शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रतिनिधिसँग प्रचण्डले भेट्न नचाहको कि भेट्न नपाएको ?

शुक्रबार, १२ मङ्सिर २०७७, ११ : १९
शुक्रबार, १२ मङ्सिर २०७७

नेपालमा एकपछि अर्को उच्चस्तरीय भ्रमण जारी छन् । शुरुमा भारतीय जासुस संस्था रअ का प्रमुख सामान्त गोयल आए, त्यसपछि भारतीय सैनिक प्रमुख मनोज मुकुन्द गोयल आएर फर्किसके ।

अहिले भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपालको भ्रमणमा छन् । भारतको यी उच्चस्तरीय भ्रमणको विषयमा विभिन्न खाले टिकाटिप्पणी र विश्लेषण भइरहेको छ । तर, यी सबैबाट टाढा छन् नेपाल कम्युनिस्ट पार्टी (नेकप) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनी कुनैपनि भेटघाटमा सहभागी भएनन् ।

प्रचण्ड नीजि सचिवालय स्रोतका अनुसार भारतीय प्रतिधिनिहरुले भेट्न चाहे पनि प्रचण्डले नमानेको । उता, भारतीय दूतावास स्रोत भन्छ, ‘नेपाल भ्रमणमा आएका प्रतिनिधिहरुले नेकपा अध्यक्ष प्रचण्डसँग भेट्ने कार्यक्रम नै नराखेको ।’

कसको कुरा सही हो, त्यसको विश्लेषण मात्र गर्न सकिन्छ । तर यसले नेपालको अन्तराष्ट्रिय राजनीतिमा निकै महत्त्व राख्छ । भारतबाट आएका प्रतिनिधिहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा अ‍ोली, विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुसँग भट्नु र देशका ठूलो पार्टी जसले सरकारको नेतृत्व गरिरहेको छ सो दलका कार्यकारी अध्यक्ष रहेका प्रचण्डलाई नभेट्नु ठूलो अर्थ रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । यसले देशमा अन्तर्राष्ट्रिय राजनीतिको ध्रुवीकरण बढिरहेको भनि पुष्टि हुन्छ ।

आगामी १४ गते चीनका रक्षा मन्त्री वेइ फेंग्हे नेपाल भ्रमणमा आउन लागेका छन् । मन्त्री वेइ फेंग्हे र अध्यक्ष प्रचण्डबीच भने भेटघाटको कार्यतालिका रहेको छ । सो भेटघाट हुने नहुने कुरा त्यही दिन थाह हुन्छ तर हालसम्म त्यो कार्यतालिका कायम रहेको छ ।

नेकपाका स्थायी कमिटी सदस्य भन्छन्, ‘नेकपामा अहिले विवाद चलिरहेको छ । यसमा अन्तर्राष्ट्रिय इन्ट्रेस्ट रहेको पनि भनिरहेका छन् । यस्तोमा भेटघाट गर्यो भने झन् विवाद उत्पन्न हुन्छ त्यही भएर भेटघाट नगरेको हुनसक्छ ।’

‘रअ’ का प्रमुख गोयल नेपाल आएर सिधै प्रधानमन्त्री अ‍ोलीलाई भेट्न बालुवाटार पुगेको कारण पार्टीमा विवाद उत्पन्न भएको छ । पार्टीलाई कुनै जानकारी नै नदिइकन रअ प्रमुखलाई भेट्नुले नेकपा झन् विवाद बढेको छ । ‘रअ’ का प्रमुखलाई प्रधानमन्त्री अ‍ोलीले भेट्नु आपत्तिजनक रहेको भन्दै प्रचण्डपक्षले त्यसको विरोध गरिरहेका छन् । त्यस अवस्थामा उनी आफै भारतीय प्रतिनिधिलाई भेट्यो भने झन् लफडा हुने डरले भेटघाट नभएको पार्टी सम्बद्ध स्रोतहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले हालसम्म आएका सबै प्रतिनिधिलाई सरकारको प्रतिनिधिको रुपमा भेटेका छन् वा पार्टी प्रतिनिधिको हैसियतले भेटका छन् त्यो कुरा बालुवाटारले स्पष्ट पारेको छैन । तर उनले भारत तथा चीनबाट आउने प्रतिनिधिहरुलाई बालुवाटारमै बेलाएर भेटेका छन् । जुन कुरा ‘प्रचण्ड’हरुले रुचाएका छैनन् ।

पार्टीमा विवाद नहुँदा कार्यकारी अध्यक्ष प्रचण्डले पनि विदेश प्रतिनिधिहरुलाई भेट्ने गर्थे । कहिले काहीँ ओलीकै साथमा रहेर प्रतिनिधिहरुलाई भेटेको तस्विरहरु बाहिर आएका छन् । तर पार्टीमा विवाद शुरु भएदेखि प्रचण्डले विदेश खासगरि भारतीय प्रतिनिधिहरुसँग भेट्न छाडेका छन् । राजनीतिक विश्लेषकका अनुसार नेकपाको विवादमा चीन र भारतले खेलिरहेका छन् । त्यसका लागि चीनका प्रतिनिधिहरुले दुवै पक्षलाई दबाब दिइरहेका छन् । चीनले एउटा पद छाडेर भएपनि नेकपालाई फुट हुनबाट जोगाउन प्रधानमन्त्री अ‍ोलीलाई सुझाव दिएको थियो, जुन कुरा प्रधानमन्त्री ओलीलाई मन परेको छैन ।


चासो सीमा विवाद

भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुृर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतोसँग राजनीतिक रुपमा भेटघाट गरेका छन् । हरेकको भेटमा नेपाल–भारतबीच रहेको समिा समस्याको एजेण्डा रह्यो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सचिव भरत पौड्यासँगको भेटघाटमा मुख्यपनि मुख्य रुपमा सीमा विवादलाई नै उठाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, दुई देशको बीचमा देखिएका पछिल्लो समस्या सीमा विवाद नै हो, त्यसको विषयमा भेटघाटमा कुरा उठ्ने स्वभाविक नै हुन्छ । यसलाई विभिन्न तहमा छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’

सीमा विवाद समाधान गर्न जुन तह र स्तरको आवश्यकता हुन्छ, सबैमा छलफल हुने र समाधान गर्ने कुराकानी भएको उनले बताए ।

जसपा नेपालका  अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतोले विदेश सचिव श्रृगंलालाई द्वारिका होटलमै गएर भेटेका छन् । त्यसमा पनि विदेश सचिव शृङ्गलाले नक्साको विषयमा मधेशवादी दलले देखाएको समर्थनमा प्रश्न गरेका थिए । नयाँ नक्सा जारी भएपछि भएको संविधान संशोधनमा जसपा नेपालले पनि समर्थन जनाएको थियो । भेटमा समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर बनेको जसपा नेपालका लागि विदेश सचिव शृङ्गलाले बधाइ दिएका थिए । जसपा नेपालका नेताहरुले पनि दुई देशको बीचमा देखिएका सीमा समस्या चाँडै समाधान गर्न सुझाव दिएको एक नेताले बताए ।

भारतीय विदेश सचिव शृङ्गलाले सोल्टी होटलमा आयोजित एक कार्यक्रममा आफ्नो मन्तव्य दिएर आजै भारत फर्किने कार्यक्रम रहेको छ । मौसमले साथ दिए भने गोरखा पुगेर भारतद्वारा निर्मित एउटा स्कूलको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप