शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिबन्ध फुकुवापछि कुन देशबाट कति भित्रिए मदिरा ?

बिहीबार, ११ मङ्सिर २०७७, १८ : २४
बिहीबार, ११ मङ्सिर २०७७

सरकारले गत चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर विदेशी तयारी मदिरा आयातमा रोक लगायो । तर विदेशी मुद्राको सञ्चितमा चाप परेको भन्दै प्रतिबन्ध गरिएको विदेशी मदिरा आयात यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले फेरि फुकुवा गर्यो ।

 राजपत्रमा भएको व्यवस्था संशोधन गरेर मदिरा आयात खुलाउने निर्णय भएको हो ।  मदिरा प्रतिबन्ध फुकुवा भएपछि आयातका लागि विदेशी मुद्रा सटहीको सुविधा पनि नेपाल राष्ट्र बैङ्कले दिन थालेको छ भने विदेशी तयारी मदिरा आयात धमाधम भइरहेको छ  । मदिराका लागि चाहिने कच्चा पदार्थ भने आयात भइरहेकै थियो । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले आयात प्रतिबन्ध फुकुवा भएपछि तयारी मदिरा विभिन्न देशबाट आयात भएको बताए । 

मदिरा आयात फुकुवा भएको एक महिनामा बेलायत, स्विजरल्यान्ड, आइसल्यान्ड, आयरल्यान्ड, अस्ट्रेलिया आदि मुलुकबाट तयारी मदिरा भित्रिएका छन् ।विदेशी मदिरा कारोबार गर्दै आएका व्यवसायीका अनुसार नेपालमा एक बोतलको ६ लाख रुपैयाँसम्म पर्ने मदिरा छन् । 

 सरकारले विदेशी महँगा मदिरा आयातमा रोक लगाएपछि करोडौँ रुपैयाँ जोगिएको थियो  । यसले वैदेशिक व्यापार घाटा केही हदसम्म कम गर्न सहयोग पनि मिलेको थियो । तर सरकारको निर्णयसँगै स्वदेशी मदिरा उत्पादकहरु बेखुसी बनेका छन् । अझै केही वर्ष विदेशी मदिरा आयात प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको तर्क छ ।

विशषगरी सहर बजारमा सभा, सम्मेलन, चाडवाडको चहलपहल हुँदा मदिराको खपत ज्यादा हुन्छ । विशेषगरी दसैँ र तिहारजस्ता चाडबाडमा मदिराको खपत ज्यादा हुन्छ । 

कुन देशबाट कति भित्रिए मदिरा ? 
चालू आर्थिक वर्ष (२०७७/०७८) को चौथो महिनामा अस्ट्रेलिया इटली, कोरिया, लुथानिया, बेलायत (यूके), आइसल्यान्ड, भारत लगायत देशबाट तयारी मदिरा भित्रिएका छन् । 
जसमा अस्ट्रेलिया र इटलीबाट १ हजार ६ सय २२ लिटर वाइन भित्रिएको छ । 

वाइनका लागि १० लाख ५१ हजार नेपाली रुपैयाँ बाहिरिएको छ । यस्तै कन्ट्री वियर (छ्याङ) कोरियाबाट ६ हजार रुपैयाँ बराबरको ६ लिटर नेपाल आयात भएको छ । 
यूके, स्विडेन, आयरल्यान्डबाट तयारी ह्विस्की ७५ हजार २ सय ४० लिटर भित्रिएको छ । यसका लागि १५ करोड ४७ लाख ३० हजार रुपैयाँ बाहिरिएको छ । 

यस्तै रम ११ हजार रुपैयाँ बराबरको ८ लिटर यूकेबाट भित्रिएको छ । भोड्का आइसल्यान्डबाट १३ हजार रुपैयाँको ८ लिटर भित्रिएको छ । यस्तै जिन एन्ड जेनेभा २ लाख १९ हजार रुपैयाँ बराबरको १ सय ६२ लिटर यूकेबाट भित्रिएको छ । 

भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने मदिराका लागि चाहिने कच्चा पदार्थ प्रतिबन्ध नभएकाले यसको आयात भने रोकिएको थिएन ।  
विभागका अनुसार एक्स्ट्रा नेचुरल अल्कोहल, वाइन, ह्विस्की, माल्ट बियर, गुलियो रक्सी, जिन, भोड्का र  रम विदेशबाट आयात हुन्छ ।

  एक्स्ट्रा न्युटल अल्कोहल  फ्रान्स, पोल्यान्ड र भारतबाट  १२ लाख १५ हजार लिटर आयात भएको छ । यसका लागि १७ करोड ४४ लाख ३ हजार रुपैयाँ बाहिरिएको छ । 
यस्तै माल्ट बियर लिथुनियाबाट ४५ हजार बराबरको ४० हजार लिटर भित्रिएको छ । अन्य १३ करोड ५५ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको छ । 

 गत आर्थिक वर्ष झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको मदिरा आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ । 

पछिल्लो समय स्वदेशमै राम्रा र गुणस्तरीय मदिरा उत्पादन भए पनि विदेशी मदिराको पारखी घट्न नसकेको विभागको तथ्याङ्कले देखाउँछ । 

यद्यपि मदिरा स्वास्थ्यका लागि भने निकै हानिकारक मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप