख्ने कोसिस गरिरहेका बेला मलाई उक्त प्रश्न सोधिएको थियो ।’

‘मैले निकै इमान्दार भएर उनलाई जवाफ दिएँ तर मेरो जवाफलाई धेरैले आफ्नै आवाज मान्नुहुनेछ भनेर मलाई थाहा थिएन । मैले भनेकी थिएँ, ‘नयाँ आमा, वृद्ध–वृद्धा र जतिपनि जो आफ्नै तरिकाले जीवन व्यतित गरिरहेका छन्, उनीहरु सबैलाई भित्री पीडाले गाँजेको हुन्छ ।’’

मेघन राजपरिवारकी दोस्रो सदस्य हुन् जसले गर्भपतनबारे खुलेर कुराकानी गरेकी छिन् । 
सन् २०१८ मा रानीकी नातिनी जारा टिन्डलले दोस्रो सन्तान जन्माउनु अघि आफूले दुईवटा गर्भपतन झेल्नुपरेको बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप