बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ओलीको प्रश्न : शरीरमा गोली र छर्रा बोकेकाहरुको दुःखान्त तस्बिर आउँछ ?

शनिबार, १३ मङ्सिर २०७७, १८ : १८
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा घाइते भएका तथा शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेकाहरुको दुःखान्त तस्बिर प्रचण्डमा कहिल्यै नआएको बताएका छन् । 
शनिबारको सचिवालय बैठकमा प्रचण्डलाई जवाफी प्रतिवेदन पेश गर्दै सरकार र पार्टी नेतृत्व दुबैबाट आफूलाई हटाउने म्याराथुनमा प्रचण्ड कुँदिरहेको भन्दै ‘युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दु:खान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनस्र्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?’ प्रश्न गरेका छन् ।

 ‘एउटा कुरा स्पष्ट पारुँ, मेरा कुनै नाता सम्बन्धीहरुले कुनै नियुक्ति पाएका छैनन् । नाता सम्बन्ध भएकै कारणले मात्रै भोलि पनि पाउने छैनन् । मलाई परिवार र व्यक्तिगत लाभमा अल्झिनु छैन’, ओलीले राजनीतिक नियुक्तिका बारेमा पनि प्रश्न उठाइएकोमा त्यसको खण्डन गरेका छन् । 

‘म देशलाई अगाडि बढाउन चाहन्छु, देश समृद्ध बन्छ भन्नेमा विश्वास राख्छु । त्यसमा योगदान गर्नुपर्छ भन्ने ठान्छु । यस भावनासँग सहमत नहुने, सधैभरि निराशा र कुण्ठामात्रै बोकी हिँड्ने तर कुनै नेता विशेषको नजिक भएकै कारण उसले नियुक्ति पाउनु पर्छ भन्ने कुरा उचित हुन्छ र ? मलाई नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो । तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ?’, ओलीले प्रचण्डलाई प्रश्न गरेका छन् ।

‘मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक गर्दिनँ । आज मात्र होइन, भोलि पनि मबाट यस्तो काम हुने छैन’, ओलीको प्रष्टीकरण छ । 
त्यस्तै उनले सङ्घीयताका बारेमा आफ्नो निष्ठामाथि प्रश्न उठाउने र आफ्ना यससम्बन्धी भनाइलाई विवादित बनाउने चेष्टा भएको रहेछ भन्दै सङ्घीयता नेपालको संवैधानिक यथार्थ हो र गएको साढे दुई वर्षमा आफूले यसलाई कार्यान्वयन गर्न र सफल पार्न दर्जनौँ कानुनहरुको निर्माण, वित्तीय र प्रशासनिक सङ्घीयताको कार्यान्वयन तथा अन्य आवश्यक प्रबन्धको नेतृत्व गरेको बताएका छन् । 


‘यसै कारणले नै आज ती ‘फङ्क्सनल’ छन् । प्रदेश राजधानीका विषयमा प्रदेशमा सहमति जुट्न नसक्दा तपाईँसँग मिलेर सहजीकरण गरेको छु’, ओलीले प्रतिवेदनको ४५ नम्बर बुदाँमा भनेका छन्, ‘यस सम्बन्धमा केही कुरामा भने स्पष्टता जरुरी छ । पहिलो, मुलुकमा सङ्घीयताप्रति सन्देह गर्ने पङ्क्ति छ । त्यसलाई ओठे जवाफ दिएर या सरापेर मात्रै पुग्दैन । सङ्घीय प्रणाली स्वयंले  डेलिभरी दिनु पर्छ, तब मात्र आलोचनाहरु बन्द हुन्छन् । त्यसैले मैले डेलिभरीमा जोड दिएको छु । दोस्रो, संविधानको प्रावधान अनुसार प्रदेशहरुलाई निश्चित स्वायत्तता प्राप्त छ, तर तिनीहरु समग्र राज्य प्रणालीका अङ्ग हुन्, ती छुट्टै होइनन् । मैले ‘प्रदेशहरु राज्यका अङ्ग हुन्’ भनेर व्यक्त गरेको कुरालाई ‘प्रदेशहरु केन्द्र सरकारको प्रशासनिक इकाइ हुन् भन्यो’ भनेर रिपोर्टिङ गर्ने साथीहरुलाई राज्य र सरकारको अन्तरसम्बन्ध र भेदबारे प्रशिक्षण दिनुहोला’, ओलीको जवाफ छ । 

उनले प्रदेशसभा र प्रदेश सरकार संविधानतः सापेक्षरुपमा स्वायत्त होलान् तर पार्टीका प्रदेश कमिटी र तिनका नेताहरु स्वायत्त नभएको पनि दावी गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सङघीय पार्टी होइन, एकीकृत पार्टी हो । कुनै पनि महत्वपूर्ण निर्णय गर्नु पूर्व त्यस कमिटी र त्यसका नेताले केन्द्रसँग परामर्श लिनु पर्दैन ? अनुमति लिनु पर्दैन ? प्रदेशका नेताहरुलाई आफूखुशी चल्ने स्वायत्तता प्राप्त छ ? मैले कर्णाली प्रदेशका नेताहरुलाई यही विषयमा ध्यानाकर्षण गरेको हुँ’, ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले आफुलाई प्रचण्डले ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाइरहँदा एकपल्ट आफूले नेतृत्व गरेको अवधिको आत्मसमिक्षा गर्न पनि सुझाएका छन् । त्यस्तै प्रचण्डको प्रतिवेदनमा भनिएजस्तो कोरोना महामारीका कारण सिर्जित असामान्य परिस्थितिमा विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न नसकेको कुराको पनि खण्डन गरेका छन् । 

‘कोरोनाको महामारी बढ्दै गएर विभिन्न मुलुकहरु लकडाउनमा गएपछि, अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि हामीले जो जहाँ छ, त्यहीँ सुरक्षित रहने प्रबन्ध ग¥यौँ र यसका लागि समकक्षी सरकार प्रमुख र पदाधिकारीहरुसँग वार्ता ग¥यौँ । जस अन्तर्गत चीनको उहानबाट ल्याइएका विद्यार्थीहरु समेत १ लाख ४० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किसकेका छन’, ओलीले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप