शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डमाथि ओलीको प्रश्नैप्रश्न : तपाईंले पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभयो

कारबाही गरेर देखाउन चुनौति
शनिबार, १३ मङ्सिर २०७७, १६ : २३
शनिबार, १३ मङ्सिर २०७७

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि प्रश्नको वर्षा गरेका छन् । प्रचण्डको प्रस्तावमाथि असन्तुष्टि पोखेका ओलीले प्रस्तावमार्फत जवाफ दिने क्रममा प्रश्नको वर्षा गर्दै सोचेका छन्, ‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपार्इँले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?’ 

विवादको स्वरुपले समाधानको विधि तय भन्दै ओलीले पार्टीभित्रका असहमतिहरुलाई प्रचण्डले शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको आरोप लगाएका छन् । उनले प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई गंभीर सङ्कटमा धकलको समेत आरोप लगाएका छन् । 

ओलीले भनेका छन्, ‘तपार्इंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।’

प्रचण्डले पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी र सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीत प्रस्ताव ल्याएको भन्दै ओलीले यसबाट देशैभरि चिन्ता फैलिएको उल्लेख गरेका छन् । 

ओलीले प्रचण्डको प्रस्तावबाट राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएको र आरोप पत्र हातमा बोकेर हिँड्न थालिसकेको बताएका छन् । 
उनले प्रचण्डलाई चुनौति दिँदै भनेका छन्, ‘तपाईंलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप