बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुनःस्थापना र पुनः निर्माणमा प्राधिकरणका उपलब्धिबारे वेविनार हुने

बिहीबार, ११ मङ्सिर २०७७, २२ : २३
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । भूकम्पपछिको  पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेवमा आधारित सेमिनार (वेविनार) आयोजना गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । यी विषयगत अध्यायलाई वृहत् छलफल तथा परामर्शबाट टुङ्ग्याउने उद्देश्यसहित छलफल आयोजना गरिएको प्राधिकरण कार्यकारी समिति सदस्य एवं प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डा.चन्द्रबहादुर श्रेठले जानकारी दिए । उनका अनुसार विभिन्न विषयगत अध्याय तयार गर्न प्राधिकरणका अधिकारी एवं विज्ञ संलग्न रहेका कार्यसमूह गठन गरिएको थियो ।

प्राधिकरणले निजी आवास पुनःनिर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, सांस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी ६ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव संकलन गरिनेछ  ।

वेविनारको उद्घाटन शुक्रबार हुनेछ । पहिलो दिन निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुनेछ भने दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायमा छलफल हुनेछ । वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ताहरु, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतका उपस्थिति हुने डा.श्रेठले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप