शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिजिटल शहरतर्फ बुटवल : अर्थमन्त्रीद्वारा विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ

बिहीबार, ११ मङ्सिर २०७७, १९ : ३५
बिहीबार, ११ मङ्सिर २०७७

बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको बाटोमा महत्वपूर्ण कदम चालेको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने गराएको छ । 

उपमहानगरपालिका र यसअन्तर्गत १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट राजश्व सङ्कलन शुरु गरिएको हो । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजश्व बुझाउन सकिनेछ ।

करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाइ सेवा शुल्क, अचल सम्पत्ति मूल्याङ्कन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायत राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ । 

डिजिटल प्रविधिको यो नौलो व्यवस्थाको आज एक समारोहका बीच शुभारम्भ गर्दै नेपाल सरकारका अर्थमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णुप्रसाद पौडेलले डिजिटल सिटीको अभियानमा बुटवलले महत्वपूर्ण कदम चालेको बताए । कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुने उनको भनाइ थियो । 


त्यसक्रममा उनले डिजिटल प्रविधिको कारोवारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्नुपर्ने बताए । बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलव्ध गराउन उपमहानगरलाई आग्रह गरे । 

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै उपमहानगरलाई सेवा केन्द्रका रुपमा विकास गरिएको बताए । बुटवलमा काठमाडौँ उपत्यकापछि पहिलोपटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) को शुभारम्भ भएको थियो ।

त्यससँगै यहाँका करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जिपिएस र जिआइएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ । अहिले शुरु गरिएको ई–पेमेन्ट सिस्टमसँगै बुटवलले डिजिटल प्रविधिमा अर्को फड्को मारेको छ । जनप्रतिनिधि आएपछि वृद्धि हुँदै गएको राजश्व सङ्कलन अनलाइन प्रणालीको प्रयोगसँगै अझै बढ्ने उपमहानगरपालिको विश्वास छ । 

उपनगरपालिकाको काम समय अनुकूल र सूचना प्रविधिसँग जोड्दै नगरवासीको सहजताका लागि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताए । उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ पनि गरिसकेको छ । ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरमा नम्बर प्लेट टाँस्ने काम गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप