शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ओलीको प्रश्न : ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ?

शनिबार, १३ मङ्सिर २०७७, २० : १०
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जवाफी प्रतिवेदनमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घुमाउरो शैलीमा अन्तराष्ट्यि अदालत (हेग) पुर्याउने चेतावनी दिएका छन् । 
शनिबारको पार्टी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गरेको ५३ बुँदे प्रतिवेदनको ४१ नम्बर बुँदामा शान्ति प्रक्रियाबारे उल्लेख गरेका छन् ।

ओलीले प्रचण्डले विगतमा दिएको अभिव्यक्तिलाई कोट्याउँदै हेग शब्द प्रयोग नगरेपनि प्रश्न गरेका छन्, ‘तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ?’ ओली यतिमा मात्रै रोकिएका छैनन्, ‘तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस्’, शव्द नरम भएपनि उनले चेतावनी दिएका छन् । 
त्यस्तै उनले शान्ति प्रक्रियाका काममा प्रचण्डले आफूलाई दोषी देखाउने दुस्साहस गरेको पनि दावी गरेका छन् । 

‘तपाईंले मलाई शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ । म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ’, ओलीले भनेका छन्, ‘तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ? यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, वेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ? छातिमा हात राखेर भन्नुस् त, यो विषय यतिका वर्षसम्म कसले अल्झाइरहेको छ ?’ 

यस विषयमा अस्ति भर्खर आफूले मलाई विश्वास गर्नुस्, म सकारात्मक टुङ्गो लगाउँछु भनेको स्मरण गर्दै ‘होइन भने मुख्य सरोकार राख्ने तपाईं दुई पक्ष  (तत्कालीन माओवादी  र काङ्ग्रेस) मिलेर जे विकल्प दिनुहुन्छ, म अगाडि बढाउँछु । तपाईँले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ?’ भनेर प्रचण्डलाई प्रतिप्रश्न गरेका छन् । 

ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने विषयमा प्रचण्ड लगायतका सुझावलाई अक्षरशः कार्यान्वयन गरेको भन्दै  सरकार प्रमुखको हैसियतमा पीडितहरुको सरोकार सुन्नका लागि राष्ट्रव्यापी छलफल र परामर्शको व्यवस्था गरेको दावी पनि गरेका छन् । 

ओलीले यस्तो संवेदनशील विषयमा सत्तापक्ष र विपक्षलाई एकै थलोमा उभ्याएर हरेक विषय सहमतिका आधारमा अगाडि बढाउने काम गरेको दावी गर्दै यससँग सम्बन्धित संशोधन विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएका छन्  । 

‘मैले अन्तर्राष्ट्रिय मञ्चहरुमा यसको समाधान नेपाल स्वयंले गर्ने र यसो गर्ने सामथ्र्य नेपालसँग रहेकोले यसलाई अनावश्यक रुपमा विवादित विषय नबनाउन आह्वान गरेको छु । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने बारेमा हाम्रा पाँचवटा नीतिगत आधारका बारेमा स्पष्ट पारेको छु । बेलाबेलामा यस विषयलाई लिएर हुने अनुचित वाह्य टिप्पणीको विधिवत प्रतिवाद गरेको छु’, ओलीले आफ्नो जवाफी प्रतिवेदनमा भनेका छन् ।  

ओलीले शान्ति प्रक्रियाको विषय ज्यादै संवेदनशील विषय भन्दै नेपालको प्रतिवद्धता र विश्वसनीयता जोडिएको तथा  पीडितहरुको संवेदना जोडिएको र विश्व समुदायको पनि चासो र सरोकार रहेको उल्लेख गर्दै घुमाउरो भाषामा निहुँ खोजे आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप