मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब प्यानल सकियो, सबैको हितका लागि काम गर्छु : वरिष्ठ उपाध्यक्ष ढकाल

के भन्छन् महासङ्घको निर्वाचनमा विजयीहरु ?
आइतबार, १४ मङ्सिर २०७७, ०७ : ०८
आइतबार, १४ मङ्सिर २०७७


उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । महासङ्घको ५४ औँ वार्षिक साधारणसभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र सङ्घाई निर्वाचित भएका छन् ।

महासङ्घमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाए । यता, ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । आइतबार बिहान नतिजा घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्षबाहेकका पदमा शनिबार मतदान भएको थियो ।

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिए । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफुले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “मैले पहिला पनि भनेको थिएँ, हामीहरुको पक्षविपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो ।  आजदेखि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसंग गर्ने एड्भोकेसी हामीले गर्नेछौँ । मेरो जीत भनेको सम्पूर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।”

यस्तै एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र सङ्घाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य सङ्घहरुलाई आफैमा सबल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान बृद्धि लगायततर्फ आफ्नो पहल हुने बताए । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उनले उल्लेख गरे ।

वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत सङ्घको विश्वासमा आफुले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले लगानीको अवसर र वातावरण संगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए । उनले भने, “कोरोनाको कहर सकिएको छैन । तर, विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबैभन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसँग सिमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पूर्ण वस्तुगत सङ्घहरु र सम्पुर्ण उद्योमी व्यवसायीको  समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप