शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रतिस्पर्धीलाई कम आँक्दिनँ, तर मेरो जित सुनिश्चित छ’

जिल्ला, नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीसँग चुनावी वार्ता
बिहीबार, ११ मङ्सिर २०७७, १६ : २१
बिहीबार, ११ मङ्सिर २०७७

नेपाल उद्योग वाणिज्य सङ्घमा चुनावी सरगर्मी बढ्दैछ । चुनावको मिति जतिजति नजिकिँदैछ उतिउति व्यवसायीबीच प्रतिस्पर्धा चुलिँदैछ । महासङ्घको निर्वाचन स्पष्ट दुई प्यानलमा विभक्त भएकाले पनि प्रतिस्पर्धीहरु बीचको आमुन्नेसामुन्ने निकै रोचक बन्दै गएको छ । व्यवसायीहरु एकले अर्कोलाई कमजोर सावित गर्ने र आफू र आफ्नो टिमको जितको सुनिश्चितता गर्ने होड चलिरहेको छ । यस्तैमा ५४औँ साधारण सभापश्चात महासङ्घको जिल्ला, नगरको तर्फबाट उपाध्यक्षको लाइनमा रहेका उम्मेदवार हुन्– गुणनिधि तिवारी । तिवारी वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालका प्यानलबाट हुन् । व्यावसायिक ज्ञान, सीप, दक्षता र अनुभवले तिवारी उपाध्यक्षका उत्तिकै दाबेदार मानिन्छन् । त्यसो त अर्का पक्षका उम्मेदवार व्यवसायी दिनेश श्रेष्ठ पनि उत्तिकै दाबेदार मानिन्छ । यस्तो कडा प्रतिस्पर्धाका बीच तिवारीको उम्मेदवारी केका लागि ? यस्तो छ व्यवसायी तिवारीसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको सङ्क्षित कुराकानीः 

चुनावी अङ्कगणित कत्तिको हुँदैछ ? आफ्नो जित कत्तिको देख्नुहुन्छ ?
जित्नेमा म ढुक्क छु । मेरो जित सुनिश्चित छ । अझ मेरो मात्र होइन हाम्रो सिङ्गो टिमकै जित सुनिश्चित छ । किनकि हामीसँग त्यस्तो एउटा टिम छ जुन टिमले सबै व्यवसायी साथीहरुको साथ सपोर्ट र मायाँ पाएको छ । अझ भन्ने हो भने जिल्ला नगरतर्फ त हाम्रो निकै बलियो पकड छ । ८० प्रतिशतभन्दा बढी जिल्ला, नगरको सपोर्ट हामीलाई छ । त्यसो त म आफै पनि जिल्लाबाट (लुम्बिनी उद्योग वाणिज्य सङ्घको अध्यक्ष) आएको व्यक्ति हुँ । यस हिसाबले पनि जिल्ला, नगरतर्फको उद्योग व्यवसाय र समग्र व्यवसायीका समस्यासँग म नजिक छु । अर्कोतर्फ महासङ्घमै पनि मेरो झण्डै १२ वर्षको योगदान रहेको छ । यी सबै ज्ञान, अनुभव र सहकार्यका हिसाबले पनि मेरो जित सुनिश्चित छ ।

व्यवसायीको कुरा सुन्दा जिल्ला, नगरबाटै उम्मेदवारी दिएका तपाईंको प्रतिस्पर्धी पनि निकै बलिया मानिन्छन् । उहाँसँगको प्रतिस्पर्धालाई कसरी हेर्नुहुन्छ ?
निश्चय नै ! चुनाव हो, प्रतिस्पर्धा त भइ नै हाल्छ । मुख्य कुरा कसले कति व्यवसायीहरुको मन जितेको छ भन्ने हो । उद्योग व्यवसाय र व्यवसायीहरुको समस्यालाई ग्रास रुटसम्म गएर कति बुझेको छ भन्ने हो । यसमा मेरो एउटै मत छ । जिल्ला, नगरको पक्षमा उभिन उक्त व्यक्ति स्थानीय ग्रामीण जिल्ला, नगरकै समस्या बुझेको हुनुपर्छ । अनि मात्र जिल्ला, नगरको सही प्रतिनिधित्व हुन्छ । यसमा मेरो निकै लगाव छ भन्ने लाग्छ । किनकि मैले ग्रास रुटमा नै रहेर जिल्ला तथा नगरको समस्या बुझेको छु । मैले अघि पनि भनेँ, म आफैं जिल्लाबाट सङ्घर्ष गरेर आएको मान्छे हुँ । 

तर यसो भन्दै गर्दा मेरा प्रतिस्पर्धी दिनेशजीलाई पनि कम आँक्दिनँ । उहाँ पनि एक अनुभवी र ज्ञान भएका व्यक्तित्व हुनुहुन्छ । तर जिल्ला, नगरको सही प्रतिनिधि पात्र भने उहाँ होइन । दिनेशजी केन्द्रबाट म मोफसलबाट । उहाँको अनुभव ग्रामीण जिल्ला, नगरसम्म पुग्न सकेको छैन । जिल्ला नगरको समस्या बुझ्न, जान्न जिल्ला, नगरमै जानुपर्छ । यस मानेमा पनि जिल्ला, नगरको उपयुक्त पात्र म नै हुँ ।   

 


उसो भए जिल्ला, नगरको सही प्रतिनिधित्वका लागि तपाईंको एजेन्डा चाहिँ के छ त ?
‘थिङ्किङ ग्लोबल्ली एक्ट लोकल्ली’ । सोच्ने विश्वलाई हेरेर हो तर काम गर्ने भनेको स्थानीय परिवेशमै हो । हामीले जति ठूलाठूला कुरा गरे पनि काम गर्ने भनेको हाम्रा साना, मझौला तथा ग्रामीण क्षेत्रका स्थानीय व्यवसायीहरुलाई नै हो । मेरो अनुभवले पनि स्थानीय जिल्ला, नगरमा व्याप्त समस्या देख्छु । फेरि समस्यासँगै प्रचुर सम्भावना पनि नभएका होइनन् ।

पहिलो त हामीले स्थानीय लेभलमा कृषि तथा पशुपन्छीको क्षेत्रमा काम गर्नुपर्नेछ । कृषि क्षेत्रको विकास भयो भने मात्र अन्य क्षेत्रको पनि विकास एवं विस्तार हुन्छ भन्ने हो । अर्को भनेको जिल्ला, नगरका उद्योग व्यवसायका आम्दानीका स्रोतहरु छैनन् । बेला बेलामा जिल्लामा मेला महोत्सव हुन्थ्यो, त्यो पनि अहिले रोकिएको अवस्था छ । त्यो पनि जिल्लालाई मात्र हो । यसतर्फ पनि महासङ्घले सोच्नुपर्नेछ । महासङ्घले जिल्ला, नगरको आयस्रोत खोज्नुपर्छ । उहाँहरु सक्षम भए भने न महासङ्घको गरिमा बढ्ने हो ।

योसँगै अहिलेको कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीलाई उत्थान गर्नु महासङ्घको आजको आवश्यकता हो । यी तमाम समस्या अहिले महासङ्घको थाप्लामा छ । यी सबै मुद्दा सम्बोधनका लागि पहिले त हामी महासङ्घको नेतृत्वमा गइसकेपछि जुन हाम्रो जिल्ला, नगर परिषद छ त्यसलाई सक्रिय बनाउँछौँ । त्यसपछि अहिले भइरहेको महासङ्घ र व्यवसायीबीचको अपनत्वको ग्यापलाई एउटा पान पसले किन नहोस् उसले समेत महासङ्घ मेरो हो भन्ने फिल गराउँछौँ । महासङ्घमा जिल्ला, नगर हेर्ने एउटा सबल, सक्षम र प्रभावकारी सचिवालय बनाउँछौँ । त्यसमा कर्मचारीहरुको व्यवस्था समेत गरिनेछ । यसले तमाम जिल्ला, नगरमा भए गरेका समस्या तथा मुद्दाहरुको सम्बोधन गर्नेछ । 

अहिले महासङ्घमा राजनीतिक पार्टीको झल्को दिने गरी चुनावी प्रतिस्पर्धा चल्दैछ । तर तपाईं रोजाइमा चाहिँ किन ढकाल प्यानल नै प-यो ? 
यसमा त्यस्तो ठूलो कारण केही छैन । सिम्पल, ढकालजी र म दुवै जना जिल्लाबाट आएका व्यक्ति हौँ । यसले पनि जिल्ला, नगरलाई बुझ्न र काम गर्न सहज हुन्छ भन्ने मेरो बुझाइ हो । त्यसमाथि चन्द्रजी एक सफल र अनुभवी व्यवसायी समेत हुन् । 

यसमा अझ अर्को निकै महत्त्वपूर्ण र छुटाउनै नहुने पाटो भनेको उनको राजनीतिक पहुँच हो । चन्द्रजीको जति राजनीतिक सम्बन्ध र पहुँच छ त्यति अर्का उम्मेदवार किशोर प्रधानको छैन । अनुभवका हिसाबले र महासङ्घमा क्रियाशीलताका हिसाबले त प्रधानजी पनि लामो समय विताएका व्यक्ति हुनुहुन्छ । तर अहिलेको चाहना र आवश्यकता भनेको चन्द्रजी नै हो । त्यसैले मैले पनि उहाँकै प्यानबाट आफ्नो उमेदवारी दिए । 

५४औँ साधारण सभापश्चात महासङ्घको नेतृत्व सम्हाल्दै गरेका शेखर गोल्छाले हाँकाहाँकी प्रधान समूहलाई समर्थन गर्दैगर्दा भोलि महासङ्घमा तपाईंहरुलाई काम गर्न अप्ठ्यारो पार्दैन ? 
योबीचमा हामीबीच केही तिक्तता अवश्य भएका छन् । शेखरजीले हाम्रो मन दुखाउने काम अवश्य गरेका छन् । तर यसो भन्दैमा हामीले यही ईबी पछिसम्म राखिराख्दैनौँ । निर्वाचनको भोलिपल्टबाटै हामीबाट यी सबै तिक्तता र असमझदारीहरु हट्नेछन् । एकजुट भएर काम गर्नेछौँ । 

जहाँसम्म नेतृत्वकर्ताको एक पक्षीय समर्थनको कुरा छ, यसो नहुनुपर्थ्यो । यसले बाहिर राम्रो सन्देश पक्कै गएको छैन । भित्र मनमा जेजस्तो जो भए पनि समर्थनको मामलामा शेखरजी मौन बसिदिनुभएको भए नै राम्रो हुन्थ्यो । त्यसो हुन सकेन । खैर ! केही छैन । उहाँको उता समर्थन भए पनि जित्ने भनेको हामीले नै हो । चन्द्रजीले नै हो । हामी सबै मिली महासङ्घको गरिमा बढाउने काममा लाग्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप