बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
आमा र यमदूतहरु—१७ (अन्तिम किस्ता)

मोक्षका उपदेश सुनाउँदै हिँड्ने अन्धविश्वास र भ्रमको दयनीय दास

एक प्रति सङग्रहालयमा राखेर बाँकी सबै जलाउनुपर्ने पुस्तक गरुड पुराण
शनिबार, १३ मङ्सिर २०७७, ०० : ०७
शनिबार, १३ मङ्सिर २०७७

 

 

 

त्रिचालीस

पुरोहित बाजेलाई ज्याला टक्र्‍याउनुपर्ने एघारौँ दिन बिहान भालेको डाकमा मेरो निन्द्रा खुल्यो । बत्ती बालेँ र कुनै दिन आमाको सम्झनामा केही लेख्नुपर्दा भन्ने अभिप्रायले मनमा पुनःजीवित र पुनःआविष्कृत भएका स्मृति–प्रकरणहरू डायरीमा टिपेँ । गरुड पुराण नामक अपराध–कथा समाप्त भई  एक प्रकारले मेरो मन हलुङ्गो भएको छ ।

कतै टाढा कलिलो बाछो कराएको सुनेँ । त्यसपछि चौपायका पदचापहरूको भद्दा आवाज मेरो कानमा ठोक्किन आइपुग्यो । आँगनमा बाँ गर्दै चौपाया करायो । अघिल्लो दिन बाजेलाई दान दिने लिखुरे बाछी आँगनमा बाँधिएको थियो । सोचेँ, आमाको न्यास्रो लागेर त्यही नानी कराएकी होली । पट्याक्–पट्याक्–पट्याक् । कसका चप्पलको पट्याक्–पट्याक् हो त्यो दुखिया पुरोहित बाजेको जस्तो ?

बाहिर निस्किएँ । पुरोहित बाजे लगौँटीको फुर्को हल्लाउँदै नल्कीमा नुहाइरहेका छन् । उनको सानो छोरो आँगनमा गाईको बाछोलाई सुम्सुम्याइरहेको छ । उज्यालो मिरमिर मात्र भएको छ, कति सबेरै आइपुगेका हुन् यी पिता र पुत्र ? कहाँबाट ल्याइएका हुन् यी गौमाता र उनकी शिशु पुत्री ? म जिल् परेँ ।

गोदान नगर्ने हाम्रो सर्वसम्मतियुक्त बन्धुसल्लाह थियो । के दाइ बूढाहरूले बाजेका मतियार भएर भाइप्रति विश्वासघात गरेका हुन् ? के सिकारीका घातक वाणसामु तिनले घुँडा टेकेकै हुन् ?

गोदान नगर्ने हाम्रो सर्वसम्मतियुक्त बन्धुसल्लाह थियो । के दाइ बूढाहरूले बाजेका मतियार भएर भाइप्रति विश्वासघात गरेका हुन् ? के सिकारीका घातक वाणसामु तिनले घुँडा टेकेकै हुन् ?

साँल्दाइ बाहिर निस्कनुभयो ।

”के ताल हो यो ?” गाईतर्फ लक्ष्य गरेर मैले सोधेँ ।

”यो गोदानको शुभ व्यवस्था हो यार् ।” दाइ मुसुमुसु हाँस्नुभयो ।

“हाम्रो आन्तरिक सहमतिविपरीत यो व्यवस्था कसरी भयो ?”

“उनै भगवान्का कृपाले यो भयो ।” दाइको मुस्कानमा रहस्यको पर्दा झुन्डिएको मैले देखेँ ।

“यसको मोलमा म अंशियार हुनेछैन ।” मैले घोषणा गरेँ ।

“यो नाटक हो । यसमा तिम्रो पनि भूमिका हुनुपर्छ । तिमीले आत्तिनु पर्दैन यार्, भूमिका हलुङ्गो र रमाइलो छ ।”

लुब्ध पुरोहित र चतुर जजमानको गोप्य सहमतिले एउटा निकृष्ट नाटक रचिएछ । नाटकको पेटबेहोराले भन्यो— बाजेले आफूलाई गोदान गर्न आफ्नै किलाको लैनो गाई फुकाएर ल्याएछन् । अब पाखण्डपूर्ण नाटक मञ्चन गरेर बाजेको स्रेस्तामा जजमानको कीर्तिमान कायम हुने भयो— हेर, फलानाका छोराहरूले आमाको नाममा मुट्ठी फकाएर गोदान गरे ! अनि उता बाजेचाहिँ पछि–परन्तुमा प्रलोभनको मोर्चामा सप्रमाण धक्कु लगाउन पाउने अस्त्रबाट सज्जित भए— फलानाहरूले त गोदान पनि गरेका थिए, अब हजुरले ......?

पाखण्डपूर्ण नाटक मञ्चन गरेर बाजेको स्रेस्तामा जजमानको कीर्तिमान कायम हुने भयो— हेर, फलानाका छोराहरूले आमाको नाममा मुट्ठी फकाएर गोदान गरे ! अनि उता बाजेचाहिँ पछि–परन्तुमा प्रलोभनको मोर्चामा सप्रमाण धक्कु लगाउन पाउने अस्त्रबाट सज्जित भए— फलानाहरूले त गोदान पनि गरेका थिए, अब हजुरले ......?

“नाट्यकर्मीहरूको बीचमा गोप्य बोलकबोल के छ ?” मैले सोधेँ ।

“ज्ञानी गुरुलाई गाई ल्याएको र लगेको अलिकता ज्याला दिनुपर्छ ।”

“कति ?”

“त्यै दुई–चार सय दिनुपर्ला ।”

काल्पनिक नरकका यातनाकारी यमदूतहरूभन्दा पनि अमानवीकृत पुरोहितलाई मैले हेरेँ । उनी अझै तोत्र जप्दै र लगौँटीको फुर्को हल्लाउँदै नुहाइरहेका थिए । पुरोहित बाजेको टीठलाग्दो दशा देखेर मेरो हृदय द्रवीभूत भयो । बरा जो आफैँ अन्धविश्वास र भ्रमको दयनीय दास हो, ऊ अरुहरूलाई मोक्षका उपदेश सुनाउँदै हिँड्छ । अहिले भने मलाई उनको जनावरीकृत अस्तित्वप्रति अगाध दया लागेर आयो— बरा विचरा हाम्रा पुरिहित बाजे !

सहजै बुझिने गरुड पुराणको सार भन्छ— वाचक परोहित हिन्दु कर्मकाण्ड जगत‍्का सर्वाधिक पीडित, अपहेलित र तिरष्कृतमध्ये एक पात्र हुन् । उनको पुरेत्याइँ कर्मको कुनै दररेट छैन । यतिउति भनेर दावी गर्न पनि मिल्दैन । त्यसैले जजमानको मन पगाल्न उनी नित्य दयनीय, निरीह र आत्महीन मनोदशामा प्रस्तुत हुन अभिशप्त छन् । हिन्दू कर्मकाण्ड उनको निष्ठाको विषय किमार्थ होइन । निष्ठा त केवल बहाना हो, कर्मकाण्ड वास्तवमा उनको चारो जोड्ने सनातनी व्यवसाय हो । सम्मुख पर्दा जजमान उनलाई गोडामा ढोक्छ, कन्ना पछाडि ‘कन्दने’, ‘टपरे’, ‘लिच्चड’ भनेर उनलाई थुक्छ । कर्मकाण्ड गरिदिँदा न उनलाई धन छ न उनको मान छ । जब कोही बिरामी हुन्छ, उसका प्रियजनहरु ऊ कहिले निको होला भनी शुभ घडीको व्यग्र प्रतिक्षामा रहन्छन् । पुरोहित बाजे ? बरा यी बाजे बिरामी कहिले मर्ला र आतेपाते गरी दुई–चार माना चामल र दुई–चार रुपियाँ दछ्छिना हात पारुँला भनी घुटुक्क थुक निल्छन् ? कसैको त्रासद् मृत्यु र कसैको दारुण शोकमा बाजेको व्यवसाय चलेको छ । व्यवसायको माध्यम छ गरुड पुराण । अमानवीय गरुड पुराणलाई बलि चढाउनु वास्तवमा चरम् अमानवीकृत पुरोहित बाजेका शिरको प्रलोभन र अपमानको पर्वत समानको बोझ पन्छाउनु हो । तसर्थ हिन्दु कर्मकाण्डका क्रूर प्रकरणहरुलाई परित्याग गर्ने पथमा अघि लाग्नुपर्ने त दुखिया पुरोहित बाजेहरु स्वयंले पो हो !

जब कोही बिरामी हुन्छ, उसका प्रियजनहरु ऊ कहिले निको होला भनी शुभ घडीको व्यग्र प्रतिक्षामा रहन्छन् । पुरोहित बाजे ? बरा यी बाजे बिरामी कहिले मर्ला र आतेपाते गरी दुई–चार माना चामल र दुई–चार रुपियाँ दछ्छिना हात पारुँला भनी घुटुक्क थुक निल्छन् ? कसैको त्रासद् मृत्यु र कसैको दारुण शोकमा बाजेको व्यवसाय चलेको छ । व्यवसायको माध्यम छ गरुड पुराण । अमानवीय गरुड पुराणलाई बलि चढाउनु वास्तवमा चरम् अमानवीकृत पुरोहित बाजेका शिरको प्रलोभन र अपमानको पर्वत समानको बोझ पन्छाउनु हो ।

चवालीस

म आश्वस्त थिएँ, पुरोहित बाजेको कर्मकाण्डी मोर्चाको आक्रमणको क्रम अब तुरियो । उक्त मोर्चाका सबै लडाका विजयको उन्मादी मुद्रामा होलान् । चरम् सन्तुष्ट होलान् ती । तर मेरो मनचिन्ते कल्पना गलत सिद्ध भयो । एघारौँ दिन अपह्रान्ह विष्णु काका आइपुग्नुभयो, हाम्रा पूज्य जन्तेरे बाबैका कान्छीपट्टिका कनिष्ठ पुत्र । उमेरले म भन्दा कान्छा तर पुस्ताको नाताले मभन्दा वरिष्ठ र मेरा आदरणीय काका । एक्लै होइन, उहाँसँग एक झुन्ड दलबल थियो । साथमा एकजना अर्जुन भाइ थियो, बैंकको अफिसर । यति मनुवाको मलाई अझै सम्झना छ । बाँकी अरु चार–पाँचजना को थिए मैले बिर्सेँ । ती सबै मेरा नातेदार हुँदा हुन् तर मेरा परिचित भने ती थिएनन् । सबै सुटेड–बुटेड थिए । छाँटले ती सबै नै अड्डाका जागिरे वा विद्यालयका मास्टर वा गाउँ–छिमेकका पठित र टाठा–बाठा जग्गाकर्मी हुँदा हुन् ।

विष्णु काका आँधीको वेग भएर मेरो कोठामा भित्रिनुभयो । कमान्डरलाई अघि लगाएर आएको सैन्यगण पनि एकदमै झडपकारी मुद्रामा थियो ।

सन्चविसन्चको निख्लो शिष्टतासम्म पनि निर्वाह नगरी उत्तेजित लवजमा काकाश्रीको भावावेशयुक्त कण्ठ खुल्यो, “हाव खगेन्द्र, तिमीले यो के गरेका हौ ?”

“काका, जे देखियो र जे बुझियो मैले गरेको त्यै हो ।”

“पितृको काजक्रिया नगरेपछि भन त मान्छे र पशुमा भेदै कहाँ रह्यो ? तिमीजस्ता मान्छेले यो पशुव्यवहार के गरेका हौ ?”

“काका, कर्मकाण्डको यो विधि–व्यवहार आफैँ पशुत्वले भरिपूर्ण छ । मलाई लाग्यो, चुपचाप यसको पालना गर्नु भनेको साँच्चि नै राजीखुसीले पशु हुनु हो । विवेकहीन, तर्कहीन, मानवीयताहीन पशु । त्यसैले काका, मैले यो पशुत्वको अवज्ञा गरेको हुँ ।”

“यो पशुव्यवहार हो ।” स्वर उकासेर नाकका पोरा फस–फस फुलाउँदै काका कड्किनुभयो । “यसो गर्ने मान्छे कि धेरै माथि उठ्छ कि यसरी पतीत हुन्छ कि त्यो चूरचूर भएर तल धूलामा मिल्छ ।”

काकाको आत्मविरोधी तर्क सुन्दा मलाई अचम्म लाग्यो । मेरो त्यो आचरणमा म माथि उठ्ने अथवा काकाश्रीको अभिप्रायअनुसार म नामी हुने सम्भावनालाई पनि ठाउँ रहेछ । त्यो निर्विकल्प रूपले अनिष्ट नरकको बाटो त रहेनछ वा !

मैले निवेदन गरेँ, “काका, म कुनै उचाइमा छैन । म त धरतीको सतहमै छु, तल धूलोमा । म पतीत हुँदा पछारिने ठाउँ त्यही धूलो हो, जहाँ म अहिले छु । त्यसैले आफ्नो प्रिय भतिजको पतनप्रति काकाले फिक्री गरिरहनु पर्दैन ।”

काकाको चिन्तन अर्कोतिर मोडियो र यतिन्जेल रहस्यमा रहेको जडी कुरो अब खुल्यो, “उसै त जनजाति हौँ भन्नेहरूले हामीलाई पछार्न उपध्रो पच्चाइसक्या छन् । उसमाथि तिमीजस्ता कहलिएका मान्छेले यसो गर्न थालेपछि अब तिनले भुइँमा खुट्टा टेक्छन् ? हेरिराख न, तिनले अब हाम्रा टाउकामा खुट्टा टेकेनछन् भने ..... ।”

काकाको चिन्तन अर्कोतिर मोडियो र यतिन्जेल रहस्यमा रहेको जडी कुरो अब खुल्यो, “उसै त जनजाति हौँ भन्नेहरूले हामीलाई पछार्न उपध्रो पच्चाइसक्या छन् । उसमाथि तिमीजस्ता कहलिएका मान्छेले यसो गर्न थालेपछि अब तिनले भुइँमा खुट्टा टेक्छन् ? हेरिराख न, तिनले अब हाम्रा टाउकामा खुट्टा टेकेनछन् भने ..... ।”

“काका”, मैले निवेदन गरेँ, “नेपाली माटोमा उम्रिएको कुनै पनि नेपालीले आफ्नो हक खोज्नु कसरी हाम्रा टाउकामा टेक्नु हो र ?”

“तिमी जेसुकै भन, खगेन्, यिनीहरू उल्किएका तिमीजस्तै जान्ने भनाउँदाहरूले गर्दा हो । हाम्रो कुलधर्म, हाम्रो हकडक, हाम्रो इज्जत, हाम्रो यश, हाम्रो गौरव अब क्यै नरहने भो । एकजना बिराउने, शाखासन्तनलाई पिराउने । मलाई त तिम्रो मुख हेर्न पनि मन छैन ।”

“काका, मन नपर्नेको मुख नहेर्न पनि त सकिन्छ ।”

“यो हामी संग्रौलाकै बेइजती हो ।” काकाश्रीको गुनासोयुक्त गर्जन तैपनि शान्त भएन । “जिजुबाजेका पालादेखि मानिल्याएको शास्त्रको सनातन नियमलाई मान्न छाड्ने हो भने कहाँ रहन्छ मर्यादा ? कहाँ रहन्छ शिष्टता र सभ्यता ? जानिफकार भनाउँदाले यस्तो पनि गर्ने ?”

सनातन शास्त्रका कुरा उठेपछि मलाई पनि मोर्चामा अलि दह्रा खुट्टा टेकेर उभिने प्रेरणा भयो । रमरम झडपकारी स्वरमा काकाश्रीसमक्ष मैले निवेदन गरेँ, “काका, तपाईले कहिल्यै गरुड पुराण सुन्नुभएको छ ?”

“के को कहिल्यैका कुरा गर्छौ, मैले त्यो दसौँपटक सुने हुँला ।”

“त्यसभित्रको वर्णवाद, जातिवाद र नारीघृणामा कहिल्यै ध्यान दिनुभएको छ, काका ? शोकाकुल मानिसहरूलाई नरकको मिथ्या त्रास देखाउँदै स्वर्गको मिथ्या आश बेच्ने आपराधिक पुराण हो यो । यो कुरामा कहिल्यै काकाको ध्यान गएको छ ?”

काकाश्रीको वाणीमा हलुका ब्रेक लाग्यो । ब्रेककालीन अन्तरालबाट फाइदा उठाउँदै मैले भनेँ, “मुद्रणको संसारमा मानिसको दिमागले सोचेको, मानिसको हातले लेखेको र मानिसको मुखले वाचन गर्ने योभन्दा घृणित चीज अरु केही हुन सक्दैन । काका, पुस्तक जलाउने कुराको म सधैँ विरोधी हुँ । तर एक प्रति सङग्रहालयमा राखेर बाँकी सबै जलाउनुपर्ने पुस्तक हो यो । यो आपराधिक पुराणमा आधारित मृत्युसंस्कार निन्दनीय छ, त्याज्य छ । त्यसैले मैले यसको अवज्ञा गरेर यसतर्फ लोकको ध्यानाकृष्ट गर्न खोजेको हुँ ।”

काका, पुस्तक जलाउने कुराको म सधैँ विरोधी हुँ । तर एक प्रति सङग्रहालयमा राखेर बाँकी सबै जलाउनुपर्ने पुस्तक हो यो । यो आपराधिक पुराणमा आधारित मृत्युसंस्कार निन्दनीय छ, त्याज्य छ । त्यसैले मैले यसको अवज्ञा गरेर यसतर्फ लोकको ध्यानाकृष्ट गर्न खोजेको हुँ ।”

यतिन्जेलमा काकश्रीको आवेश तेन्जिङ नोर्गेका पाइला टेक्दै सगरमाथाको चुचुरोमा उक्लिसकेको थियो । उहाँलाई आफ्नो कुरो सुनाउनु थियो, मेरो कुरो सुन्नु थिएन । त्यसैले आफ्नो सुनाउनुजति सुनाइसकेर आफ्नो गणका साथ उहाँ बाटो लाग्नुभयो । हिँड्दा–हिँड्दै पनि काका महोदय भनिरहनुभएको थियो, “हेरौँला, यसो गर्नेको पतन भयङ्कर हुनेछ !”

म आफ्नो विश्वासमा ढुक्क थिएँ । जसको कुनै नाटकीय विधिबाट कुनै कृत्रिम उचाइतर्फ उत्थान नै भएको छैन, उसको कहाँ पतन हुनु ? सतहबाट सतहमै पछारिँदा मलाई कत्रो चोट पो लाग्ला र !

पैँतालीस

आमाको काजक्रिया हिजो सकियो । हिजो बेलुकाभरि नै हामी दाजु–भाइ र दिदी–बहिनीहरूका बीचमा प्राणघातक मौनता व्याप्त थियो । कुरा गर्न कुरै केही थिएन । आमाको मृत्यु भयो, नरपीडक प्रवृत्तिले ओतप्रोत भएको गरुड पुराण सुनेर पुरोहितलाई दान–दक्षिणा दिइसकेपछि कर्मकाण्डको थलोबाट आमालाई सदाका लागि बिदाबारी गरियो । आमा जीवित हुनुहुँदा उहाँ हाम्रो परिवारको सूर्यझैँ हुनुहुन्थ्यो र हामी उहाँका सन्तानहरू पृथ्वी भएर त्यस मातृ–सूर्यको कक्षमा परिक्रमा गथ्यौँ । आमाको अवसानसँगै त्यो सूर्य अस्तायो र त्यो गुरुत्वाकर्षण केन्द्रको पनि अवसान भयो । त्यसैले, सके अब हामी चार दाजु–भाइ र चार दिदी–बहिनीको एउटै थलोमा एकबारको यो जुनीमा फेरि कहिल्यै भेट नहोला । दिदी–बहिनीहरू आँसु निख्रिइसकेका आँखाले सुँक्क–सुँक्क रोइरहेका थिए, दाजुहरू मौन सुस्केरामा मौन बिलौना गरिरहेका थिए । मचाहिँ सर्वसम्मतिले पारित भएको आफ्नो प्रस्तावबारे हलुङ्गो मनोदशामा केही सोचिरहेको थिएँ ।

हो, मेरो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । आमाको स्मृतिमा एउटा भावनात्मक सूत्रको सिर्जना गर्ने मेरो प्रस्ताव थियो । त्यस्तो सूत्र, जसको आकर्षणले हामीलाई यदाकदा भेट गराइरहोस् । र, जन्मथलोको गाउँसम्म पुग्ने एउटा साँघु पनि होस् त्यो । उसो त त्यो आमाप्रति  कृतज्ञता प्रकट गर्ने एउटा सुन्दर माध्यम पनि त थियो । हाम्रो जन्मथलोको विद्यालयमा एउटा छात्रवृत्ति राखिदिऊँ, जसबाट विद्यालयको मुख देख्न नपाउने गरिब दलितका केही छोरीहरूले साक्षर हुने मौका पाऊन् । हाम्री निरक्षर आमाको स्मृतिमा त्यो दलित नानीहरूलाई एउटा स्यानो उपहार होओस् !

पैतृक सम्पत्तिको अंशभाग नपाउने दिदी–बहिनीहरूबाट मेरो प्रस्तावले उच्च उत्साहसाथ समर्थन पाएको थियो । र, अंशभाग पाउने बन्धुहरूबाट त्यसले मध्यम उत्साहसाथ समर्थन पाएको थियो । उत्साहको मात्रा भनेको आ–आफ्ना हृदयको आयतनमा भरपर्ने कुरा न हो । हृदयको आयतन हेरी मेरो प्रस्तावले आ–आफ्नो गछ्छेअनुसार चौतर्फी स्वागत प्राप्त गर्‍यो र त्यो सर्वसम्मतिबाट ट्याक्क पारित भयो ।

पैतृक सम्पत्तिको अंशभाग नपाउने दिदी–बहिनीहरूबाट मेरो प्रस्तावले उच्च उत्साहसाथ समर्थन पाएको थियो । र, अंशभाग पाउने बन्धुहरूबाट त्यसले मध्यम उत्साहसाथ समर्थन पाएको थियो । उत्साहको मात्रा भनेको आ–आफ्ना हृदयको आयतनमा भरपर्ने कुरा न हो । हृदयको आयतन हेरी मेरो प्रस्तावले आ–आफ्नो गछ्छेअनुसार चौतर्फी स्वागत प्राप्त गर्‍यो र त्यो सर्वसम्मतिबाट ट्याक्क पारित भयो । हुनेले अलि धेरै योगदान गर्ने, कम हुनेले कम र धेरै कम हुनेले भावनाले सहयोग गर्ने । यस कुरामा पनि हाम्रो बीचमा सहजै सहमति भयो ।

काजक्रिया खर्चको हरहिसाब हुन थाल्यो । मुट्ठी बाँधेर खर्च गर्दा पनि कुल खर्च पैँतीस–चालीस हजार रुपियाँ पुगेछ । हामी बान्धवहरूमाझ खर्चको भार दिदी–बहिनीका काँधमा नबोकाउने कुरा भयो, तैपनि उनीहरूले हत्तपत्त अघि सरेर काँध थापिहाले । यसबीचमा कसले के सन्दर्भमा कसरी कुराको उच्चरण गर्‍यो मलाई थाहा भएन, आमाको जिउनी–भागलाई लिएर भयावह बन्धु–कलह सुरु भयो । आमाको जिउनी भागमा खायबलबारीको एउटा रहरलाग्दो पाटो परेको थियो, त्यो कहाँ गयो ? आमाका सुन–चाँदीका गहना थिए, ती के भए ?

एकपलअघिसम्म वातावरणमा शोक, थकान र करुणा थियो, अब त्यसमा प्रतिशोध, लोभ र द्वेष व्याप्त भयो । जमिनको पाटो र सुन–चाँदीबारे म सर्वथा अनभिज्ञ थिएँ । पुर्ख्यौली गाउँमा अंशबन्डा हुँदा म पश्चिमको तनहुँमा शिक्षक थिएँ । परिवारमा चार अक्षर पढेको र चार पैसा आर्जन गर्न सक्ने ल्याकत भएको भाइ म । दाइहरुले अंशबण्डा गर्दा मेरो हिसाब राखेनन् । जेथो खास केही थिएन, त्यसैले हकदावी गर्नुको अर्थ र औचित्य मैले देखिनँ । तर अंश–भागका भोक्ताहरू अहिले मल्लयुद्ध गर्न कटिबद्ध छन्— आमाको त्यत्रो अंश–भाग कसले खायो ?

हदै भए नाथे त्यही पाँच–सात हजारको सम्पत्ति हुँदो हो त्यो जीउनी–भाग, तर अहिले कलहको विद्वेषयुक्त गर्जनले यति उग्र रूप लियो मानौँ त्यो हस्तिनापुरको राजसरह हो । कुरूप मानसिकताको त्यो विकृत अभिव्यक्ति, क्षुद्र स्वार्थको त्यो विद्रूत टक्कर, आपसी बन्धु–द्वेषको त्यो वीभत्स दृश्य— त्यो सबै देखेर म अवाक् र हतप्रभ भएँ । दिदी–बहिनीहरू दाइहरूतिर धारे हात लगाउँदै डाको छाडेर रुन थाले । यसरी हाम्रा संकीर्ण चित्त र क्षुद्र स्वार्थको टक्करमा परेर हाम्री आमाको सम्मानमा एउटा भावनात्मक स्मारक खडा गर्ने मेरो प्रस्तावको भ्रूणहत्या भयो ।

हदै भए नाथे त्यही पाँच–सात हजारको सम्पत्ति हुँदो हो त्यो जीउनी–भाग, तर अहिले कलहको विद्वेषयुक्त गर्जनले यति उग्र रूप लियो मानौँ त्यो हस्तिनापुरको राजसरह हो । कुरूप मानसिकताको त्यो विकृत अभिव्यक्ति, क्षुद्र स्वार्थको त्यो विद्रूत टक्कर, आपसी बन्धु–द्वेषको त्यो वीभत्स दृश्य— त्यो सबै देखेर म अवाक् र हतप्रभ भएँ । दिदी–बहिनीहरू दाइहरूतिर धारे हात लगाउँदै डाको छाडेर रुन थाले ।

मलाई चरम तिक्तता र ग्लानिको अनुभूति भयो, हामी सबै यमदूतहरू हौँ, जो एक–अर्कालाई ताडना दिन, ठग्न र लुछ्न तत्पर छौँ ! परपीडक अपराधपथका संवाहक साना र ठूला पुरोहित बाजेहरुको मोर्चा हाम्रो परिवारमा बलशाली र विजयी भयो, र मेरो वागी मोर्चाको दुर्गतिपूर्ण पराजय भयो ।

अन्धकारको आवरणभित्र आफ्नो पराजित अनुहार लुकाएर म त्यसै दिनको नाइट बसमा काठमाडौं हिँडेँ ।

छयाली

एकाबिहानै बगैँचामा आरुको बिरुवानेर बेतको होचो टुलमा बसेको छु म । मुन्टो उठाएर हेर्छु, आरुको बिरुवा त थाहै नपाई हुर्किएर फुर्किंदै वयस्क बोट पो हुन लागिसकेछ । हाँगा झन् फैलिएछन्, झ्याङ्गिएका पात झनझन् हरिया भएछन् । भुइँको जापानी दूबो पनि रहरलाग्दो गरी हलक्कै बढेछ । सयपत्री फूलका लहरहरू बडो उमङ्गसाथ फुल्न लागिसकेछन् । मखमलीका पोटीहरू मुस्कुराउन थाल्न पनि त अब बेर लाग्ने छैन । सेरोफेरोको परिवेशमा कुनै शोक छैन, कुनै सन्नाटा छैन, कुनै रिक्तता छैन । जहाँ जे थियो, त्यो सब यथावत् छ, आफ्नो ठाउँमा सब ठीकठाक छ । सहर निःशुल्क सफा गरेर विश्राम गर्न हाइटेन्सनको तारमा बसेका कागहरू सन्तुष्ट छन् । कागहरू पखेटा फट्कारेर सफा गर्दै चुच्चाले आङ कन्याइरहेका छन् । अब ती सधैंझैँ पूर्वतिर उड्नेछन् र साँझपख पश्चिमतिर फर्किनेछन् ।

मध्यराततिर लाटोकोसेरो हिंस्रक आवाजमा उसरी नै कराएथ्यो, जसरी त्यो पहिले कराउँथ्यो । अलिबेरअघि जुरेलीचरीको चिरीबिरी साबिकजस्तै सुनिएथ्यो । धोबीचरीले आरुको बोटउतातिरको चीसो माटोमा गँड्यौला टिप्दै तटस्थ भावमा मलाई सोधेकी थिई, ‘खगेन्, तेरी आमा खै ?’ तल्लो घरको छतमा सस्याना केटाकेटी खुट्टा उचालेर क्रीडा गर्दै आफ्नो बालसुलभ चञ्चलतामा मस्तसँग रमाइरहेका छन् ।

आफ्नो कक्षमा, आफ्नै गतिमा पृथ्वी नित्य घुमिरहेकै छ । आकाशको निस्सीम उचाइ होचिएको छैन । शरद् यामको पूर्वसन्ध्यामा नीलो आकाशको नीलिमा झन् कञ्चन, झन् सुन्दर, झन् मनमोहक हुँदै गएको छ । आफ्नो ठाउँमा सबै कुरा यथावत् छन्, सब कुरा ठीकठाक छन् । फरक एउटैमात्र छ, भित्र कोठामा हाम्री आमा हुनुहुन्न । कसैले उठाइदिएको लुलो हातले टीका लगाइदिउँला भन्नुहुन्थ्यो हाम्री आमा । दसैं आइसक्यो, त्यो लुलो हात पनि अब रहेन ।

आफ्नो कक्षमा, आफ्नै गतिमा पृथ्वी नित्य घुमिरहेकै छ । आकाशको निस्सीम उचाइ होचिएको छैन । शरद् यामको पूर्वसन्ध्यामा नीलो आकाशको नीलिमा झन् कञ्चन, झन् सुन्दर, झन् मनमोहक हुँदै गएको छ । आफ्नो ठाउँमा सबै कुरा यथावत् छन्, सब कुरा ठीकठाक छन् । फरक एउटैमात्र छ, भित्र कोठामा हाम्री आमा हुनुहुन्न ।

कांग्रेसको देउवा सरकारका संहारक हातबाट अपहरणको असभ्य शैलीमा भएको जुनियर भानुभक्तको गिरफ्तारी र यमदूतरूपी चमालेको कालो विधेयकले हाम्री आमालाई मारेरै छाड्यो ! सम्झेर ल्याउँदा मलाई त्यसैत्यसै थक्कथक्क लागिरहन्छ– यी दुई यमदूतका यी दुईथरी विनाशकारी क्रीडाको आघात नपरेको भए हाम्री आमा अरु केही वर्ष बाँच्न पाउनुहुन्थ्यो कि !

आरुको बोटको हरियाली र आकाशको नीलिमा हेर्दै मनको अत्यासलाग्दो रिक्ततामा म कुरा खेलाउँछु– अरु धेरैका आमा जीवित छन् । यसपालाको दसैँमा पनि तिनले आफ्ना हात आफैँ उठाएर आफ्ना सन्तानहरूलाई टीका लगाइदिने छन्, र मङ्गल कामनासाथ आशीर्वाद दिनेछन्— यमराजको नाश होस् !

हेर्छु, संसार कति ठूलो छ ! आखिर सानो त मेरो मनमात्रै पो रहेछ !

समाप्त

(२०५९ सालमा प्रकाशित यो पुस्तकलाई किस्ताकिस्ता गरी पुनःप्रकाशन गरिदिने रातोपाटीलाई धन्यवाद । चाख मानेर पढिसक्ने वा बोर लागेर बीचैमा पढ्न छाड्ने दुवैथरी पाठकलाई धन्यवाद । –लेखक)

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप