शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सहाना प्रधानको गौरवमय जीवनको अन्त्य

शनिबार, १३ मङ्सिर २०७७, ०९ : २७
शनिबार, १३ मङ्सिर २०७७

२०४७ सालको कुरा हो– सहाना प्रधान बहुदलीय व्यवस्थाको आगमनसँगै उद्योग तथा वाणिज्य मन्त्री भएकी थिइन् । साथै उनी मर्यादाक्रममा प्रधानमन्त्रीभन्दा पछाडि अर्थात् वरीयताक्रममा दोस्रो मन्त्री थिइन् । उनी उल्लासमय ढङ्गबाट आफ्नो कार्यमा समर्पित थिइन् । त्यही समयमा उनलाई भेट्न नेपालका लागि अमेरिकाका राजदूत जुलिया चाङ उनका कार्यालयमा गएकी थिइन् । त्यस घडी राजदूतलाई स्वागत गर्नेक्रममा उनी टेलिफोनको तारमा अल्झेर लडेकी थिइन् । अनि उपचारार्थ उनलाई शिक्षण अस्पतालमा पु¥याइएको थियो । त्यस घटनामा उनको दाहिने तिघ्रा भाँच्चिएको थियो । उपचारका क्रममा उनका तिघ्रामा स्टिलको नली राखिएको थियो ।

२०५५ सालको कुरा हो, त्यतिखेर सहाना विशेष कामले वीरगञ्ज गएकी थिइन् । त्यहाँ उनी आफ्नी बर्मेली साथी कलादेवी कार्कीको डेरामा बसेकी थिइन् । वीरगञ्ज पुगेको भोलिपल्टै उनीभित्र असहज अवस्थाको सिर्जना हुन थालेको थियो । खान पनि मन नगर्ने र शरीरमा पसिना मात्र आउने कारणले उनलाई हठात काठमाडौँ ल्याइएको थियो । अनि उनलाई सरासर त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा पु¥याएर त्यहीँ भर्ना गरिएको थियो । शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमिले त्यतिखेर सहानाको जाँच गरेका थिए । अनि उनले सहानालाई जतिसक्दो चाँडै उपचारार्थ भारतको नयाँ दिल्ली जाने पनि सल्लाह दिएका थिए । डा. सायमि भन्नु सहानाका केवल औपचारिक डाक्टर मात्र थिएनन्, उनी सहानाका पुत्रतुल्य नै पनि थिए । त्यसैले सहानाको स्वास्थ्य जानकारी लिन उनी घरिघरि सहनागृहमा पनि गइरहन्थे । खास कुरा के हो भने डा. सायमि सहानाका छोरा उमेशलालका सहपाठी पनि थिए ।

डा. अरुण सायमिले सहानाको नेपालमा उपचार नै हुन नसक्ने अवस्था देखेका थिए । त्यसपछि उनी आफै लागिपरेर नयाँ दिल्लीको एपोलो अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजीव लोचनसँगको सम्पर्कमा बसे । त्यति बेलै डा. अरुणले डा. राजीवसँग सहानाको मुटुमा देखिएको गम्भीर अवस्थाबारे सविस्तार जाहेर गरेका थिए । दुवै डाक्टरको सल्लाहअनुसार छोरी उषा र छोरा उमेशलालले सहानालाई दिल्लीको एपोलो अस्पतालमा पु¥याइएका थिए ।

एपोल अस्पतालमा सहनालाई क्याबिनमा भर्ना गर्न लागिएको थियो । तर सधैँझैँ त्यस बेला पनि उनी क्याबिनमा चाहिँ बस्न मानिन् । अनि उनैको इच्छाले जनरल वार्डमा नै उनी भर्ना भएकी थिइन् । वास्तवमा सहाना भनेकी सादा जीवन र उच्च विचारकी कुवेर थिइन् । त्यसैले उनले आफ्नो जीवनको मौलिक रीतमा कहिले पनि उतार चढावमा ल्याएकी थिइनन् ।


एपोल अस्पतालमा सहानाको सर्वप्रथम एन्जियोग्राम नै गरिएको थियो । त्यसको रिपोर्ट निस्केपछि थाहा भयो– उनको मुटुमा तीनवटा नै नसा बन्द भएका रहेछन् । अनि त्यतिखेरै मुटु खोलेर उनको बाइपास सर्जरी गरिएको थियो । त्यति ठूलो शल्यक्रिया गरे पनि उनी एक हप्तामा नै तन्दुरुस्त भएकी थिइन् । त्यसैले एक साता अस्पताल बसेपछि उनलाई त्यहाँबाट बिदा दिइएको थियो ।

मुटुको सल्यक्रिया गरेपछि सहानाले आफ्ना सबै काम सहज रूपमा नै परिचालन गरिरहिन् । तर त्यसपछि प्रायः विशेष गरेर नारी जातिको हड्डी खिइने रोगले उनलाई पनि आक्रमण गर्न थालिसकेको थियो । २०६८ सालको कुरा हो–सहानालाई अस्थिरोग ९इकतभयउयचयकष्क० ले सताउन थालेको थियो । त्यसैले उनको शरीरका हड्डीहरू कमजोर हुन थालिसकेका थिए ।  क्रमशः उनलाई हिँड्न र बस्न पनि असजिलो भइरहने गरेको थियो । अन्ततः उनका खुट्टा नै टेकिन छाडेपछि उनलाई बानेश्वरको सिभिल अस्पतालमा भर्ना गरिएको थियो । उनको चहानामा कुनै पत्रिका र नेतालाई पनि उनी अस्पताल भर्ना भएको समाचार सम्प्रेषण गरिएको थिएन । तर वामदेव गौतम चाहिँ ‘आमा’, ‘आमा’ भन्दै सुरुकै दिन अस्पतालमा पुगेका थिए ।

सहाना २०७० सालको आरम्भदेखि नै बोल्न र हिँड्न मन गर्दिन थिइन् । त्यसपछि नै उनी विस्तारै शिथिल हुँदै गइन् । त्यसै बेलादेखि आफ्ना भनाइ, चिन्तन र सोचलाई शीर्षस्थ स्थानमा पु¥याउने अवस्थादेखि उनी वञ्चित हुन थालेकी थिइन् । राष्ट्र र जनताको विषयमा चिन्तित हुँदाहुँदै  २०६८ सालदेखि उनी थला नै पर्दै जान थालिन् । उनलाई अन्तिम अवस्थामा शरीरले धोका दिएको थियो । उनको बोली पनि बन्द हुन थालेको थियो र पछिल्ला दिनमा बोली नै बन्द भएको थियो । उनलाई भेट्न उनका घरमा कोही आए भने पनि उनी बोल्न खोज्थिन् तर बोल्न भने सक्तिन थिइन् । त्यही पीडामा त्यतिखेर उनका आँखाबाट बरबरी आँसु खस्थे । त्यतिन्जेलमा उनलाई पक्षघातले पनि थला पारिसकेको थियो । उनी होसहवासबाट पनि टाढै जान थालिसकेकी थिइन् । उनको दिन भुक्तान भइरहेकै बेला मस्तिष्कघातका कारणसमेत जोडिनाले उनी माया मारिने अवस्थामा पुगिसकेकी थिइन् । त्यसपछि उनको जीवनचोलाको दिनगन्तीको आभास नै पनि देखापर्न थालेको थियो । सास भइन्जेल आश हुन्छ भन्ने नै आशा गरिएर वामदेव गौतमको सक्रियतामा उनलाई काठमाडौँको बयोधा अस्पतालमा पु¥याइएको थियो ।
सहानाको जीवनमा सोचेभन्दा धेरै नै अन्याय परेको थियो । तर जति नै खेदिए पनि उनी सही मात्र रहन्थिन् । आफ्नै पार्टी पनि निर्दयी हुन्छ भन्ने कुरा उनले सपनामा पनि देखेकी थिइनन् । उनले बहिनी बनाएकी दुर्गा पौड्यालले उनको यसै प्रसङ्गमा लेखेकी छिन्– ‘गङ्गादेवी कसजु दिदीले अलिकति सङ्केत गर्नु भएको थियो– ‘सहानालाई पार्टीले पनि त्यति वास्ता गरेन । राम्रो ठाउँ पनि दिएन । आफूभन्दा पछाडिका र पार्टीमा योगदान नभएकाहरूलाई राम्रो स्थान दिइयोस् तर उहाँलाई अलि पछाडि नै पारियो । त्यसैको असर पनि (सहाना दिदीको) दिमागमा परेको हुन सक्छ । गङ्गा दिदीले भनेका कुरा पनि ठीकै जस्तो लाग्यो । एमाले पार्टी नै त्यस्तो पार्टी हो जसमा इमानदार व्यक्तिहरू त्यहाँभित्र अटाउँदैनन् । बेइमान, फटाहा र भ्रष्टहरूले मात्र माथि पुग्ने अवसर पाउँछन् । नेताहरूको यस्तो चाल देखेर इमानदार कार्यकर्ताको दिमागमा नराम्रो असर त पर्छ नै !’ अनि सहानाले पनि आफ्नो जीवन सकिन लाग्दा दुर्गाकै मनका कुरा मदनलाल पौड्याल र तनै दुर्गा पौड्यालसमक्ष अन्तिम बोली बोलेकी थिइन्– ‘एमाले पार्टीभित्र बेइमानहरूको जमघट छ । पार्टीमा एक दुई जना नेताबाहेक सबै त्यस्तै फटाहा छन् ।’     
सहानाको अवस्था कारुणिक बन्दै गइरहेको थियो । उनको जीवनको अन्तिम अवस्था धेरै पीडादायी थियो । उनको जीवनको समाप्तिका प्रसङ्गमा उनकी छोरी उषा श्रेष्ठले भनेकी थिइन्– ‘मेरी ममी दुई तीन वर्ष ओछ्यानमा पर्नुभयो । पछिल्लो समयमा उहाँको आवाज लरबराइ सकेको थियो, पछि आँसु निकाल्नु हुन्थ्यो । जस्तो विपदमा पनि आँसु नखसाल्ने मेरी ममीको आँसु देख्दा म पनि आँसु रोक्नै सक्दैनथेँ । ममीलाई बयोधा अस्पताल लाने दिन म पनि ममीसँगै थिएँ । सायद अन्तिम बेला भयो भन्ने ममीलाई थाहा थियो होला । मलाई एकोहोरो हेरिरहनु भयो । नहेर्नु ममी आँखा दुख्छभन्दा पनि उहाँले मान्नु भएन । ममीले आँसु निकाल्नुभयो । डा. प्रकाशराज रेग्मी नियमित रूपले घरमै आई ममीलाई जाँच्नुहुन्थ्यो । उहाँले नै अस्पताल लानुपर्छ भनी प्रस्ताव राख्नुभएको थियो । त्यसपछि हामीले वयोधा अस्पताल लग्यौँ । ममीलाई बेहोस अवस्थामा त्यहाँ भेन्टिलेटरमा राखियो । त्यही बेहोस अवस्थामा नै ममी जानुभयो ।’

सहाना कसैकी एउटी व्यक्तिगत आमा, स्कुल कलेज र दलकी एउटी साझे गुरुआमा र वाम राजनीतिकी चाहिँ एउटी पूर्ण आमा नै थिइन् । वामदेव गौतमले आमा मानेजस्तै उनको जीवन खराखर पढ्नेहरूले उनलाई सग्लो ‘आमा’ नै माने । वास्तवमा आमाले झैँ व्यथापीडा, डाहा र छटपटी चपाउँदै, निल्दै र पचाउँदै नेपाली भूमिमा झन्नै पौने शताब्दीसम्म जनसेवामा उनी हिँडेकी थिइन् ।
सहानालाई पराइ अनि आफ्ना भन्ने जतिले जतिसुकै कुल्चे पनि, थिचे पनि र किचे पनि ती सबै बोझ अविश्रान्त रूपमा उनले आफ्नो थाप्लोमा थामिरहिन् । खासगरेर नेपाल कम्युनिस्ट पार्टीको इतिहासको कापकापदेखि चुचुरो चुचुरोसम्मको अध्ययन गर्दै जाँदा उनी जागरण, बौद्धिकता र सहनशीलताकी प्रखर नमुना नै देखिन्थिन् । त्यसैले उनलाई वामदेव गौतमले सधैँ ‘आमा’ नै भनिरहे । उनले सहानालाई आमा मात्र भनेका थिएनन्, आफ्नो गच्छेअनुसार आमाप्रति गर्नु पर्ने सबै कर्तव्य पनि गरेका थिए ।

  अन्ततः २०७१ साल असोज ६ गते राति साढे एघार बजे सहाना प्रधानको इहलीला समाप्त भएको थियो । उनको भौतिकचोला समाप्त भएसँगै उनका छोरा उमेशलाल श्रेष्ठले माधवकुमार नेपाल र वामदेव गौतमलाई आफ्नी आमा बित्नुभएको बेहोरा फोनबाट जानकारी गराएका थिए । नेपाल र गौतमकै सल्लाहबाट भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कार्यालय बल्खुमा सहानाको शव राखिएको थियो । उनीउपर श्रद्धाञ्जली चढाउनेहरूको त्यस बेला त्यहाँ अपार भीड लागेको थियो ।

सहानाको शवयात्राका लागि उनको चोलालाई बल्खुमा फूलमालाले सिँगारिएको एउटा मिनी ट्रकमा आसन गराइएको थियो । त्यतिखेर सहानालाई बोकेर ट्रकमा राख्नेदेखि ट्रकमा बसेर आर्यघाटसम्म पुग्नेमध्ये वामदेव गौतमदेखि रामकुमारी झाँक्रीसम्म थिए । साथै ट्रकबाट सहानालाई ओरालेर ब्रह्मनालसम्म बोकेर पु¥याउनेमध्ये झाँक्री पनि थिइन् । उनी पनि सहानालाई आमालाई झैँ हृदयबाटै आदर, श्रद्धा र प्रेम गर्थिन् ।    

कला राईका अनुसार आर्यघाटमा त्यस दिन कमरेडहरू कोही ढिला पुगेका थिए र त्यहाँबाट कोही छिटै फर्केका थिए । अन्तिम घडीसम्म आर्यघाट बस्ने कमरेडहरूको खडेरी परेको थियो । अनि सहानाको भौतिचोलालाई जुरुक्क बोकोर चितासम्म पु¥याउनेमध्ये पनि राष्ट्रले चिनेको एउटी मात्र राजनीतिज्ञ थिइन्– रामकुमारी झाँक्री । साथै दाहसंस्कारपछि पनि चिताको खरानी पखालेर, अलिक अगाडि बलेको पराल कुल्चेर त्यहाँबाट सहानाका छोराछोरी र परिवारसँगै घर फर्कने पनि तिनै झाँक्री मात्र एक जना राजनीतिज्ञ थिइन् ।  

सहानाको भौतिकचोला सकिएको दिन विश्वभरि रहेका नेपाली कम्युनिस्टहरू शोकमा डुबेका थिए । एउटी विरङ्गना गुमाउनु परेकोमा नेपाल राष्ट्र नै पनि चिन्तित थियो । अनि त्योभन्दा ठूलो कुरा सहानाका अनुजहरूका आँखा त्यसै दिन खुलेका थिए, जुन दिन सहानाले आफ्नो जीवनकालभरि राजनीतिको भोकतीर्खा र लोभमोहबाट आफू सदैव टाढा भएको प्रमाणीकरण गराएकी थिइन् । वास्तवमा उनी चिरनिद्रामा रूपान्तरित भएपछि चाहिँ उनको निष्ठा, त्याग र समर्पणउपर प्रतिस्पर्दा गर्न खोज्नेहरू पनि बेजोडले झस्किएका थिए । अथवा भनौँ उनीसँग पौँठेजोरी खेल्नेहरूसमेत पनि आआफ्ना शिर नुहाएर सहानाउपर भन्दै थिए– ‘सहाना प्रधान पाउनु अब हामीले चिरप्रतीक्षा गर्नुपर्छ ।’ 

सहाना प्रधान नेपाली माटोको गौरवी नारी थिइन् । उनको जीवनलीला पनि गौरवमय ढङ्गबाट परिचालित भएको थियो । उनी बाँचुञ्जेल चोखो, स्वच्छ र शुद्ध भएर अथवा भनौँ मिसेस क्लिन (Mrs. clean) भएरै बाँचिन् । अनि उनी मरेपछि पनि उनले धेरैलाई रुवाएरै मरिन्  :

त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा
गीतका चारू चरण !

जसरी शिर नुहाई
आफैँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण
अमरापुरी सभामा
आफैँलाई गरूँ वरण !

–राष्ट्रकवि माधव घिमिरे 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप