बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याराडोनाः अर्जेन्टिनामा तीन दिनको शोक, सडकमा उत्रिए प्रशंसक

बिहीबार, ११ मङ्सिर २०७७, १५ : २३
बिहीबार, ११ मङ्सिर २०७७

डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षका म्याराडोनाले निधन भएको थियो । 

म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा राखिएको छ भने त्यहाँ तीन दिनसम्म मानिसहरुले श्रद्धाञ्जली अर्पण गर्नेछन् । 

म्याराडोनाका टीमका साथी ओहवाल्दो अर्बिलेसले जति मान सम्मान र प्रशंसा म्याराडोनाले पाए त्यति आजका फुटबलका सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि नपाएको बताएका छन् । 

फुटबल जगतका थुप्रै हस्तीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन् । यीमध्ये मेस्सी, रोनाल्डोदेखि ब्राजिलका महान् खेलाडी पेलेसमेत छन् ।

पेलेले श्रद्धाञ्जलीमा भने, ‘मैले एक नजिकका साथीलाई गुमाएको छु र संसारले एक महान् खेलाडी गुमाएका छन् । मलाई आशा छ एक दिन हामी स्वर्गमा सँगै फुटबल खेल्नेछौं ।’

म्यान्चेस्टर सिटीका म्यानेजर पेप गुआर्डियेलोले म्याराडोनाले विश्व फुटबललाई थप उत्कृष्ट बनाएको बताएका छन् ।

अर्बिलेसले बीबीसीसँगको कुराकानीमा भने, ‘म्याराडोना असाध्यै उत्कृष्ट थिए । तर उनले त्यति सजिलै यी सब हासिल गरेका होइनन् । जीवनको सुरुवाती दिन म्याराडोनाका लागि निकै कठिन थिए । उनको वाल्यकाल कुनै साधारण बच्चाको जस्तो थिएन र किशोरावस्था पनि सामान्य थिएन । जो कोही उनीसँग हुन चाहन्थे, जो पनि उनी आफूलाई जोड्न चाहन्थे र यो सबै निकै मुश्किलले भरिएको थियो ।’

अर्बिलेसका अनुसार मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डोलाई रुचाउन् वा अर्जेन्टिनाका फरवर्ड मेस्सीलाई मन पराउन् तर उनीहरु म्याराडोनाले पाएको सफलता सपनामा पनि पाउन सक्दैनन् । म्याराडोनाको चमत्कार सदाबहार छ । 

अहिले म्याराडोनको शवको पोस्टमर्टम हुन बाँकी छ । स्थानीय समयानुसार म्याराडोनाको निधन बुधबार दिउँसो ब्यूनस आयर्सको टाइगर शहरस्थित उनको घरमा भएको हो । 

म्याराडोनाको यो महिनाको सुरुवातमा मस्तिष्कबाट जमेको रगत निकाल्ने सफल शल्यक्रिया भएको थियो । 

यसका साथै रक्सीको लतबाट मुक्तिका लागि पनि उनको उपचार चलिरहेको थियो । 

बुधबार च्याम्पियन्स लिग म्याचमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौन राखियो । यो हप्ता युरोपियन फिक्सर्समा पनि एक मिनेटको मौन राखिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप