शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सञ्चार क्षेत्रको भूमिका अझै सशक्त बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

बिहीबार, ११ मङ्सिर २०७७, २२ : १३
बिहीबार, ११ मङ्सिर २०७७

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकास र परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सञ्चार संस्थाकै कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सम्भव भएको धारणा राखे ।

मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै सञ्चार क्षेत्रको भूमिकालाई अझै सशक्त बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दैनिकपत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईले दैनिक पत्र मोफसलको उत्कृष्ट पत्रिका भएको बताउँदै संस्थाको उन्नति एवं प्रगतिका लागि सहयोग गर्ने पाठक, विज्ञापनदातालाई आभार एवं धन्यवाद व्यक्त गरे । 

संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अझै पनि मिडियाको कामलाई सरकारले महत्व नदिएको बताउँदै कोरोनाको महामारीमा समेत मिडिया सञ्चालन गर्दा हुने समस्या र राहतका बारेमा कसैले नसोधेको गुनासो गरे । 

मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैको पहल आवश्यक रहेको बताए ।

कार्यक्रममा लेखक तथा साहित्यकार झपेन्द्र जिसीले स्वदेशमा काम गर्ने सोंच निर्माण नहुँदासम्म आर्थिक अवस्था चलायमान नहुने धारणा राखे । बुटवल उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष विमलराज भट्टराईले कोरोनाका कारणले उद्योग व्यवसाय बन्द हुँदा बेरोजगारी बढ्दै गएको र कृषिमा लगानी नहुनुले पनि आर्थिक अवस्था चलायमान नभएको विचार राखे ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कोरोनाका कारणले पर्यटन व्यवसाय उठ्न नसक्ने गरी थला परेको जनाउँदै पर्यटन व्यवसायलाई बचाउनका लागि सरकारले कुनै राहतको कार्यक्रम नल्याएको दुखेसो गरे । 

कार्यक्रममा प्राध्यापक लीलाबल्लभ ढकाल, लेखक तथा अर्थस्तम्भकार माधवकुमार पौडेल, दैनिकपत्रिका प्रबन्ध सम्पादक ऋषि आजाद, कार्यकारी सम्पादक सिपी खनाललगायतले कोरोना कारण मिडियामा भएको असर कम गर्न सरकारले विशेष योजना बनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप