शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगी, व्यवसायीलाई फिल्म क्षेत्रसँग जोड्छु : आकाश अधिकारी

बिहीबार, ११ मङ्सिर २०७७, १३ : ५०
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा निर्माता, निर्देशक र कलाकारको परिचय छ आकाश अधिकारीको । नेपाली चलचित्र निर्माता सङ्घको अध्यक्षसमेत रहेका उनी फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य महासङ्घमा गत वर्ष पुग्न सफल थिए । महासङ्घको ५३औँ अधिवेशनमा कार्यकारी सदस्य चुनिएका उनले आजबाट सुरु भएका ५४औँ राष्ट्रिय अधिवेशनमा पनि वस्तुगततर्फको कार्यकारिणी समिति सदस्यमा पुनः उम्मेदवारी दिएका छन् ।
भारतबाट फिल्म निर्देशन र अभिनयमा ग्रेजुएट गरेका उनी विगत २६ वर्षदेखि फिल्म क्षेत्रको विभिन्न कर्ममा क्रियाशील छन् । फिल्म क्षेत्रलाई उद्योगका रूपमा स्थापित गर्न र उद्योग व्यवसायीलाई फिल्म क्षेत्रसँग जोड्न आफू फेरि महासङ्घको सदस्यमा उठ्न लागेको उनी बताउँछन् । महासङ्घको उम्मेदवारीको विषयमा उनलाई राखेको केही प्रश्न ।

महासङ्घको महाधिवेशनको तयारी कस्तो छ ?
–राम्रो गरेको छु । दौडधुप र भेटघाट अझै जारी छ । फेरि पनि सदश्यमा आउँछु भन्ने विश्वास छ ।

अघिल्लो वर्ष पनि कार्यसमितिमा हुनुहुन्थ्यो । फेरि पनि किन ?
–अघिल्लो कार्यकालमा अधुरा रहेका र केही नयाँ योजना लिएर अहिले फेरि उम्मेदवार भएको हो । गत वर्ष महासङ्घमा मेरो पहिलो यात्रा थियो । केही अनुभव पनि थिएन । तर पनि मैले राम्रो काम गरेकाले आफ्नो फिल्म उद्योगबाट प्रसंशा पाएको छु । ५४, ५५ वर्षदेखि हाम्रो फिल्म क्षेत्र सेवामूलक उद्योगमा दौडिरहेको थियो । त्यसलाई मैले राष्ट्रिय प्राथामिकता प्राप्त उद्योगमा हाल्न सफल भए । अब त्यसका लागि नीति र नियम बनाउने लगायत केही एजेन्डा छन् ।

अबका नयाँ योजना  ?
–फिल्म क्षेत्रले राष्ट्रिय उद्योगमा मान्यता त प्राप्त गर्यो । यतिले मात्र पुग्दैन । त्यसका लागि नीति, नियम, ऐन कानुन लगायत निर्माण हुनुपर्यो । यो मेरो अहिलेको पहिलो प्राथमिकता हो । आयातभन्दा निर्यात बढाउन, स्वदेशी उत्पादनको विदेशी बजार विस्तार गर्न, स्वदेशी उत्पादको महत्त्व बुझाएर प्रयोगमा प्रोत्साहन गर्न र होटल, पर्यटन र कृषिमा पनि जोड दिन्छु । गुणस्तरीय नेपाली फिल्म निर्माणमा जोड दिएर प्रोडुसर एसोसियसन इन एसिया प्यासिफिकबाट नेपाली फिल्म उद्योगलाई विश्वका धेरै उद्योगसँग जोड्न र चीनमा विदेशी फिल्मको कोटा सिस्टममा नेपाली फिल्म पनि पार्न पहल रहनेछ ।

अघिल्लो कार्यकालमा के गर्नुभयो त ?
–अघिल्लो कार्यकालमा फिल्म क्षेत्रका लागि मात्र काम गरेँ । उद्योगी, व्यवसायीलाई फिल्म क्षेत्रसँग जोड्न पुलको काम गरँे । अब भने अन्य क्षेत्रका लागि पनि काम गर्छु । 

दोस्रो कार्यकालका लागि धेरै कसरत गर्नु पर्दैन होला नि ?
–सङ्घमा पुगेर मैले फिल्म क्षेत्रका लागि धेरै काम गरेको छु । त्यो माथि पनि बताएँ । त्यसैले पहिले जस्तो मिहिनेत गर्नुपर्दैन सहज हुन्छ भन्ने मेरो बुझाइ हो ।

नेपाली फिल्म क्षेत्रमा उद्योगी व्यवसायी खासै भित्रिएका छैनन् नि ?
–हो, उद्योगी, व्यवसायीहरु व्यापारी हुन् । जहाँ फाइदा हुन्छ त्यहाँ लगानी गर्छन् । फिल्मको लगानी यति हो, यति समय लाग्छ र यति फर्किन्छ भनेर हामीले उहाँहरुलाई ब्ल्याक एन्ड ह्वाइटमा देखाउन सक्नुपर्यो । बुझाउन सक्नु पर्यो । त्यो भएको खन्डमा उहाँहरु आउनु हुन्छ । उद्योगी व्यवसायीलाई फिल्मसँग जोड्ने अहिले मेरो प्राथमिकतामा परेको छ । यसैका लागि पहिले मैले बक्स अफिसको माग गरेको थिएँ । त्यो लगू भयो । त्यो अझ सशक्त हुनेछ । अहिले चाहिँ उद्योगी व्यवसायीलाई फिल्ममा लगानी गर्न प्रेरित गर्न सक्छु ।

उद्योगीले फिल्म क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
–यो क्षेत्र एउटा सुनौलो क्षेत्र हो । गाह्रो अप्ठ्यारो जे परे पनि हामी यो क्षेत्रमा खुसी छौँ । नाचगान मनोरञ्जन मात्र होइन फिल्म क्षेत्र । प्रत्येक दस वर्षमा एउटा जेनेरेसन ग्याप हुन्छ । हिजो के थियो भनेर हेर्नुपर्यो, जान्नुपर्यो भने हामीले फिल्म हेर्छाैं । उद्योगी, व्यवसायीले यो राम्ररी बुझ्नु भएको छ । उहाँहरुको एउटा गुनासो छ । यसले फड्को मार्न सकेन । त्यसका लागि उहाँहरुको सहयोगमा काम गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप