मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

शनिबार, १३ मङ्सिर २०७७, १८ : ५०
शनिबार, १३ मङ्सिर २०७७

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको योजना बनाउन सहज भएको जनाएका छन् । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अबको विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बताए । उनले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना सम्बोधन हुने र उनीहरु कुलतमा फस्ने सम्भावना कम हुने जनाए । 

लमजुङको मस्र्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको माापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको जानकारी दिए । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्त भएकाले उनीहरुसँग परामर्श लिइ सहयोग लिने वातावरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्ने बताए ।  

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले आपत्कालीन अवस्थामा विद्यालय बन्द हुन सक्ने भए पनि शिक्षा निरन्तर चल्नुपर्ने भएकाले नयाँ कार्यविधिले विद्यालय सञ्चालनका लागि सहजता दिएको औँल्याए । 

भक्तपुरको वासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईंच्याईंले वैकल्पिक माध्यमको पढाइका लागि सूचना र प्रविधिमा स्थानीय तहले लगानी गर्नुपर्ने बताइन् । 
 शिक्षा पत्रकार समाजका प्रदेश नं २ का संयोजक सुरेश यादवले नयाँ कार्यढाँचा आएपछि विद्यालय सञ्चालनका लागि स्थानीय तह सक्रिय भएको र बन्दाबन्दीका समयमा पनि आसमान नेपाललगायतका संस्थाले समुदायस्तरमा स्वयंसेवक परिचालन गरी पढाइ सञ्चालन गरेको अनुभव सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप