शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाभित्रको विवादले जसपा नेपाल ‘पर्ख र हेर’ को अवस्थामा

बिहीबार, ११ मङ्सिर २०७७, १३ : ४०
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कलह बढेको परिस्थितिलाई ध्यानमा राख्दै जनता समाजवादी पार्टी नेपालले ‘पर्ख र हेर’ रणनीति अख्तियार गरेको छ । सरकारविरुद्ध आन्दोलनको तयारीमा रहेको सो पार्टीले सरकार आफै आन्तरिक संकटमा परेका कारण आन्दोलनमा उत्रने आफ्नो निर्णयलाई तत्काल थाँती राखेको हो । 

नेकपामा देखिएको विवादका कारण देशमा जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै यस्तो रणनीति अपनाएको हो । जसपा नेपालले नेकपा नेतृत्वको सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको, कोरोना महामारीलाई नियन्त्रण गर्न नसकेको, देशमा सुशासन कायम गराउन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै त्यसको विकल्प खोज्न आन्दोलन गर्ने तयारी थालेको थियो ।

तर नेकपा आफै फुटको सँघारमा पुगेको र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प उनकै दलबाट खोज्न थालिएको ठहर गर्दै जसपा नेपालले केही दिन ‘पर्ख र हेर’को अवस्था रहने निर्णय गरेको स्रोतले जनाएको छ ।
जसपा नेपालका शीर्ष नेताबीच बुधबार भएको अनौपचारिक छलफलले सरकारको विकल्प खोज्ने सन्दर्भमा सरकारविरुद्ध आन्दोलनमा उत्रिन केही दिन पर्खिने निर्णय गरेको हो । 

पार्टीले छठपछि सरकार विरुद्ध आन्दोलन गर्न भ्रातृ संगठनहरुलाई निर्देशन पठाईसकेको थियो । सोही निर्देशनअनुसार सो पार्टीका युवा, महिला, विद्यार्थी संगठनहरुले आन्दोलनको तयारी गरिरहेका थिए ।
तर नेकपाभित्रको कलहलाई ध्यानमा राख्दै जसपा नेपालले आन्दोलनलाई केही दिन थाँती राख्ने भएको छ ।

जसपा नेपालका एक कार्यकारिणी सदस्यले भने, ‘नेकपा नेतृत्वको सरकार आफै ढल्ने अवस्थामा पुगेको छ, त्यसका लाथि जसपा नेपालले केही गर्नै पर्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार आफ्नै ढाल्न लागि पर्नुभएको छ । कहिले काँग्रेससँग त कहिले कोसँग कुरा गरिरहनु भएको छ ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा कमिसनखोर, भ्रष्ट र विचौलियाको बिगविगी रहेको र उनीहरुले नै देशको शासनतन्त्र चलाइरहेको आरोप लगाएका छन् । नेताहरुले आफ्नो सामन्ति संस्कार र चिन्तन् एवं व्यवहार परिवर्तन गरी संघीयता, लोकतन्त्र, समानता र सामाजिक न्याय, समानुपातिक समावेशीकरण, जातीय, वर्गीय र लैङ्गिक समानताको पक्षमा दृढ भएर उभिन सक्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सताब्दियौंदेखि निरन्तर रहँदै आएको राजनीतिक सामन्ती संस्कृति, संस्कार र चिन्तनका अवशेषहरुलाई परित्याग  गरी लोकतान्त्रिक संस्कृति, चरित्र र व्यवहार देखाउन सक्नु पर्दछ । अनिमात्र क्रान्तिका अधुरा लक्ष्यहरु प्राप्त गर्न सकिन्छ ।’

नेपालमा शाहवंशीय राजतन्त्रको उदयसँगै केन्द्रिकृत शासन प्रणाली र सामन्ती संस्कृति तथा संस्कारको विकास पनि भएको उल्लेख गर्दै उनले राजदरबारभित्रको आन्तरिक कलह, राजनीतिक अस्थिरता र ईष्ट इन्डिया कम्पनीको सहयोग र समर्थनमा निरंकुश पारिवारिक राणा शासनको उदय भएको र १०४ वर्षपछि २००७ सालको जनक्रान्तिले फालिएको जिकिर गरेका छन् । शाह वंशीय राजसंस्था र राणा शासनका सामन्ती संस्कारका अवशेषहरु अझै फाल्न नसकोको उनको भनाइ छ ।

नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको तथा सत्ता र शक्तिको सन्तुलनमा केही परिवर्तन पनि भएको तर शक्ति संरचना परिवर्तनले मात्र राजनीतिक संस्कार नहुने रहेछ भन्ने उदाहरण नेपालमा आज देखिएको उनले उल्लेख गरेका छन् । राजनीतिक नेतृत्व वर्गभित्रको विकृति र विसंगतिहरुले प्रष्ट पारेको उनको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्र केवल कागजमा सीमित हुने भएकाले व्यापक जनआक्रोस अनि निराशाले वातावरण धमिलिन थालेको यादवले जनाएका छन् । संविधानमा ‘समाजवाद उन्मुख’ शब्द लेखिए पनि सरकार, दल र प्रशासनमा समेत उच्च जातको आधिपत्य जस्ताको तस्तै रहेको भन्दै उनले देशको संघीयता, समावेशीता र लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने खतरा रहेको पनि प्रस्ट पारेका छन् । उनले अहिले सरकार र पुराना राजनीतिक दलहरु सिद्धान्तविहीन र दिशाविहीन भएको आरोपसमेत लगाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप